डोटी समाचारदाता
डोटी, बैशाख ८ गते । कोरोना भाइरस (कोभिड १९) सँक्रमण भए नभएको एकिन गर्न परिक्षण कार्यलाइ प्राथमिकता दिए सँगै डोटी जिल्लाका ग्रामीण क्षेत्रहरुमा कोरोना भाइरस सङ्क्रमणको त्रास कम हुदै गएको छ । जिल्ला स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीका अनुसार जिल्लामा हाल सम्म २ सय ३० जनाको थ्रोट स्वाब सँकलन गरेर परिक्षण गरिएको छ भने ७ सय ५८ जनाको र्यापिड डाइग्नोस्टक टेष्ट (आरडिटी) गरिएको छ । परिक्षण गरिएका सबैको ‘रिपोर्ट नेगेटिभ’ आएको छ । सङ्क्रमण भए नभएको परिक्षण सँगै सहि जानकारी समेत दिने गरिएको बताइएको छ ।
सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसको सङ्क्रमण देखा पर्नु भन्दा पहिला नै भारतमा कोरोना भाइरसको सङ्क्रमण देखा परेको हो । भारतमा बस्दा कोरोनाको सङ्क्रमण हुन सक्ने त्रासका कारण भारतबाट घर फर्किएकाहरुको कारण गाउँघरमा संभावित कोरोना सङक्रमणको त्रास बढेको थियो ।
पछिल्लो समयमा नियमित रुपमा क्वारेन्टाइनमा बसेकाहरु र भारतबाट फर्किएर समुदायमा रहेका ब्यक्तिहरुको कोरोना सङ्क्रमण भए नभएको एकिन गर्नका लागि परिक्षण कार्यलाइ प्राथमिकता साथ अगाढी पछि कोरोनाको त्रास कम हुदै गएको छ । सायल गाउँपालिकाकी उपाध्यक्ष बिष्णा सिँहले भन्नुभयो,– ‘भारतबाट घर फर्किएकाहरुका कारण केहि दिन गाउँघर तिर अलमलको बातावरण भए पनि पछिल्लो पटक कोरोना सँक्रमणको परिक्षणमा र सबैको नतिजा नेगेटिभ आए पछि बातावरण सहज भएको छ ।’
भारतबाट फर्किएर नियमित क्वारेन्टाइनमा बसेकाहरुलाइ घर पठाइएको छ । क्वारेन्टाइनहरु खाली भए सँगै स्थानीय तहहरु राहत बितरण र जनचेतना मुलक कृयाकलापमा केन्द्रित भएका छन् ।