logo
२०८१ असोज ६ आईतवार



भारत आक्रामक रुपमा संक्रमण फैलने अवस्थाका लागि तयार हुनुर्ने चिकित्सकको भनाइ

फिचर |
अन्तर्राष्ट्रिय |


भारत आक्रामक रुपमा संक्रमण फैलने अवस्थाका लागि तयार हुनुर्ने चिकित्सकको भनाइ


गोरखापत्र अनलाइन
काठमाडौं, चैत्त २२ गते । भारतमा कोरोना संक्रमितको वृद्धि आक्रामक रुपमा हुनसक्ने चिकित्सकहरुले चेताबनी दिएका छन् । भारतको मुम्बईस्थित एशियाको सबैभन्दा ठूलो झुपडबस्तीमा कोरोना संक्रमित एकजना बिरामीको बुधबार मृत्यु भएको थियो ।
चिकित्सकहरुले त्यस्तो अवस्थामा यूरोप र संयुक्त राज्य अमेरिकाको भन्दा पनि भयावह स्थिति निम्तिने र सिंगो स्वास्थ्य प्रणाली नै लङ्डो हुने चेताबनी दिएका छन् ।
भारत, मुम्बईको धाराबीस्थित झुपडबस्तीमा बुधबार एक ५६ वर्षीय संक्रमितको मृत्यु भएको थियो । संक्रमितले पछिल्लो दिनमा कुनै लामो दूरीको यात्रा गरेका थिएनन । कोरोना संक्रमणको पुष्टि भएको केही घण्टा नबित्दै बिरामीको मृत्यु भएको थियो ।
ब्रिहनमुम्बई नगर निगमका एक अधिकारी किरण दिग्वाकरले उहाँमा संक्रमणको पुष्टि भए लगत्तै एक स्थानीय अस्पतालमा भर्ना गरेको र केही घण्टा नबित्दै मृत्यु भएको बताउनुभयो ।
उहाँको परिवारका सदस्यहरुलाई क्वारेन्टाइनमा राखिएको छ । यद्दपी झुपड बस्तीमा कोरोना संक्रमितको मृत्यु भएको यो दोस्रो घटना हो । यसअघि माल्वानीस्थित झुपड बस्तीमा एकजना ६३ वर्षीय संक्रमितको मृत्यु भएको थियो ।
संक्रमण फैल्ने जोखिममा उहाँको घर नजिकैको बस्तीका तीन सय झुपडी र ९० पसलमा आवतजावत बन्द गरिएको छ । बिहिबार धाराबीमै घर भई मुम्बई नगर निगममा कार्यरत एकजना ५२ वर्षीय सफाइ कर्मचारीमा पनि कोरोना संक्रमणको पुष्टि भएको छ ।
धाराबीस्थित झुपड बस्तीमा करिब दश लाख व्यक्ति बस्दै आएका छन् । धाराबीको जनघनत्व अमेरिकाको ब्यस्त शहर न्युर्योकभन्दा ३० गुणा बढी छ । करिब ८० हजार संक्रमितको पुष्टि भएको न्युर्योक शहरको जनघनत्व प्रति वर्गकिलोमिटर दुई लाख ८० हजार रहेको छ ।
सरसफाइको कमजोर व्यवस्थापनसँगै पानी र शौचालयको समस्या झेल्दै आएको आएको झुपड बस्तीमा संक्रमण फैलिने अवस्थामा परिस्थिति ब्यवस्थापन नै नहुने चेताबनी दिएका छन् ।
नयाँ दिल्लीको गुडगांवस्थित मेदान्त–द् मेडिसिटि अस्पतालका प्रबन्ध निर्देशक तथा अध्यक्ष समेत रहनुभएका चिकित्सक नरेश त्रेहानले सरकारी अधिकारीले झुपड बस्तीमा कोरोना संक्रमण फैलिएकोबारे स्पष्ट हुनुपर्ने बताउनुहुन्छ ।
उहाँ भन्नुहुन्छ, “बस्तीमा संक्रमण फैलिएको छ भने आगामी दुई साताका लागि आइसोलेशन गरेर सबैलाई खानाको उचित व्यवस्थापनतिर लाग्नुपर्छ, सबैमाथि निगरानी बढाइनुपर्छ ।”
भारतमा कोरोना संक्रमितको संख्या पछिल्लो तीन दिनमा दोब्बर भएको छ । जसमध्ये अधिकांश एक धार्मिक जमघटसँग जोडिएका छन् । राजधानी दिल्लीस्थित तब्लीगि जमातमा सहभागी हुन आएका करिब दुई हजार व्यक्तिमध्ये सातसयभन्दा बढीमा कोरोना संक्रमणको पुष्टि भइसकेको भारतीय सञ्चारमाध्यमहरुले जनाएको छ ।
भारतमा शुक्रबारसम्म दुई हजार ५४७ जनामा संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका एकजना उच्च अधिकारी लभ अग्रवालले जानकारी दिनुभयो । शुक्रबारसम्म ६२ जनाको मृत्यु भएको छ ।
सीएनएनका अनुसार विशेषज्ञ चिकित्सकहरुले उक्त अवस्थाको सामना गर्न भारी संख्यामा सामुदायिक संक्रमणको लागि भारत तयार हुनुपर्ने सुझाउँछन् । डा. त्रेहान भन्नुहुन्छ, “समुदायमा संक्रमण फैलेको प्रमाण यसअघि नै पाइसकेका छौं, यद्दपी कति हदसम्म फैलिएको हो अहिले नै भन्न सकिन्न ।”
अनुमान गरिए अनुसार संक्रमण उच्च दरमा फैलेमा जतिसुकै तयारी गरेपनि शैय्यासहित भेन्टिलेटर र अन्य स्वास्थ्य आवश्यकता पूर्ति गर्न सम्भव नहुने डरलाग्दो अवस्थाको उहाँ चित्रण गर्नुहुन्छ ।
भारतको मुम्बईस्थित कस्तुरा अस्पतालका संक्रामक रोग विभागका निर्देशक डा. ओम श्रीवास्तवले भारतले संकट आइसकेपछि मात्रै सामना गर्न तयारी सुरु गरेकोमा चिन्ता व्यक्त गर्नुहुन्छ ।
उहाँका अनुसार संक्रमण उचाइमा पुगिनसकेकोले भारत समक्ष तयारीका लागि अझै केही साता समय बाँकी छ । भारतलाई तयारीका लागि चार साता अझै बाँकी रहेको उहाँको अनुमान छ । अबको चारदेखि आठ साता भाइरस संक्रमण फैल्ने क्रम उच्च रफ्तारमा बढ्ने उहाँ बताउनुहुन्छ ।
डा. त्रेहानले इटालीका १४ जना कोभिड–१९ बिरामीको उपचार र चिकित्सकीय व्यवस्थापनको नेतृत्व गर्नुभएको थियो । उहाँ भन्नुहुन्छ, “हामी संक्रमण फैलिएको ढाँचाबारे अध्ययन गर्दैछौं, किनभने उनीहरु १४ जना नै समूहमा थिए, उनीहरु सबैजना निको भइसकेका छन् ।”
डा. त्रेहान भन्नुहुन्छ, “देशको सबै भागबाट हामीले नमूना परीक्षणलाई विशेष जोड दिएका छौं, कहाँसम्म फैलिएको बुझ्न सहयोग गर्नेछ ।” भारत थोरै परीक्षणका लागि आलोचना खेप्दैछ । भारतले आफ्नो कुल क्षमताको ३८ प्रतिशतमा अहिले परीक्षण सञ्चालन गरेको छ । उसले हालसम्म ६६ हजारमा परीक्षण गरिसकेको छ ।
भारतमा कोरोना भाइरसको परीक्षण गर्ने सरकारी प्रयोगशालाको संख्या १२६ रहेको छ । ५१ वटा नीजि अस्पताललाई परीक्षणको लागि अनुमति दिइएको छ । चिकित्सकहरुले भने जनचेतनालाई अझै बढी प्रभावकारी रुपमा सञ्चालन गर्नुपर्ने सुझाएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार मात्रै विश्वमै चर्चित भारतका २६ जना खेलाडीसँग छलफल गरेर आ आफ्नो स्तरबाट जनचेतनामूलक सन्देश प्रवाह गर्न आग्रह गर्नुभएको थियो ।
(सीएनएनका लागि वेदिका सुद, हेलेन रेगन र इशा मित्राले तयार गर्नुभएको रिर्पोटको अनुवादित अंश)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?