logo
२०८१ असोज ६ आईतवार



कोभिड–१९ विरुद्ध लड्न विश्वब्यापी पहल, अमेरिका सहभागी नहुने

फिचर |
अन्तर्राष्ट्रिय |


कोभिड–१९ विरुद्ध लड्न विश्वब्यापी पहल, अमेरिका सहभागी नहुने


गोरखापत्र अनलाइन
काठमाडौं, वैशाख १२ गते । कोरोनाभाइरस संक्रमणको महामारीका बीच यूरोपले कोरोना विरुद्धको संघर्षका लागि विश्वब्यापी पहलको नेतृत्व गर्ने भएको छ । फ्रान्सका राष्ट्रपति इमानुएल मैक्रन र जर्मन चान्सलर एञ्जेला मर्केलले पहलको प्रयास स्वरुप शुक्रबार पहिलो बैठक आव्हान गर्नुभएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । संयुक्त राज्य अमेरिकाले भने उक्त बैठकमा सहभागी हुने छैन् ।
विश्व स्वास्थ्य संगठनले सुरक्षित विकास, प्रभावकारी औषधी, परीक्षण र उन्मूलनका लागि खोप र कोभिड–१९ को उपचारबारे ऐतिहासिक सहयोग घोषणा गर्ने जनाएको छ । द् टाइम्स अफ इन्डियाको अनलाइन संस्करणका अनुसार संगठनका प्रवक्ता फडेला चाबले संयुक्त राष्ट्र संघको छलफलमा शुक्रबार यूरोपेली संघका अध्यक्ष उर्सुला भन डर लैन र महानिर्देशक टेड्रस अदनोम गेब्रेसससँग छलफल गर्ने जानकारी दिनुभएको छ । रोयर्टसका अनुसार उक्त छलफलमा बेलायती विदेश मन्त्री डोमिनिक राब र राष्ट्र संघका महासचिब एन्टोनियो गुटेरस पनि सहभागी हुनुहुनेछ ।
प्रवक्ता चाबले कुनै पनि राष्ट्रले खोप विकास गरे उचित मूल्य लिएर बिक्रि वितरण गर्न राजनीतिक प्रतिबद्धता आएको खुलाउनुभयो । कोभिड–१९ लाई परास्त गर्न गुणात्मक, प्रभावकारी र नयाँ उपकरणमा सबैको न्यायसंगत पहुँच हुनु अत्यन्तै महत्वपूर्ण हुन गएको उहाँले बताउनुभयो । जेनेभामा रहनुभएका एकजना कुटनीतिज्ञ प्रवक्ताले भने संयुक्त राज्य अमेरिका उक्त छलफलमा सहभागी नहुने प्रष्ट्याउनुभएको छ ।
रोयर्टसले पठाएको जिज्ञासाको जवाबमा प्रवक्ताले अमेरिकाको औपचारिक सहभागिता नरहने जनाउनुभएको छ । पहलको सुरुवाती चरणमा हामी खोप विकासका लागि अन्तर्राष्ट्रिय समन्वय र सहयोगबाट सिक्न चाहेको उहाँले उल्लेख गर्नुभएको छ ।
विश्व स्वास्थ्य संगठन समक्ष अमेरिकाको सहभागितालाई लिएर गरिएको प्रश्नमा स्रोतले भन्यो, “सहभागी हुन्न, तर बाँकीका अधिकांश सहभागी हुनेछन् ।” कोरोनभाइरसको संक्रमण विश्वका करिब २७ लाख व्यक्तिमा फैलेको छ । करिब एक लाख ९० हजार व्यक्तिको मृत्यु भएको छ । चीनको वुहानमा गत् डिसेम्बरमा पहिलोपटक देखा परेको कोभिड–१९ को संक्रमणले पश्चिमा राष्ट्र र अमेरिका नराम्ररी प्रभावित भएको छ ।
कोभिड–१९ को सम्भावित करिब एक सय खोप विकासको चरणमा रहेको छ । विपन्न राष्ट्रमा प्रतिरोधी अभियान चलाउँदै आएको गाभी खोपका प्रमुख कार्यकारी अधिकृत डा. सेत बार्कलीले छ वटा यस्ता खोप प्रयोगशाला परीक्षणको क्रममा रहेको बताउनुभयो । विश्व स्वास्थ्य संगठनको घोषणा अघि पत्रकार सम्मेलनमा गाभी खोपका बार्कलीले खोपको अन्वेषण हुनसाथ विश्वका सबै राष्ट्रमा न्यायोचित वितरणका लागि तिब्र संख्यामा धेरैभन्दा धेरै परिणाममा उत्पादन गरिने उल्लेख गर्नुभयो ।
उहाँले सन् २००९ मा एच वान एन वान खोप झै विश्वले अर्को आपूर्ति समस्याको सामना गर्न नहुने बताउनुभयो । सन् २००९ मा विश्वब्यापी महामारीका बीच एच वान एन वान इन्फ्लुएन्जाको खोप विकास भएपनि विकासोन्मुख र विकासशील राष्ट्रसम्म पुग्न सकेको थिएन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?