वागमती प्रदेश ब्यूरो
हेटौँडा, चैत २५ गते । विश्वव्यापी महामारीको रुप लिएको कोरोनो भाइरस सङ्क्रमणको जोखिम बढेसँगै घोषणा गरिएको बन्दाबन्दी (लकडाउन) लाई प्रभावकारी बनाउन कडाइ गरिएको छ ।
भेला, अनावश्यक रुपमा हिड्डुल, एक स्थानीय तहबाट अर्को स्थानीय तहमा आवागमनमा नियन्त्रणपछि विपन्न र दैनिक ज्यालादारी गरी जीवनयापन गर्दै आएकाहरुको दैनिकी कष्टकर बनेको छ ।
लकडाउनको समय बढ्दै गएपछि विपन्न र दैनिक ज्यालादारी गरेर गुजारा गर्दै आएकाहरुलाई व्यक्तिगत र संस्थागतरुपमा सहयोग प्रदान गर्नेक्रम बढेको छ । साथै कोरोना भाइरस सङ्क्रमणको जोखिमबाट बच्न विभिन्न व्यक्ति र संस्थाहरुको समन्वयमा व्यक्तिगत स्वास्थ्य सुरक्षाका सामग्रीहरु उपलब्ध गराउनेक्रमले तिव्रता पाएको छ ।
विपन्नलाई घर, घर नै पुगेर खाद्यान्न वितरण
मकवानपुरमा हिड्डुललगायतका गतिविधिमा कडाइ गरेपछि दाता र सहयोगीहरुले घर,घरमा नै पुगेर बन्दाबन्दी (लकडाउन) का कारण समस्यामा परेकाहरुलाई सहयोग प्रदान गर्न थालिएको छ ।
सरकारले राहत वितरण स्थानीय तहमार्फत गर्ने गरी एकद्वार नीति अबलम्बन गर्ने जनाएपनि स्थानीय तहले तयारी थाल्न नसकेका कारण समस्यामा परेकाहरुको पहिचान गरी घरघरमा नै पुगेर वितरण गर्न थालिएको हो ।
आईएमई लाइफ इन्स्युरेन्स कम्पनी मकवानपुरका वरिष्ठ एजेन्सी म्यानेजर योग्यराज (विदुर) सापकोटाको सहयोग र हेटौँडा जेसीजका उपाध्यक्ष विकेशलाल श्रेष्ठको समन्वयमा घरघरमा दैनिक उपभोग्य सामग्रीको प्याकेज पु¥याइएको छ ।
हेटौँडा उपमहानगरका विभिन्न वडाहरु रहेका ५२ परिवारलाई चामल, दाललगायतका खाद्यान्न वितरण गरिएको जेसीस उपाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।
यसैगरी निर्माण व्यवसायी सङ्घ मकवानपुरले लकडाउन कारण खाद्यान्न अभाव बेहोर्न बाध्य हेटौँडा उपमहानगरपालिका १५ का विपन्न तथा दैनिक ज्यालादारी गर्ने श्रमिकलाई लक्षित गरी खाद्यान्न वितरण गरेको छ ।
सङ्घका मकवानपुर अध्यक्ष श्यामसुन्दर ढकालले लकडाउनका कारण दैनिक ज्यालादारी गर्ने मजदुर र विपन्न परिवारको दैनिक जीवनयापन कष्टकर बन्दै गएकोले दैनिक उपभोग्य सामग्री प्रदान गरेको जानकारी दिनुभयो ।
सङ्घले चुरियामाईस्थित वडा कार्यालयमा आयोजित कार्यक्रममा चामल, दाल, नुन र तेल २७ जना परिवारलाई वडा कार्यालयमार्फत वितरण गर्ने गरी हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ का वडाध्यक्ष महारत्न लामालाई हस्तान्तरण गरेको छ । वडाध्यक्ष लामाले लामो समयको लकडाउनले विपन्न र दैनिक ज्यालादारी गर्दै आएकाहरुको जीवन कष्टकर बन्दै गएको भन्दै उपलब्ध सहयोगले वडाका विपन्न परिवारलाई राहत मिल्ने बताउनुभयो ।
पनौतीले ‘फुड बैङक’ मार्फत राहत वितरण
काभ्रे समाचारदाता मधुसुधन तिमल्सिनाका अनुसार कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिम बढ्दै गएपछि काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिकाले ‘फुड बैङ्क’ मार्फत अतिविपन्न परिवारलाई राहत बाँडेको छ ।
पनौती नगरपालिकाले एकद्धार प्रणालीमार्फत अतिविपन्न परिवारमा राहत पु¥याउन फुड बैङ्क स्थापना गरेको हो । नगरप्रमुख भीम न्यौपानेले नगरका १३० अतिविपन्न परिवार पहिचान गरी विपद् कोषबाट वडामार्फत एक हप्ताका लागि राहत वितरण गरेको जानकारी दिनुभयो ।
फुड बैङ्कका संयोजक एव्म बरिष्ठ प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारीले दुई प्याकेजअन्तर्गत चार जनासम्मको परिवारलाई १० किलो चामल र त्योभन्दा बढी भएमा १५ किलो चालम दिने गरी निर्णय भएको जानकारी दिनुभयो । दाल, आलु, गेडागुडी, नुन, तेल, बेसार, प्याज, लसुन, चाउचाउ, बिस्कुट, साबुन, चिनी, चियापत्ती, चिउरा, दालमोठलगायत १७ प्रकारका राहत प्याकेजमा रहेको अधिकारीले जानकारी दिनुभयो ।
यसैबीच नगरपालिकाले अतिविपन्न परिवारका लागि राहत फुड बैङ्कमार्फत सङ्कलन गर्न थालेपछि नगरले तोकेको मापदण्डअनुसारका खाद्य सामग्री आउनेक्रम जारी रहेको नगरपाकिलाले जनाएको छ । नगद तथा जिन्सी लिन सकिने गरी नगरपालिका विपद् व्यवस्थापन समितिले निर्णय गरेको थियो ।
व्यक्तिगत स्वास्थ्य सुरक्षा सामग्री अभाव
रसुवा समाचारदाता हेमनाथ खतिवडाका अनुसार जिल्लामा रहेका स्वास्थ्य संस्था तथा एम्बुलेन्स चालकलाई व्यक्तिगत स्वास्थ्य सुरक्षा सामग्री (पिपिइ) सेट, इन्फारेड थर्मोमिटर, एन–९५ माक्स, अभाव भएकोले कोरोनाको सङ्क्रमण रोकथाम गर्न समस्या परेको छ ।
आमाछोदिङमो गाउँपालिकाको माक्स देख्न नपाएको, खरिद गर्न नपाएको स्वास्थ्य शाखा प्रमुख निमा तामाङले बताउनुभयो । क्वारेन्टाइन तथा हेल्पडेक्समा छ वटामा पिपिइ सेट रहेको छ, स्वास्थ्य सुरक्षा सामग्री (पिपिइ) सेट, इन्फरेड थर्मोमिटर, एन–९५ माक्स, नपाएकोले काम गर्न समस्या परेको तामाङले बताउनुभयो । गोसाँइकुण्ड गाउँपालिकामा पिपिइ १२ सेट रहेको छ भने इन्फारेड थर्मोमिटर तीन ओटा रहेको छ । उत्तरगया गाउँपालिकाले १७ सेट पीपीई गरेको छ । कोरोनाको प्रभावकारी उपचार गर्न इन्फारेड थर्मोमिटर, एन–९५ माक्स, अभाव भएको स्वास्थ्य शाखा प्रमुख रविन्द्र ठकुरीले बताउनुभयो ।
नौकुण्ड गाउँपालिका स्वास्थ्य शाखा प्रमुख अणप्रसाद पौडेलका अनुसार गाउँपालिकाले १० सेट पीपीई खरिद गरेको छ तर पर्याप्त हुन सकेन । त्यहाँ इन्फारेड थर्मोमिटर, एन–९५ माक्स भने बजारमै नपाएको उहाँले बताउनुभयो ।
जनतालाई सूसुचित पार्दै गाउँपालिका
धादिङ समाचारदाता मुरारी अधिकारीका अनुसार कोरोना भाइरसको सङ्क्रमण फैलन नदिनको लागि ज्वालामुखी गाउँपालिकाले पालिकाले जनतालाई सुसूचित गर्ने र राहतका कार्यक्रमलाई अगाडि बढाएको छ ।
पालिकाको विपत ब्यवस्थापन कोषमा करिव २९ लाख रकम रहेको र प्रदेश सरकारले पनि कोरोना भाइरसको रोकथामको लागि भनेर थप १० लाख उपलब्ध गराएकाले सोही कोषबाट खर्च गर्ने गरी बढी जोखिमका क्षेत्रहरुका सङ्क्रमण हुन नदिन कीटनाशक विषादी छर्कने, सावुनपानीले हात धुने ब्यवस्था मिलाउने जस्ता कामहरुका गरिरहेको पालिका अध्यक्ष विनोद तिमल्सेनाले बताउनुभयो । भाइरस सङ्क्रमणको जोखिमलाई कम गर्न देशैभरी लकडाउन गरेकाले लकडाउनले असर गरिरहेका पालिकाभित्रका मजदुरहरुको राहत लागि प्योकजमा काम गर्ने तयारी भइरहेको पालिका अध्यक्ष तिमल्सेनाले जानकारी दिनुभयो । पालिकाभित्र विभिन्न जिल्लाबाट काम गर्न आएका मजदुरहरु गाउँपालिकाको सम्पर्कमा रहेकाले उनीहरुलाई सहज तरिकाले घर फर्काउने या गाउँपालिकाले ब्यवस्थापन गरेर राख्ने भन्ने विषयमा छलफल भइरहेको समेत अध्यक्ष तिमिल्सेनाले बताउनु भयो ।
हात धुने साबुन र एक व्यक्ति एक मास्क वितरण
दोलखा समाचारदाता बाबुराम शर्माका अनुसार भीमेश्वर नगरपालिकाले नगरवासीलाई एक घर दुई वटा हात धुने साबुन एक व्यक्ति एक मास्क वितरण सुरु गरेको छ ।
प्रत्येक वडामार्फत कोरोना भाइरसविरुद्धको सचेतनामूलक जानकारी गराउँदै साबुन र मास्क नगरवासीको घरघरमा पु¥याउन लागिएको शनिबार कार्यालय परिसरमा एक कार्यक्रम गरी नगर प्रमुख भरत केसीले जानकारी दिनु भयो ।
उहाँले भन्नु भयो, नगरको प्रतिघर एक साबुनको अभियानलाई नगरभित्र रहेका सहकारीहरुले थप एक गरी दुई वटा साबुन वितरण गर्न लागिएको छ । नेपाल कपडा तथा सिलाइ व्यवसायी सङ्घ दोलखाले लागतको आधा सहयोग गर्दै ३० हजार मास्क प्रदान गरेको नगर प्रमुख भरत केसीले जानकारी दिनुभयो ।
निःशुल्क खाना खुवाउँदै युवा उद्यमी मञ्च
भरतपुर समाचारदाता शान्ता अधिकारीका अनुसार नेपाली युवा उद्यमी मञ्च चितवनले सडकमा अलपत्र परेका र खाद्यान्न अभाव भएका पैदलयात्रीलाई निःशुल्क खाना अभियान सञ्चालन गरेको छ ।
मञ्चका उपाध्यक्ष कृष्णप्रसाद सापकोटाका अनुसार तीन दिन अगाडिदेखि सुरु गरिएको उक्त अभियानको क्रममा दैनिक करिब १५० जनाले खाना खाने गरेका छन् ।
यात्रु र वितरण सहजताको लागि शाहाकारी विरेनी तयार गरी एक बोटल पानीसहित दिने गरेको उहाँले बताउनुभयो । सापकोटाले उक्त कामको लागि दुई जना सेफलाई तयारी अवस्थामा राखिएकोे बताउनुभयो ।
उक्त अभियानमा मञ्चले खानाको तयारी सामाग्री जुटाई दिने र नारायणगढको बैष्णव मिष्ठान्न भण्डारले विरेनी तयारी गरिदिने गरेको छ । मञ्चले खाना खुवाएका मध्ये अधिकांश यात्रु काठमाडौँ, धादिङदेखि पश्चिम नेपालतर्फ जानेहरु भेटिएका छन् ।
प्रदेश कोभिड सङ्कट ब्यवस्थापन केन्द्र स्थापना
बाग्मती प्रदेशको राजधानी हेटौँडामा प्रदेश कोभिड सङ्कट ब्यवस्थान केन्द्र स्थापना गरिने भएको छ । समितिका संयोजक एवं मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा यहाँ बसेको प्रदेश कोभिड सङ्कट ब्यवस्थापन समितिको बैठकले केन्द्र स्थापना गर्ने निर्णय गरेको हो ।
यस्तै सामाजिक विकास मन्त्रालयले रोकथाम, नियन्त्तण र उपचारका लागि आवश्यक औषधि, उपकरणको हालको उपलब्धता र आवश्यक पर्ने विवरणसहितको कार्ययोजना तयार गर्ने निर्णय गरेको छ ।
बैठकले आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रभावितको अभिलेख तयार गरी नियमितरुमा अद्यावधिक गर्ने र भबिष्यमा आईपर्ने समस्या ब्यवस्थापनको खाका तयार गर्ने निर्णय गरेको समितिले जनाएको छ । यस्तै प्रदेशमा खाद्य ब्यवस्था, उपलब्धता र दैनिक गुजारा गर्न नसक्ने नागरिकहरुको लगत स्थानीय तहसँगको समन्वयमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले तयार गरी आवश्यक ब्यवस्था मिलाउने भएको छ । प्रत्येक जिल्लाको अत्यावश्यक खाद्य पदार्थको अभिलेख जिल्ला प्रशासन कार्यालयले तयार गरी ईमेलमार्फत पठाउन निर्देशन दिने र दैनिकरुपमा खपत हुने यस्ता खाद्य पदार्थको अनुमान गरी खाद्यान्नको अवस्था बारे जिल्ला विपद् ब्यबस्थापन समितिहरुले खाद्य अवस्थाको आङ्कलन गर्ने समितिले निर्णय गरेको छ ।
आर्थिक मामिला तथा योजना मन्त्रालयले भविष्यमा आवश्यक पर्ने स्रोत ब्यवस्थापनसम्बन्धी खाकासहितको योजना तयार गर्ने, कोभिड सङ्कट ब्यवस्थापन केन्द्र स्थापना गरी समितिका सदस्य सचिबले सूचना प्रवाहका गर्ने, हाल सञ्चालनमा रहेको कोरोना नियन्त्रण सूचना केन्द्रको सञ्चालन आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत गर्ने र हरेक दिन ४ बजे सूचना अपडेट गर्ने, कोरोना भाइरस नियन्त्रण गर्न क्वारेन्टाइनहरु कोरोना भाइरससम्बन्धी क्वारेन्टाइन सञ्चालन तथा ब्यवस्थापन मापदण्ड २०७६ अनुसार सञ्चालन गर्न सबै स्थानीय तहमा अनुरोध गर्ने निर्णय गरिएको छ ।
यस्तै खाद्यान्न सङ्कट भएका परिवारहरुको एकिन तथ्याङ्क स्थानीय तहले तयार गरी प्रदेश सरकारमा जानकारी गराउने, २०७६ माघ पछाडि स्वदेश फर्किएका ब्यक्तिहरुको विवरण स्थानीय तहले सङ्कलन गरी प्रदेश सरकारमा पठाउन अनुरोध गर्ने र विभिन्न मन्त्रालय तथा निकायबाट प्रस्तुत कार्ययोजनालाई एकीकृत रुपमा आगामी बैठकमा पेश गर्ने निर्णय गरेको समितिले जनाएको छ ।
समितिको सदस्यहरुमा आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेल, आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुङ्गेल, उद्योग, पर्यटन, वन तथा वातारवरण मन्त्री अरुणप्रसाद नेपाल, सामाजिक विकास मन्त्री युवराज दुलाल, प्रमुख सचिब तोयम राय, हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महत, मध्यपृतनाका उपरथी, सामाजिक विकास मन्त्रालयका सचिब, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिब, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिब, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिब, बागग्ती प्रदेश प्रहरी कार्यलयका प्रमुख, सशस्त्र प्रहरी कार्यालय बाग्मती प्रदेशका प्रमुख, राष्ट्रिय अनुसन्धान प्रदेश कार्यालयका प्रमुखलाई रहनुभएको छ ।
त्यस्तै केन्द्रका सदस्य सचिबमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिब रहने निर्णय गरिएको छ ।