logo
२०८१ मंसिर ११ मंगलवार



नदीजन्य पदार्थको अवैध उत्खनन

समाज |


नदीजन्य पदार्थको अवैध उत्खनन
सांकेतिक तस्विर


राँझा, वैशाख १ गते । मुलुकमा जारी बन्दाबन्दीको मौका छोपेर बाँकेको राप्तीसोनारी गाउँपालिकाअन्तर्गत पर्ने खोलाबाट नदीजन्य पदार्थको अवैध उत्खनन भइरहेको छ । राप्तीसोनारी ३ खैरेनी र साइपुर नाका, वडा नं ४ को लालपुर तथा वडा नं ५ का आलिनगर र ललै नाकाबाट नदीजन्य पदार्थको अवैध रुपमा निकासी भइरहेको छ ।

वडा नं २ का मुगुवा, माथेवास र मदुई नाकाबाट पनि बन्दाबन्दीको मौका छोपेर खुलेआम अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन भइरहेको स्थानीयवासी हेमन्त चौधरीले बताउनुभयो ।

राप्ती नदीसँगै जोडिएको स्थानीय भुवरभवानी सामुदायिक वन क्षेत्रबाट समेत अवैधरूपमा ढुङ्गा उत्खनन भइरहेको स्थानीय अगुवा विश्वसागर परियारको भनाइ छ ।

राप्ती नदीबाट दैनिक सयौंँ घनमिटर ढुङ्गा अवैध रुपमा उत्खनन हुँदा बस्ती असुरक्षित हुनाका साथै स्थानीय सरकारलाई राजश्वमा समेत घाटा भएको पूर्वसभासद् एवम् स्थानीय अगुवा पट्टुु थारु चिन्ता व्यक्त गर्नुहुन्छ ।
गाउँपालिकाले यस वर्ष नदीजन्य पदार्थ निकासीका लागि ठेक्का लगाउन नसकेका कारण अमानतमा निकासी गर्ने निर्णय गरेको छ । कोभिड–१९ को सङ्क्रमण रोकथामका लागि बन्दाबन्दी जारी भएपछि नदीजन्य पदार्थ निकासी रोकिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले बताउनुभयो ।
उहाँले नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न गाउँपालिकाले नियमित अनुगमन गरे पनि अहिले कोरोना भाइरस रोकथामको अभियानमा गाउँपालिका र सबै जनप्रतिनिधि सक्रिय हुँदा कहीँकतै अवैध निकासी भएको हुन सक्ने बताउँदै यस्ता अवैध कार्य रोकथाममा स् गाउँपालिकालाई सहयोग गर्न स्थानीयवासीलार्ई आग्रह गर्नुभयो ।
एक टिपर नदीजन्य पदार्थ उत्खननका लागि रु चार हजार रोयल्टी तिर्नुपर्ने भए पनि बन्दाबन्दीको मौका छोपेर रातको समयमा अवैध उत्खनन हुँदा प्रत्यक्ष रुपमा गाउँपालिकालाई राजश्व घाटा भएको छ । अघिल्लो आर्थिक वर्षमा गाउँपालिकाले रु १४ करोडभन्दा बढी राजश्व सङ्कलन गरेकामा यस वर्ष चार पटकसम्म आह्वान गरिएको बोलपत्र रद्द भएपछि नदीजन्य पदार्थ अमानतमा दिने निर्णय गरिएको छ ।
गाउँपालिका अध्यक्ष लाहुराम थारुले आफूहरु कोरोना भाइरस महामारी फैलिएका समयमा जनतालाई राहत दिनेतर्फ लागेकाले नियमित अनुगमन गर्न नसके पनि अवैध उत्खननमा रोक लगाउन प्रहरीलाई खबर गरिएको बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?