logo
२०८१ मंसिर ९ आईतवार



स्वास्थ्य अनुसन्धान परिषद्ले काेराेना संक्रमितकाे प्लाज्मा उपचार लगायतका सात विषयमा अध्ययन गर्ने

फिचर |
स्वास्थ्य |


स्वास्थ्य अनुसन्धान परिषद्ले काेराेना संक्रमितकाे प्लाज्मा उपचार लगायतका सात विषयमा अध्ययन गर्ने


दीपक श्रेष्ठ

काठमाडौ, बैशाख ८ गते । नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) ले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको प्रभावसम्बन्धी सात वटा विषयमा अध्ययन अगाडि बढाएको छ । स्वास्थ्यसँग सम्बन्धित अध्ययन र अनुसन्धानका क्षेत्रमा अनुगमन, नीति निर्माणमा सरकारलाई सहयोग गर्ने संस्थाको रुपमा रहेको एनएचआरसीले कोरोना भाइरस सङ्क्रमपछि विभिन्न क्षेत्रमा देखिएका समस्यालाई लिएर अध्ययन थालेको हो ।

एनएचआरसीका कार्यकारी सदस्य सचिव डा.प्रदीप ज्ञवालीका अनुसार, सङ्क्रमणको सफल उपचार भएकाहरुको प्लाज्मामार्फत् सङ्क्रमितको उपचार प्रभाव कस्तो हुन्छ भन्ने विषयमा समेत अध्ययन गरिने भएको छ । कोभिड–१९ को उपचारपछि घर फर्किएकी प्रसिद्धि श्रेष्ठले आफ्नो प्लाज्मा दिने सार्वजनिक घोषणा गरिसक्नुभएको छ ।

यसको प्रभावको विषयमा समेत परिषद्ले अध्ययन गर्ने निर्णय गरेको तर त्यसका लागि आवश्यक कार्यविधि बन्ने क्रममा रहेको डा.ज्ञवालीले जानकारी दिनुभयो । उहाँका अनुसार, र्यापिड डाइइग्नोस्टिक किट (बजारमा पाइने र सरकारले ल्याएको) र रियल टाइम पोलिमरेज चेन रियाक्सन (आरटी–पीसीआर) को तुलना, लकडाउन र क्वारेन्टाइनमा बसेकाहरुको मनोवैज्ञानिक अवस्था, चिकित्सक र स्वास्थ्य सेवा सम्बद्धमा पाइएको मानसिक अवस्थाका बारेमा अध्ययन थालिएको छ ।

यस्तै, कोभिड–१९ को विषयमा नागरिकको ज्ञान, कोरोना म्याक्सिन निर्माणको सम्भावना, कोरानो उपचारको सन्दर्भा आयुर्वेदिक औषधि र नेपालमा पाइने बहुमल्य वनस्पतिको अध्ययन र सेनिटाइजेसन टनेलले मानव स्वास्थ्यमा पार्ने प्रभावजस्ता विषयमा समेत परिषद्ले अनुसन्धानकर्तासँग मिलेर अध्ययन थालेको छ ।

उहाँले स्वास्थ्य क्षेत्रको नीति निर्माणमा सरकारलाई सहयोग पुर्याउने कार्यादेश पाएको परिषदले गत वर्ष हजारभन्दा बढी अध्ययन भएको जानकारी दिनुभयो । उहाँले परिषद्ले आजसम्म गरेका अध्ययन र अनुसन्धानलाई सरकारले कसरी लिएको छ र उपयोगमा कति ल्याइएको छ भन्ने विषयमा समेत अध्ययन थालिएको बताउनुभयो ।

सात वटा अनुसन्धानमा ५० भन्दा बढी अनुसन्धानकर्ताले काम गरिरहेका छन् । २०४७ सालमा स्थापित परिषद्ले मुलुकभित्रका ५० भन्दा बढी अनुसन्धान संस्थासँग मिलेर काम गरिरहेको जनाइएको छ । कोभिड–१९ सङ्क्रमणपछि स्वास्थय तथा जनसंख्या मन्त्रालयले तयार पारेको हाम्रो स्वास्थ्य मोवाइल एप, कल सेन्टर र अनलाइनमार्फत् प्राप्त तथ्याङ्क, क्वारेन्टाइनमा रहेका र उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीसँगको संवादमार्फत् अनुसन्धान गरिनेसमेत जनाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?