logo
२०८१ असोज ६ आईतवार



भारतमा १४ हजार ३७८ संक्रमितमध्ये चार हजार २९१ मर्कजसँग सम्बन्धित

फिचर |
अन्तर्राष्ट्रिय |


भारतमा १४ हजार ३७८ संक्रमितमध्ये चार हजार २९१ मर्कजसँग सम्बन्धित


इश्वरचन्द्र झा 
काठमाडौं, वैशाख ७ गते । भारतीय स्वास्थ्य मन्त्रालयले १४ हजार ३७८ जना कोरोनाभाइरस संक्रमितमध्ये चार हजार २९१ संक्रमित दिल्लीको निजामुद्दीन क्षेत्रमा सञ्चालित मर्कज समारोहसँग सम्बन्धित रहेको जनाएको छ । गत् मार्च महिनामा भारतको राजधानी नयाँ दिल्लीमा आयोजित मर्कज समारोहमा करिब दुईहजार जना सहभागी थिए ।
भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शनिबार पत्रकार सम्मेलनको क्रममा संघ मातहातको क्षेत्रसँगै २३ राज्यमा फैलिएका मर्कजका सहभागीमा कोरोना संक्रमणको पुष्टि भएको जनाएको छ । मर्कजबाट नेपाल फित्र्ता भएका करिब एकदर्जन व्यक्तिमा समेत कोरोना संक्रमणको पुष्टि भइसकेको छ । कोरोनाभाइरस संक्रमण सम्बन्धमा दैनिक आयोजना गरिने पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका अधिकारी लभ अग्रवालले उक्त तथ्य खुलाउनुभयो ।
भारतमा संक्रमणको उच्च जोखिममा रहेको राज्यहरुमा मर्कजबाट फित्र्ता भएकाको कारण संक्रमण तिब्र रुपमा फैलिएको मन्त्रालयका अधिकारीलाई उद्धृत गर्दै टाइम्स अफ इन्डियाको अनलाइन संस्करणले जनाएको छ । मन्त्रालयका अनुसार भारतमा कुल संक्रमित १४ हजार ३७८ को २९.८ प्रतिशत चार हजार २९१ जना तब्लिगि जमात समारोहमा सहभागी भएकासँग सम्बन्धित छन् । थोरै मात्रै संक्रमित फेला परेको राज्यमा समेत मर्कज समारोहमा सहभागीहरुबाट संक्रमण फैलिएको भारतीय अधिकारीले दाबी गरेका छन् ।
भारतको अरुणाचल प्रदेशमा एकजना मात्रै संक्रमित फेला परेका छन् । संक्रमित मर्कजबाट फर्केका सहभागी हुन् । असाममा ३५ जनामा संक्रमणको पुष्टि भएकोमा ३२ जना मर्कजबाट फर्केका हुन् । भारतीय द्वीप अन्डोमान र निकोबारमा १२ जनामा संक्रमणको पुष्टि भएको छ । दश जना मर्कजबाट फर्केकोमा संक्रमणको पुष्टि भएको छ ।
भारतमा शनिबार पछिल्लो २४ घण्टामा ९९१ जना नयाँ संक्रमित थपिएका छन् । ४३ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये एक हजार ९९२ जना निको भएर घर फर्केका छन् । भारतमा कोरोनाभाइरस संक्रमितमा मृत्युदर ३.३ प्रतिशत छ । १४ प्रतिशत मृत्यु ४५ वर्ष उमेर समूहमा देखापरेको छ । १०.३ प्रतिशत मृत्यु ४५ देखि ६० वर्षको उमेर समूहमा देखापरेको छ । ६० देखि ७५ वर्षको उमेर समूहमा मृत्युदर ३३.१ प्रतिशत र ७५ वर्षमाथिको उमेर समूहमा ४२.४ प्रतिशत मृत्युदर रहेको मन्त्रालयले जनाएको छ ।
मर्कज समारोहका सहभागीमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएपछि संघीय तथा राज्य सरकारले सहभागीसँगै उनीहरुको सम्पर्कमा आएकाहरुको पहिचान गर्न सुरु गरेको थियो । भारतमा मार्च अन्तिम साता लकडाउन गरिनु अघि मर्कजका दर्जनौं सहभागी विभिन्न स्थानमा छरिएका थिए । मर्कजबाट फित्र्ता भएका सहभागी परीक्षण बिना घर फर्किदा संक्रमण तिब्ररुपमा फैलिएको भारतीय सञ्चारमाध्यमहरुले दाबी गर्दै आएको छ ।
लकडाउन लागू भएपछि अधिकांश सहभागी दिल्लीमै फस्दा कोरोनाभाइरस संक्रमणको परीक्षण सुरु गरिएको थियो । दिल्लीस्थित निजामुद्दीन क्षेत्रमा जम्मा भएका दुई हजारमध्ये करिब पाँचसय सहभागीमा संक्रमणको पुष्टि भएको थियो । प्रहरीले विशेष अभियान सञ्चालन गरेर उक्त क्षेत्र खाली गराई मर्कजका सहभागीलाई परीक्षण गरी क्वारेन्टाइनमा राखेको थियो ।

(टाइम्स अफ इण्डियाकाे समाचारमा आधारित)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?