धीरेन्द्रप्रसाद साह
राजविराज, बैशाख २२ गते । सप्तरीमा कूल ३६८ जनाको स्वाब रिपोर्ट नेगेटिभ आएको छ । तीमध्ये संक्रमित जमाती बसोबास गरेको क्षेत्रका ३१८ जनाको रिपोर्टमा कोरोना संक्रमण भेटिएको छैन ।
स्वास्थ्य कार्यालयले संक्रमित जमाती बसोबास गरेको जिल्लाको विभिन्न टोल बस्तिका ३१८ जनाको स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि धरान पठाइएकोमा ३१८ जनाकै स्वाब रिपोर्ट नेगेटिभ प्राप्त भएको स्वास्थ्य कार्यालय निमित प्रमुख दुनियालाल यादवले जानकारी दिनुभयो ।
त्यस्तै गजेन्द्र नारायण सिंह अस्पताल राजविराजले हालसम्म विभिन्न ५१ जनाको स्वाब संकलन गरी परीक्षणका लागि धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । उनीहरुमध्ये ५० जनाको स्वाब रिपोर्ट नै नेगेटिभ प्राप्त भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिदैै भन्नुभयो, एक जनाको रिपोर्ट आउन बाँकी रहेको छ ।
उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केमा कोरोना संक्रमितको यात्रा बृतान्त सप्तरीको बोदेबरसाइन नगरपालिका ५ जाँजर स्थित गत फागुन ३–५ गते आयोजित इस्लामिक धार्मिक सभा इज्तिेमासहित विभिन्न बस्तीसँग जोडिएकोले जिल्लामा ती बस्तीका ३१८ जनाको स्वाब संकलन गरी परीक्षणको लागि धरान पठाइएको थियो ।
त्यस्तै गत १३ गते जमाती बसोबास क्षेत्र अन्तर्गत बोदेबर्साइन नगरपालिका ५ स्थित चन्द्रा नमूना मावि संकलन केन्द्रमा १५ महिलासहित १६१ जनाको स्वाब संकलन गरेकोमध्ये शिलाजित र हिंग बेच्न आएका जुम्लाका तीन घुमन्ते व्यापारी, बोदे बर्साइनका ११३, डाकनेश्वरीका २८, सुरुङ्गाका १२, खडक नगरपालिकाका दुई र बलान बिहुल गाउँपालिकाका तीनजना रहेको स्वास्थ्य कार्यालय, सप्तरीले जानकारी दिएको छ ।
यसैगरी गत १४ आइतबार भुल्केमा कोरोना संक्रमितको यात्रा बृतान्तसँग जोडिएको सप्तरीको कञ्चनरुप नगरपालिका स्थित बैरवामा ३१, बरमझियामा ११ जना तथा सप्तकोशी नगरपालिका स्थित फत्तेपुरमा ११५ जना गरी १५७ जनाको स्वाब संकलन गरेको थियो ।
यता जिल्लामा हालसम्म कसैको स्वाब परीक्षण रिपोर्टमा कोराना संक्रमण नपाइएपछि जिल्लावासीमा त्रास कम भएको छ । जिल्लामा कोरोना संक्रमण नभएकोमा त्रास कम भएपनि जोखिम उच्च रहेको स्वास्थ्यकर्मीहरुले पूर्ववत जस्तै सावधानी अपनाइ राख्नु आवश्यक भएको बताएका छन । यता जिल्लाको विभिन्न क्वारेन्टाइनका गरी ४० महिला र २०३ पुरुष गरी ३४३ जना रहेको छ । क्वारेन्टानमा सोमबार दुई जना पुरुष मात्र थपिएको छ ।
आरडीटी किट अभावले जाँच प्रभावित
क्वारेन्टाइनमा बसेकाहरुको समय पुगेपछि अनिवार्य आरडीटी गर्नु पर्दछ । आरडीटी रिपोर्ट नेगेटिभ आएपछि थप सात दिन होम क्वारेन्टाइनमा राख्न पर्ने निर्देशिकामा उल्लेख छ । क्वारेन्टाइनमा दुई सात (१४ दिन) बिताइसकेको भएपनि आरडीटी नहुँदा क्वारेन्टाइनमै थप समय बसाउनु परेको स्वास्थ्य प्रमुख यादवले जानकारी दिनुभयो । एकसाता अगाडीदेखि नै आरडीटी किटको लागि प्रदेश स्वास्थ्य निर्देशनालयसँग माग गरिसकेको उहाँले भन्नुभयो, तर, आजसम्म किट प्राप्त नहुँदा पछिल्लो सात दिनदेखि आरडीटी परीक्षण बन्द रहेको छ । यसले क्वारेन्टाइनको अवधि पूरा गरेपनि थप बसाउनु परेको छ ।