मनोज तिमलसिना
रौतहट,वैशाख १९ गते । गत मंगलबार रौतहटमा दुईजनामा कोरोना संक्रमण भेटिएपछि सम्पर्कमा रहेकासमेतका ९१ जनाको लिइएको स्वाव परिक्षणको रिपोर्ट नेगेटिभ पाइएको छ ।
जिल्लाको वृन्दावन नगरपालिका ९ भुसहा र देवाही गोनाही नगरपालिका १ मा कोभिड १९ का दुई संक्रमित भेटिएपछि जिल्लामा संक्रृमितका सम्पर्कमा आएका ९१ जनाको स्वाब परिक्षणको रिपोर्ट विहिबार साँझ नेगेटिभ पाइएको जिल्ला जनस्वास्थ्य कार्यालय,रौतहटका प्रमुख महेश साहले बताउनुभयो ।
हालसम्म यहाँ कोरोना संक्रमितको संख्या तीन पुगेको छ । पछिल्लो दिनमा भेटिएका दुई जना संक्रमितको उपचार जारी छ भने एकजना यसअघि नै उपचारपछि घर पठाइसकिएको छ । रिपोर्ट नेगेटिभ पाइएपछि क्वारेन्टाइनमा राखिएका सवैलाई घर फिर्ता पठाउने तयारी गरिएको प्रसासनले जनाएको छ ।
१४ दिन क्वारेन्टाइनमा बसेर घर फर्काइएका भुसहाका २५ वर्षीय शेख मिराज र दिल्लीबाट फर्किएर घर परिवारसँगै बसेपछि क्वारेन्टाइनमा लगिएका देवाही गोनाही वडानम्वर एकका ३५ वर्षिय शेख अख्तरका सम्पर्कमा आएका ४६ जनालाई क्वारेन्टाइनमा राखेर स्वाब संकलन गरिएको थियो । संकलित स्वाब परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको थियो । विहिबार साँझ सवैको रिपोर्ट आएको र नेगेटिभ पाइएको साहले जानकारी दिनुभयो । यसअघि गत मंगलबारबाट जिल्ला प्रशासन कार्यालय, रौतहटले संक्रमित भेटिएका दुई वटा वडालाई सिल गरेको छ ।
जिल्लाका विभिन्न स्थानमा संचालित क्वारेन्टिनमा रहेकामध्ये चन्द्रपुर नगरपालिकाबाट २३ जना, देवाही गोनाही नगरपालिकाका ९ र इशनाथ नगरपालिकाका १९ जना,कटहरियाबाट ३१ जना,गौरबाट एकजना,गरुडाबाट एकजना,लाई क्वारेन्टाइनमा राखेर उनीहरुको स्वाब संकलन गरिएको साहले बताउनुभयो ।