दिपकप्रसाद गौतम
वीरगञ्ज , बैशाख १४ गते । तीन पटकसम्म गरिएको -यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) पोजेटिभ देखिएकी एक २३ वर्षिय युवतीको मृत्यु भएपछि मृतक युवती कोरोना संक्रमित रहेको आशंकामा थ्रोट स्वाबको नमूना संकलन गरी परीक्षणका लागि हेटौंडास्थित प्रादेशिक प्रयोगशालामा पठाइएको छ ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर १० अशोक बाटिकाकी २३ वर्षीया युवतीको उपचारकाक्रममा तीन पटकसम्म -यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) पोजेटिभ देखिएपछि कोरोना संक्रमणको आशंकामा यकिन गर्न थ्रोट स्वाबको नमूना संकलन गरी पिसिआर परीक्षणका लागि हेटौंडास्थित प्रादेशिक प्रयोगशालामा पठाइएको तर ति युवतीको उपचारकाक्रममा मृत्यु भएको हो ।
नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा. मदन उपाध्यायले भन्नुभयो , ‘उहाँ ब्लड क्यान्सरको बिरामी हुनुहुँदो रहेछ, आरडीटी पोजेटिभ देखिएको थियो, त्यस्तैले यकिन गर्न पीसीआर परीक्षणका लागि थ्रोट स्वाब संकलन गरेर हेटौंडा पठाएका छौं साझसम्म रिपोर्ट आईपुग्छ । उनलाई कोरोना संक्रमण भएको आशंकामा आइसोलेसनमा राख्ने तयारी गर्दागर्दै मृत्यु भएको हो ।’
मृत्यु भएकी ती युवतीको स्वास्थ्य समस्या देखिएपछि गत चैत ५ गते चितवन जिल्लाको भरतपुर क्यान्सर अस्पतालमा परीक्षण गर्दा ब्लड क्यान्सर भएको प्रमाणित भएको र चैत ९ गते डिस्चार्ज भई वीरगञ्ज ११ अशोकवाटिका स्थित आफ्नो घर आई बसी रहेकी थिईन् । बैशाख १३ गते उनको स्वास्थ्यमा समस्या आएपछि वीरगञ्ज कै एडभान्स अस्पताल लगिएको तर एडभान्सले बिरामीलाई आईसीयुमा राख्नुपर्ने जनाउदै नेशनल मेडिकल कलेजमा रिफर गरेको र नेशनल मेडिकल कलेजले आईसीयु खाली नरहेको भन्दै विरामी भर्ना नै नगरेपछि पारिवारले शनिबार राति १० बजेतिर तराई हस्पिटल एण्ड रिसर्च सेन्टरमा भर्ना गरेका थिए ।
तराई हस्पिटल एण्ड रिसर्च सेन्टरमा भर्ना भएपछि अन्य जाँचसँगै अस्पतालले आरडीटी परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएपछि दोश्रो पटक आरडीटी परीक्षण गरेका तर रिपोर्ट पोजेटिभ नै देखिएपछि नारायणी अस्पताललाई खबर गरेको र नारायणी अस्पतालको टोलिले पनि आरडीटी परीक्षण गर्दा पोजेटिभ रिजर्ट देखिएपछि थ्रोट स्वाबको नमूना संकलन गरी पिसिआर परीक्षणका लागि हेटौंडास्थित प्रादेशिक प्रयोगशालामा पठाइएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा. उपाध्यायले गोरखापत्रलाई बताउनु भयो ।
मृत्यु भएकी युवतीको ¥यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) शंकास्पद रिपोर्ट आएको तर पिसिआर टेस्टको रिपोर्ट आईनसकेकाले उनका परिवारका सबै सदस्यहरुलाई होम क्वारेन्टाइनमा बस्न आग्रह गरिसकिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले गोरखापत्रलाई बताउनु भयो ।