logo
२०८१ फाल्गुन २७ मंगलवार



भारतबाट ‘लखेटिएका’ २१ जना नेपालीलाई नरैनापुर क्वारेन्टाइनमा राखियो

फिचर |
प्रदेश |


भारतबाट ‘लखेटिएका’ २१ जना नेपालीलाई नरैनापुर क्वारेन्टाइनमा राखियो


सिराज खान ।
नेपालगञ्ज, बैशाख २२ गते । लकडाउनकै समयमा गत शनिवार भारतबाट ‘लखेटिए’ पछि बाँकेको नरैनापुर गाउँपालिकाको वडा नम्बर १ कट्कुइँयास्थित दशगजामा अलपत्र परेका २१ जना नेपालीलाई उद्धार गरेर क्वारेन्टाइनमा राखिएको छ ।
जिल्ला प्रशासन कार्यालय बाँकेले उनिहरुलाई भारतनै फर्काउनु पर्ने अडान राखेको तर उनिहरुले भारत नजाने अडान राखेका कारण दुई दिनदेखि उनिहरु दशगजामै अलपत्र परेका थिए ।
भारतका विभिन्न स्थानमा काम गर्न गएका ती सबै नेपाली नागरिक भएकोले उनिहरुले भारत फर्कन नमानेपछि अन्ततः उनिहरुलाई दशगजामै सशस्त्र प्रहरीले बनाएको ९ वटा टेन्टमा क्यारेन्टाइनका रुपमा राखिएको नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बताउनुभयो ।
भारतको श्रावस्ती क्वारेन्टाइनमा रहेका ती नेपालीलाई भारतीय प्रहरीले कुटपिट गरेर धपाएकोले उनिहरु नेपाल प्रवेश गरेको जानकारी उनिहरुले दिएको अध्यक्ष शाहले बताउनु भयो । सशस्त्र प्रहरीद्वारा बनाईएका अस्थायी क्वारेन्टाइनमा राखिएका उनीहरुको खानपिन र अन्य सबै व्यवस्थापन गाउँपालिकाले गर्ने नरैनापुर गाउँपालिकाले जनाएको छ ।
भारतका विभिन्न सहरमा मजदुरी गर्न गएका उनीहरु शनिवार राती लकडाउनकैबीच नेपाल प्रवेश गरेका थिए । उनीहरु सबै नरैनापुर गाउँपालिकाका स्थानीय हुन् ।
नरैनापुर गाउँपालिकाको ३ वटा क्वारेन्टाइनमा अहिले ४४ जना रहेको स्वास्थ्य शाखा उपप्रमुख नागेन्द्र कुमार साहले बताउनु भयो । उपप्रमुख साहका अनुसार दशगजा क्वारेन्टाइनमा २१, नेरा प्रावि खादवाँमा १४ र आदर्श मावि लक्ष्मणपुरमा ९ जना रहेका छन् ।
दसगजामा अलपत्र परेका नेपालीहरुलाई नेपालमा प्रवेश दिएर उनिहरुको व्यवस्थापन गर्न स्थानीय प्रशासनलाई मानव अधिकार रक्षक संजाल (थर्ड एलायन्स) लगायतका अधिकारकर्मी संस्थाहरुले आग्रह गरेका थिए ।
ती संस्थाहरुले सर्वोच्च अदालतले गरेको आदेशको पालना गर्न प्रशासनसंग आग्रह गर्दै पालना नभएमा अदलातको ढोका फेरि ढकढकाउने चेतावनी समेत दिएको मानव अधिकार रक्षक संजाल (थर्ड एलायन्स) का संयोजक आलम खानले बताउनुभयो ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?