गोकर्ण दयाल
बैतडी, चैत २३ गते । गौरिफन्टा नाकाबाट नेपालभित्रिएका कैलालीका युवामा कोरोना भाइरस पोजेटिभ देखिएपछि सोही भीडमा आएका बैतडीका ८५ जनाको खोजी कार्य भईरहेको छ ।
८५ जनाका कहाँ छन् भन्ने विषयमा स्थानीय तहले अनविज्ञता प्रकट गरेका छन् । भारतबाट राती राती लुकीछिपी आउने क्रम रोकिएको छैन तर, स्थानीय तहका क्वारेन्टाईन खाली छन् ।
स्वास्थ्य कार्यालयले ८५ जनाको तिब्र खोजी भईरहेको जानकारी दिएको छ तर, भेटिए भने स्वाब सङ्कलन गर्ने जम्मा पाँचवटा किट रहेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताउनुभयो ।
\प्रहरीले बसमा राखेर बैतडी ल्याएका ८५ जना स्थानीय तहको जिम्मा लगाएको भने पनि प्रहरीले दिएको नाम लिष्ट अनुसार स्थानीय तहका क्वारेन्टाईनमा ती मान्छे भेटिएका छैनन् ।
प्रहरीका अनुसार गौरीफन्टा नाकाबाट बैतडी ल्याईएका ८५ जना मध्ये मध्ये दशरथ चन्द नगरपालिकामा १२ जना, सिगास गाउँपालिकामा १२ जना, दोगडाकेदार गाउँपालिकामा २३ जना, सुर्नया गाउँपालिकामा ३२ जना, पाटन नगरपालिकामा पाँच जना र मेलौली नगरपालिकामा २ जना रहेका छन् ।
गौरीफन्टा नाकाबाट सुर्नया गाउँपालिकामा ३२ जना आएको भनिए पनि तीन जना मात्र क्वारेन्टाईनमा रहेको सुर्नया गाउँपालिकाका स्वास्थ्य संयोजक रामसिंह मराले बताउनुभयो । अन्य हराएकाहरुको खोजी भईरहेको महराले बताउनुभयो ।
त्यसै गरि दोगडाकेदार गाउँपालिकामा आएका २३ जनाको बारेमा गाउँपालिकालाई जानकारी नभएको दोगडाकेदार गाउँपालिकाले जानकारी दिएको छ । दोगडाकेदार गाउँपालिकामा भारतका अन्य ठाउँबाट आएका २० जना मात्र क्वारेन्टाईनमा रहेको गाउँपालिका अध्यक्ष चक्र कार्कीले बताउनभयो ।
अध्यक्ष कार्कीले भन्नुभयो,“ गौरीफन्टा नाकाबाट बैतडीको दोगडाकेदार आएका भनिएका मान्छे कुन गाडीमा कहिले आएका हुन् ? गाउँपालिकालाई कसैले पनि जानकारी दिएको छैन ।”
गौरीफन्टाबाट भारतका विभिन्न सहरबाट सीमा नाकामा आईपुगेका नेपालीको प्रदेश सरकारको पहलमा उद्धा गरेर सम्बन्धित जिल्ला पठाएको थियो । प्रहरीको सुरक्षा घेरामा ११ गते उद्धार गरे बैतडी ल्याईएका ८५ जनालाई स्थानीय तहमा पठाईएको प्रहरीले जानकारी दिएको छ ।
गौरीफन्टा नाकाबाट दशरथ चन्द नगरपालिकामा आएका १२ जनाको बारेमा कुनै जानकारी नभएको दरशथचन्द नगरपालिका स्वास्थ्य संयोजक दुर्गा जोशीले बताउनुभयो । गोरी फन्टा नाकाबाट आएका तीन जना घरमै सेल्फ क्वारेन्टाईनमा बसिरहेको भन्ने जानकारी आएको जोशीले बताउनुभयो । भारतबाट आएका अन्यको समेत कुनै जानकारी हुन नसकेको उहाँले बताउनुभयो ।
बैतडीका १० स्थानीय तहले अहिलेसम्म भारतबाट आएका सबैको यकिन तथ्याङ्क लिन सकेका छैनन् । गौरीफन्टा नाकाबाट बैतडी आएका ८५ जनाको खोजीकार्य गर्न स्वास्थ्यकर्मी परिचालन गर्नु परेकोे स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो ।
स्वास्थ्यकर्मी गाउँगाउँ गएर भारतबाट आएकाहरुको संख्या लिन खोज्दा लुकाउने समस्या रहेको सुर्नया गाउँपालिकाका स्वास्थ्य संयोजक रामसिंह मराले गुनासो गर्नुभयो । राजनीतिक दलबाट समेत पर्याप्त सहयोग हुन नसकेको महराले गुनासो गर्नुभयो । जिल्लाको शिवनाथ गाउँपालिमा तथ्याङ्क लिँदा भारतबाट ८३४ व्यक्ति आएको भए पनि क्वारेन्टाईनमा ११ जना मात्र रहेको गाउँपालिका अध्यक्ष कर्ण साउदले जानकारी दिनुभयो । शिवनाथ गाउँपालिका कुल ६ वडामा नौ स्थानमा क्वारेन्टाईन स्थापना गरिए पनि अधिकांश क्वारेन्टाईन खाली रहेका छन् ।
बेलुकी पख भारतको खुला सीमाबाट महालीमा तरेर आउने क्रम नरोकिएको गुनासो बढेपछि दुई ठाउँमा सशस्त्र प्रहरी बलको सुरक्षा पोष्ट स्थापना गर्न जिल्ला प्रशासन कार्यालयले सहयोग गरेको शिवनाथ गाउँपालिकाले जानकारी दिएको छ ।
त्यसै गरि सुर्नया गाउँपालिका ४०६ जना भारतबाट आए पनि क्वारेन्टाईनमा ४१ जना रहेका छन् । अन्य क्वारेन्टाईनका बेड खाली रहेका छन् ।
बैतडीका विभिन्न १० स्थानीय तहमा लकडाउनपछि मात्रै तीन हजारको हाराहारीमा भारतबो विभिन्न सहरबाट नेपालीहरु बैतडी भित्रिएको प्रशासनले जानकारी दिएको छ ।
स्थानीय तहले निर्माण गरेका क्वारेन्टाईनमा २३ गतेसम्म ४४३ जना मात्र रहेको स्वास्थ्य कार्यालय बैतडीले जानकारी दिएको छ । अधिकांश क्वारेन्टाईन खाली रहेका छन् ।
बैतडीमा स्वाब सङ्कलन गर्न जम्मा पाँचवटा किट
गौरी फन्टा नाकाबाट बैतडी आएका ८५ जनाको तिब्र रुपमा खोजी भईरहे पनि स्वाब सङ्कलन गर्ने किट नै नभएको स्वास्थ्य कार्यालय बैतडीले जानकारी दिएको छ ।
स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टका अनुसार बैतडीमा जम्मा पाँच वटा किट मात्र रहेकोले तत्काल पाँच जनाको मात्रै स्वाब परीक्षणका लागि पठाउन सकिने छ ।
स्वाबको नमुना सङ्लन गर्ने किट एकदुई दिनभित्रै आपूर्ति गर्न सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयसँग कुराकानी भईरहेको स्वास्थ्य कार्यालय बैतडीले जानकारी दिएको छ ।