logo
२०८१ असोज ६ आईतवार

                                                         कोरोना महामारी विश्व घटनाक्रम  



कोरोना संक्रमित दश लाख नाघ्यो

फिचर |
अन्तर्राष्ट्रिय |
पढ्नै पर्ने |


कोरोना संक्रमित दश लाख नाघ्यो


गोरखापत्र अनलाइन
काठमाडौं, चैत्त २१ गते । विश्वब्यापी महामारीको रुप लिएको कोभिड–१९ संक्रमित हुने दश लाख नाघेको छ । रोकथान र न्यूनिकरणका लागि विश्व समुदायले संघर्ष गरिरहँदा कोभिड–१९ बाट संक्रमित हुने क्रम अझै तिब्र बनेको छ ।
अमेरिकास्थित जोन हप्कीन्स विश्वविद्यालयका अनुसार बिहिबारसम्म विश्वभरि दश लाख व्यक्तिमा सक्रमणको पुष्टि भएको छ । ५३ हजार संक्रमित बिरामीको मृत्यु भएको छ । दुई लाख दश हजार निको भएका छन् । संक्रमणबाट संयुक्त राज्य अमेरिका सबैभन्दा बढी प्रभावित बनेको छ । इटालीमा सबैभन्दा बढी संक्रमितको मृत्यु भएको हो । तीन महिना अघि मध्य चीनको वुहान शहरबाट कोभिड–१९ संक्रमणको सुरुवात भएको थियो ।
विश्वविद्यालयले दश लाख संक्रमणको पुष्टि गरेपनि उक्त संख्या अझै धेरै हुने अनुमान गरिएको छ । पहिलो एक लाख संक्रमित पुग्न करिब दुई महिना समय लागेको थियो । उक्त संख्या ४५ दिनमा दोब्बर, ११ दिनमा तीन लाख र त्यसपछिको दुई सातामा दश लाख नाघेको छ । संक्रमितको एक चौथाइ अमेरिकामा मात्रै दत्र्ता गरिएको छ । यूरोपेली राष्ट्रमा करिब पाँच लाख संक्रमित छन् ।
बिहिबारसम्म दत्र्ता गरिएको दश लाख दुई हजार संक्रमितमध्ये सात लाख ४२ हजार सक्रिय बिरामी छन् । दुई लाख नौ हजार निको भई घर फर्किएका छन् । करिब ५३ हजारको मृत्यु भइसकेको छ ।
कोभिड–१९ को संक्रमणले बिहिबार स्पेनमा मात्रै करिब ९५० जनाको मृत्यु दत्र्ता गरिएको छ । कोभिड–१९ बाट २४ घण्टामा मृत्यु भएको यो सबैभन्दा ठूलो संख्या हो । स्पेनमा बुधबार एक लाख दुई हजार १३६ जना संक्रमित रहेकोमा बिहिबार एक लाख दश हजार २३८ जनामा संक्रमणको पुष्टि भएको छ । स्पेनमा एकैदिनमा आठ प्रतिशतले संक्रमित थपिएका छन् ।
विश्वब्यापी संक्रमणको घटनाक्रम
चीनमा डिसेम्बर अन्तिम साता निमोनियाको लक्षण देखिने बिरामी फेला परेको थियो । लगत्तै ३१ डिसेम्बरमा उसले विश्व स्वास्थ्य संगठनलाई जानकारी गराएको थियो । संक्रमण फैल्ने जोखिमलाई नियन्त्रण गर्न चीनले २३ जनवरीमा वुहान शहरलाई लकडाउन गर्यो । उक्त दिनसम्म चीनमा १८ जना संक्रमितको मृत्यु र ५७० जनामा संक्रमणको पुष्टि भएको थियो ।
चीनसहित संक्रमित बिरामी ताइवान, जापान, थाइल्याण्ड, दक्षिण कोरिया र अमेरिकामा पाइएको थियो । दश दिनपछि फिलिपिन्समा एक ४४ वर्षीय व्यक्तिको मृत्यु हुँदा कोभिड–१९ बाट चीन बाहिर मृत्यु हुने पहिलो घटना सार्वजनिक भयो ।
एक सातापछि फ्रान्समा एकजना ८० वर्षीय वृद्धको मृत्यु हुँदा यूरोपमा कोभिड–१९ बाट मृत्यु हुने पहिलो घटना दत्र्ता गरियो । पाँच दिनपछि इरानमा भाइरसको संक्रमण पुष्टि भयो । एक घण्टाभित्र दुईजनाको मृत्यु भयो । इरानमा कोभिड–१९ को संक्रमणबाट करिब तीन हजार एक सयजनाको मृत्यु भइसकेको छ । विश्व स्वास्थ्य संगठनले उक्त संक्रमणलाई फ्ब्रुअरीमा कोभिड १९ को नाम दिनुअघि विश्वब्यापी संकटकाल र महामारीको घोषणा गर्यो । 
२३ फेब्रुअरीमा इटालीमा पहिलो पटक कोभिड–१९ को संक्रमण देखियो । लोम्बार्डीको दश शहर लकडाउन गरियो । पछि देशब्यापीरुपमा लकडाउन गरियो । नेपालमा २४ मार्च र छिमेकी राष्ट्र भारतमा २२ मार्चदेखि लकडाउन गरियो । नेपालमा हालसम्म छ जनामा संक्रमणको पुष्टि भएको छ । भारतमा भने संक्रमित हुनेको संख्या करिब दुई हजार पुगेको छ । नेपाल दुई साताको लागि लकडाउनमा छ । भारत तीन साताको लागि लकडाउन गरिएको छ । २४ मार्चमै बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले लकडाउनको घोषणा गर्नुभयो ।
२३ मार्चमा विश्वमै सबैभन्दा बढी संक्रमित अमेरिकाले दत्र्ता गर्यो । अमेरिकामा ८६ हजार संक्रमितको पुष्टि भयो । बिहिबारसम्म अमेरिकामा करिब दुई लाख १७ हजार संक्रमितको पुष्टि भएको छ ।
भारतको आर्थिक नगरी मुम्बईको धाराबीमा कोभिड–१९ को संक्रमणले पहिलो मृत्युको घटना दत्र्ता गरिएको छ । धाराबी एशियाकै सबैभन्दा बढी जनघनत्व भएको मानव बस्ती हो । जहाँ करिब दश लाख व्यक्तिको बसोबास छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?