दीपक ज्ञवाली
बुटवल,बैशाख ५ गते । पछिल्ला दिनमा ठाउंठाउंमा नागरिकहरु अलपत्र परेका गुनासाहरु आईरहेका बेला प्रदेश ५ सरकारले आफ्नो प्रदेशभित्र प्रबेश गरेकाहरुलाई खाने र क्वारेन्टाईनमा बस्ने ब्यबस्था गर्ने भएको छ ।
मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश ५ भित्र प्रबेश गरेकाहरुलाई प्रहरीको सहयोगमा नजिकै रहेका क्वारेन्टाईनहरुमा गईदिनु अनुरोध गर्दै त्यहां खाने र बस्ने ब्यवस्था समेत रहेको उल्लेख गर्नु भएको छ । मुख्यमन्त्री पोखरेलले सामाजिक सञ्जालबाट समेत अपिल गर्दै लेख्नु भएको छ ‘घर जान भनेर प्रदेश ५ भित्र आईपुग्नु भएका सबै प्रहरीको सहयोगमा नजिकै रहेको क्वारेन्टाईनमा गईदिनु होला । त्यहांं खाने र बस्ने व्यवथा छ ।’
प्रदेशभित्र प्रवेश गरेका नागरिकलाई अलपत्र नपारी खाने बस्ने व्यवस्थासहितको अस्थायी क्वारेन्टाइनमा राख्न र लकडाउनको पालना गराउन उहांले सुरक्षा निकाय र स्थानीय तहहरुलाई निर्देशन पनि दिनु भएको छ ।
अलपत्र परेकाहरुलाई नवलपरासीको बर्दघाटसंगै अनुकुलका बिभिन्न स्थानीय तहमा क्वारेन्टाईनको ब्यवस्था गरिने मुख्यमन्त्री कार्यलयले जनाएको छ । अलपत्र नागरिकहरुको शुरुमा प्रारम्भिक स्वास्थ्य जाँच गरी अस्थायी क्वारेन्टाइनमा राखिने र सबैको विवरण संकलन गरेर पछि गन्तब्यमा पुर्याउन समन्वय गरिने जनाईएको छ ।