टीकाराम उप्रेती
झापा, वैशाख १७ गते । झापाको दमकमा कोरोना संक्रमण पुष्टि भएकै क्षेत्रमा लक डाउन उलङ्घन हुने क्रम रोकिएको छैन ।
दमक नगरपालिकाले पटक पटक आवश्यकीय वस्तुका पसल खोल्ने समय, मिति र बार परिर्वतन गरेपछि सर्वसाधारणबाट लक डाउन उल्लङ्घन बढेको हो ।
नेपाल सरकारले नेपालमा लक डाउनको सूचना जारी गरेपछि दमक नपाले दमक बजार क्षेत्रमा अत्यआवश्यकीय वस्तु खाद्यान्न, तरकारी, दुध लगायत पसल खोल्ने समय पटक पटक परिवर्तन गर्दा सर्वसाधारणले सूचना वेवास्ता गर्दा बुधबार दमक बजारमा किनमेल गर्न आवतजावत गर्ने सर्वसाधारणको भिड लागेको थियो ।
खासगरी दमक ६ स्थित पुरानो सब्जी बजार र नयाँ तरकारी तथा फलफूल बजार क्षेत्रमा भिड बढेको हो । यसरी अचानक भिड बढेपछि प्रहरीलाई समेत नियन्त्रण गर्न समस्या आएको थियो ।
दमकमा एक जना ६२ वर्षीय पुरुषमा कारोना संक्रमण पुष्टि भएपछि लक डाउन अझ कडा बनाइएको थियो । बुधबार मात्र दमक बजार भित्रबाट लक डाउन उलङ्घन गर्ने लगभग ७० देखि ८० वटा सवारी साधन नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी प्रमुख डिएसपी विजयराज पण्डितले जानकारी दिनुभयो ।
यसरी किनमेल गर्न आउने सर्वसाधारणले सामाजिक दुरी समेत कायम नगरी तँछाडमछाड गर्दै किन्ने गरेकाले संक्रमणको जोखिम उच्च रहने बताइएको छ ।