logo
२०८१ असोज ६ आईतवार



अफ्रिका कोरोनाभाइरसको अर्को केन्द्रबिन्दु बन्नसक्ने चेताबनी

फिचर |
अन्तर्राष्ट्रिय |


अफ्रिका कोरोनाभाइरसको अर्को केन्द्रबिन्दु बन्नसक्ने चेताबनी


गोरखापत्र अनलाइन
काठमाडौं, वैशाख ५ गते । विश्व स्वास्थ्य संगठनले अफ्रिका कोरोनाभाइरसको अर्को केन्द्रबिन्दु बन्ने चेताबनी दिएको छ । पछिल्ला दिनहरुका अफ्रिकामा कोरोनाभाइरस संक्रमण दरमा वृद्धि भएको छ ।
अफ्रिकामा करिब एक हजार संक्रमितको मृत्यु भइसकेको छ । १९ हजार व्यक्ति संक्रमित छन् । यद्दपी उक्त संख्या युरोपेली केही राष्ट्र र अमेरिकाको भन्दा निकै कम छन् । विश्व स्वास्थ्य संगठनले अफ्रिकी राजधानीहरुमा भाइरसको उपस्थिति देखिएको उल्लेख गरेको छ ।
स्वास्थ्य संगठनले अफ्रिका महादेशमा महामारीको रुपमा फैलिए सामना गर्न पर्याप्त भेन्टिलेटर समेत नरहेको बताएको छ । अफ्रिका महादेशमा कोरोनाभाइरस संक्रमणबाट ९७० जनाको मृत्यु भएको छ । अफ्रिकाको जनसंख्या करिब एक अरब ३० करोड छ ।
उत्तरी अफ्रिका सबैभन्दा संक्रमणको जोखिममा छन् । अल्जेरिया, इजिप्ट, मोरक्को गरी प्रत्येक राष्ट्रमा संक्रमितको संख्या करिब दुई हजार छन् । यी सबै राष्ट्रमा कम्तिमा एकसय जनाको संक्रमणबाट मृत्यु भएको छ । दक्षिण अफ्रिकामा समेत दुई हजारभन्दा बढीमा भाइरसको संक्रमण पुष्टि भएको छ । ४८ जनाको मृत्यु भएको छ ।
अफ्रिकी महादेशको सबैभन्दा बढी जनसंख्या भएको राष्ट्र नाइजेरियामा ४४२ जनामा संक्रमणको पुष्टि भएको छ । १३ जनाको मृत्यु दत्र्ता गरिएको छ । नाइजेरियाको जनसंख्या २० करोड छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वका ठूला शहरबाट सबैभन्दा पहिला दक्षिण अफ्रिका, नाइजेरिया, आइभोरी कोष्ट, क्यामरुन र घानामा संक्रमण फैलेको जनाएको छ । अफ्रिकी महादेशका १५ देशमा अझै कोरोनाभाइरसको एउटै संक्रमण फेला परेको छैन् । यी राष्ट्रले सामाजिक दूरीसँगै अन्य सावधानीका उपाय सतर्कतापूर्वक लागू गरे भाइरस लाग्नबाट रोक्न सकिनेछ ।
विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाभाइरसको संक्रमण प्रकोपको रुपमा अफ्रिकी राष्ट्रमा फैले अमेरिका र युरोपको भन्दा दर्दनाक अवस्था आउनेछ । अफ्रिकाको अधिकांश राष्ट्रमा प्रति दशलाख व्यक्तिमा औसतमा मात्र पाँचवटा आईसीयू शैय्या छन् । यूरोपमा प्रति दशलाख व्यक्तिमा करिब चार हजार आईसीयू शैय्या उपलब्ध छन् ।
सावधानी स्वरुप अफ्रिकी कतिपय राष्ट्रले लकडाउन सुरु गरिसकेको छ । कतिपय राष्ट्रमा विद्यालयमा स्वास्थ्य हेरचाह उपकरण राखेर क्वारेन्टाइन स्थलमा परिणत गरिएको छ । टेक्सटाइल उद्योगमा व्यक्तिगत् सुरक्षा उपकरण निर्माण सुरु भइसकेको छ । संयुक्त राष्ट्र संघको खाद्य कार्यक्रमले उपकरणको अति नै अभाव रहेको राष्ट्रमा इथियोपियाबाट उपकरणसहित दशलाख माश्क, पीपीई र भेन्टिलेटर उपलब्ध गराएको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?