logo
२०८१ मंसिर १० सोमवार



कोरोनाको हेटौँडामा परीक्षण सुरु पाँच वटा नमूना परीक्षण

फिचर |
प्रदेश |


कोरोनाको हेटौँडामा परीक्षण सुरु पाँच वटा नमूना परीक्षण


राममणि दाहाल
हेटौँडा, चैत २१ गते । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) परीक्षण हेटौँडामा सुरु भएको छ । बाग्मती प्रदेशको राजधानी हेटौँडामा रहेको कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा रहेको प्रयोगशालामा शुक्रबारबाट कोरोना भाइरसको परीक्षण सुरु गरिएको हो ।
हेटौँडास्थित प्रयोगशालामा कोरोनाका शङ्कास्पद विरामीको स्वाबको नमुना पहिलो पटक गरिएको परीक्षणमा पाँच वटै नमुनाको रिर्पोट नेगेटिभ आएको छ ।
चितवनबाट सङ्कलन गरी ल्याइएको पाँच जनाको स्वाबको नमुना प्रयोगशालामा रहेको ल्याबमा परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ पाइएको बाग्मती प्रदेश सामाजिक विकास मन्त्रालयका प्रबक्ता दीपेन्द्र सुवेदीले जानकारी दिनुभयो ।
स्वाब परीक्षण गरिएका पाँच जनामध्ये एक जनाको मृत्यु भइसकेको छ । उहाँले भन्नुभयो, तीन वटा स्वाबको नमुना सङ्कलन भएको छ, पाँच वटा पु¥याएर परीक्षण गर्ने छौं ।
दैनिक ६० वटासम्म स्वाबको नमूना परीक्षण गर्न सकिने क्षमता रहेको छ उहाँले भन्नुभयो तर पाँच वटा मात्र परीक्षण गर्ने तयारीमा छांै । एकै पटक ६० वटा नमुना राखेर परीक्षण गर्न सकिने भए पनि प्रक्रिया लामो हुने भएकोले जाँच गरिएको रिपोर्ट आउन समय लाग्ने भएकोले पाँच–सात वटा नमुनामात्र दैनिक परीक्षण गर्ने तयारी गरिएको हो ।
उहाँले मकवानपुरमा क्वारेण्टाइनमा रहेकाहरुको पनि स्वाबको नमुना सङ्कलन गरी जाँच गर्ने तयारी गरिरहेको बताउनुभयो । मकवानपुरमा हाल क्वारेन्टाइनमा चार जना रहेका छन् । यस्तै हेटौँडा प्रादेशिक अस्पतालअन्तर्गत हेटौँडा उपमहानगरपालिका ४ स्थित श्रमिक माविको भवनमा रहेको आइसोलेसन कक्षमा रहेका दुई जनाकोसमेत स्वाबको नमूना सङ्कलन गरी परीक्षण गर्ने तयारी गरिएको छ ।
प्रयोगशालाका लागि हाल कोरोना भाइरस भए नभएको परीक्षण गर्न ३७५ वटा किट आएको छ । प्रयोगशालाका लागि हेटौँडामा केन्द्रमा विज्ञ जनशक्तिको अभावमा उपयोगविहीन अवस्थामा रहेको उपकरणको परीक्षणपछि उक्त उपकरणबाट नै हेटौँडामा नै कोरोना भाइरस लागे नलागेको परीक्षण गर्न सकिने भएपछि उपयोगमा ल्याइएको हो ।
केन्द्रमा रहेको प्रयोगशालाको उपकरण परीक्षण गर्दा परीक्षण सफल भएपछि प्रयोगमा ल्याइएको बताउँदै प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रबक्ता सुवेदीले कोरोनाको परीक्षण हेटौँडामा नै सुरु गरेको जानकारी दिनुभयो ।
प्रबक्ता सुवेदीले भन्नुभयो, अब परीक्षणका लागि स्वाब लिएर काठमाडौँ जानुपर्ने बाध्यता हट्ने भएको छ ।
प्रदेश सरकारले सङ्घीय सरकारसँगको समन्वयमा प्रयोगशालामा भएको उपकरण प्रयोगमा ल्याउन आवश्यक विज्ञ प्राविधिक र परीक्षणका लागि कीटलगायतका स्वास्थ्य सुरक्षाका सामग्री व्यवस्था गरेको छ ।
सङ्घअन्तर्गत रहेको केन्द्रमा कोरोना भाइरसको परीक्षण सुरु गर्न सम्भावना रहेको भन्दै यसअघि प्रदेशको सामाजिक विकास मन्त्रालयले सङ्घ सरकारलाई सहयोगका लागि पत्राचार गरेको थियो ।
साथै सङ्घीय सरकारले कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा रहेको प्रयोगशालामा कोरोना भाइरस (कोभिड–१९) को परीक्षण सम्भव छ छैन अध्ययन अनुगमन आएको टोलीलेले प्रयोगशालामा रहेको उपकरणमा कोरोना भाइरसको स्वाब परीक्षण सम्भव भएको प्रतिवेदन दिएको थियो ।
मलेरिया, डेँगु, कालाजार, जापानिज इन्सेफलाइटिसको परीक्षण हुँदै आएको प्रशोगशाला उपकरण सञ्चालन गर्ने विज्ञ र थप सामाग्री अभावमा वर्षौदेखि प्रभावकारी रुपमा प्रयोगमा आउन सकेको थिएन ।
बाग्मती प्रदेश सरकारको मातहतमा रहने गरी प्रयोगशाला सञ्चालन गर्ने गरी तयारी गरिएको छ । तालिम केन्द्रमा कोरोनालगायत अन्य भाइरस, व्याक्टेरिया, प्यारासाइटहरूको प्रजाति अध्ययन गर्न र भाइरसको स्वरूप परिवर्तनबारे बुझ्न पोलिमेयर चेन रियाक्सन ल्याब (पीसीआर) स्थापना गरिएको थियो । तर केन्द्रमा रहेको उपकरण सञ्चालन गर्ने विज्ञ जनशक्तिको अभावमा प्रयोगमा आउने सकेको थिएन ।
सङ्घीय सरकारले प्रयोगशाला विज्ञ विष्णु उपाध्याय र निर्मल आचार्यलाई केन्द्रको उपकरणको अवस्थाको बारेमा अध्ययन गर्न हेटौँडामा खटाएको थियो ।


तस्विरः १) हेटौँडामा रहेको कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र, जहाँ रहेको प्रयोगशालामा कोरोना भाइरसको स्वाब परीक्षण गर्न सकिने अध्ययनले देखाएको छ ।
२) हेटौँडामा रहेको कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रस्थिते प्रयोगशालामा रहेको कोरोना भाइरसको स्वाब परीक्षण गर्ने उपकरण ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?