श्रीओम श्रेष्ठ ‘रोदन’
कोभिड–१९ भाइरस महामारीले विश्वमा दुई लाख ५० हजारभन्दा बढीको मृत्यु भइसक्दा पनि नेपालमा आजसम्म एकको पनि मृत्यु नहुनु सुखद पक्ष बनेको छ । यसलाई कोरोना सङ्क्रमण तथा रोकथाम नियन्त्रण गर्न नेपाल सरकारले समयमा नै गरेको बन्दाबन्दी र नेपाली जनताले संयमपूर्वक पालना गरेको अनुशासनको परिणाम मान्न सकिन्छ । यही कारण विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई अति उच्च जोखिमबाट हटाएर उच्च जोखिमको सूचीमा राखेको छ ।
चीनको हुबेई प्रान्तको राजधानी वुहानमा सन् २०१९ को अन्तिम दिन पहिचान गरिएको नोभेल कोरोना भाइरस विश्वका लागि शताब्दीकै सबैभन्दा ठूलो चुनौती बनेको छ । नेपाल सरकारले गत चैत ११ गतेदेखि लागू गरेको बन्दाबन्दी आज ४४ दिनसम्म कायम रहेको छ । यही बन्दाबन्दीका कारण धेरैै चाडपर्व, सभा, समारोह, उत्सव जस्ता कार्यक्रम प्रभावित भए जस्तै गोरखापत्र दैनिकको १२० वर्षमा प्रवेश गरेको विशेष समारोह र १२० पृष्ठको विशेषाङ्क प्रकाशन पनि प्रभावित भएको छ ।
गोर्खापत्रको प्रकाशनबाटैै नेपालमा पत्रकारिताको इतिहास सुरु भएकाले गोरखापत्रलाई नेपाली पत्रकारिताको जननी मानिएको छ । वि.सं १९५८ वैशाख २४ गतेदेखि प्रकाशन प्रारम्भ भएको गोरखापत्रको इतिहास नेपाल र नेपाली पत्रकारिताको गौरव बनेको छ । यो गोरखापत्रका लागि मात्र नभएर राज्यकै ऐतिहासिक सम्पदा पनि बनेको छ । यो नेपालकोे एक शताब्दीभन्दा लामो राजनीतिक, सामाजिक, आर्थिक, धार्मिक लगायतका घटनाको दस्तावेज पनि हो । आमसञ्चार क्षेत्रमा भएको विकासले नागरिकको जीवनशैली सरल बनाए जस्तै सञ्चार क्षेत्रलाई पनि सहज र सुलभ बनाएको छ । प्रविधिको विकासले गर्दा दुर्गम क्षेत्रका जनता पनि सूचनाबाट टाढा रहनुपरेको छैन । विश्वको कुनै पनि घटनाको समाचार तत्काल उपलब्ध हुने सुविधाले नागरिकमा समाचार प्रतिको चेतना पनि बढाएको छ । प्रविधि सहज हुँदा नागरिकमा पत्रकारिताको अभ्यास पनि बढ्दै गइरहेको छ । यसले पत्रकारिता क्षेत्रलाई पनि सजग गराएको छ । आजका नागरिक पहिलेको तुलनामा सचेत भएकै कारण आधिकारिक र तथ्य समाचारमा मात्रै विश्वास गर्ने गर्दछन् । यस अर्थमा सत्य र तथ्य समाचारप्रति गोरखापत्रले कमाएको विश्वास इतिहासदेखि आजसम्म कायम रहेको छ । नेपालमा प्रजातन्त्रको पुनस्र्थापनापछि सञ्चार क्षेत्रमा व्यापक विकास र विस्तार भएको छ । पाठक र दर्शकको सङ्ख्यामा पनि उल्लेख्य वृद्धि भएको छ तर सञ्चार गृहले भने व्यावसायिक बन्ने नाममा अस्वस्थ प्रतिस्पर्धा गर्न थालेको पाइन्छ । एउटै घटनाको समाचार पनि संस्थाको स्वार्थनीति अनुसार फरकफरक बन्ने गरेका छन् । यस्ता समाचारले पाठकमा भ्रम सिर्जना गर्नुका साथै पत्रकारिताप्रति वितृष्णा फैलाउने काम पनि नहोला भन्न सकिँदैन । यस्तो अवस्थामा आधिकारिक समाचारका लागि गोरखापत्रको औचित्य र आवश्यकता झन् बढ्दै गएको महसुस हुन्छ ।
अखबार भनेको नकारात्मक समाचारको सङ्ग्रह मात्र होइन । समाचारले पाठकलाई सूचना, जानकारी र ज्ञान पनि दिन सक्नुपर्छ । कुनै घटनामा कसैको कमी कमजोरी छ भने त्यसको निकासका बारेमा पनि लेखिनुपर्ने हो तर त्यस्तो हुन सकिरहेको छैन । गल्ती गर्नेको टिप्पणी हुनु, खबरदारी गर्नु स्वाभाविक हो तर घटना वा व्यक्तिका बारेमा कपोलकल्पित समाचार प्रकाशन गरेर भ्रम सिर्जना गर्नु अपराध हो । पत्रकारिताको धर्म उल्लङ्घन गर्ने कार्य पनि समाजमा बढिरहेका छन् । यस दृष्टिले पनि अखबारको भीडमा गोरखापत्रको औचित्य झन् बढी पुष्टि हुँदै गइरहेको छ ।
गोरखापत्र इतिहासको निरन्तरता दिने अखबार मात्रै होइन, आजको आवाज पनि हो । त्यसैले इतिहासको विरासत कायम राख्दै राज्य र जनता प्रतिको जिम्मेवार अखवार बनिरहेको छ । गोरखापत्र नेपाली भाषाको समाचारपत्र मात्र होइन, सबैको र सधैँको साझा पत्रिका हो भन्ने तथ्य बहुभाषिक पृष्ठले स्पष्ट पारेको छ । वि.सं. २०६४ असोज १ गतेदेखि प्रारम्भ भएको ‘नयाँ नेपाल’ अन्तर्गतका पृष्ठले समावेशी पत्रकारिताका लागि उदाहरण बनेको छ । यसमा लोपोन्मुख लगायतका ३८ भाषामा सामग्री प्रकाशित हुँदै आएका छन् । प्रत्येक दिन प्रकाशन हुने दुई भाषाका दुई पृष्ठका समाचार सामग्रीले उक्त भाषाको साहित्य र संस्कृतिको प्रचारप्रसार र संरक्षण गर्ने कार्य हुँदै आएको छ । गोरखापत्र बहुभाषिक अखवारका रूपमा नेपालमा मात्र नभएर दक्षिण एसियामै पनि विशिष्ट स्थान राख्न सफल भएको छ ।
एक शताब्दीभन्दा लामो इतिहास बोकेको गोरखापत्रको प्रकाशन सङ्घीय राजधानीबाट मात्रै प्रकाशित हुँदै आएकोमा गत वर्षदेखि पूर्व र पश्चिम क्षेत्रमा पनि विस्तार भएको छ । संविधान दिवस र प्रजातन्त्र दिवसको अवसर पारेर विराटनगर क्षेत्र र कोहलपुर क्षेत्रबाट गोरखापत्रको प्रकाशन प्रारम्भ भएको छ । यी दुई क्षेत्रको प्रकाशनबाट प्रदेश १, २, ५, कर्णाली र सुदूरपश्चिम क्षेत्रका पाठकलाई सहज रूपमा अखवार वितरण गर्ने व्यवस्था भएको छ । हरेक बिहान चियाको चुस्कीसँगै हातहातमा अखवार पु¥याउने लक्ष्यको नजिक पुग्न थालेको महसुस भएको छ । सातै प्रदेशमा प्रदेश स्तरीय कार्यालयको व्यवस्था भएबाट पाठकसँग अझ नजिकिन थालेको अनुभूत भएको छ । सातै प्रदेशका सरकार र बुद्धिजीवीसँग पटकपटक गरिएका अन्तक्र्रियाबाट प्राप्त सुझावका आधारमा गरिएका सुधार पनि सार्वजनिक भइरहेका छन् ।
वि.सं. २०७३ मा नेपाल सरकारले गोरखापत्र प्रकाशन भएको ऐतिहासिक दिनलाई स्मरण गरेर राष्ट्रिय पत्रकारिता दिवसका रूपमा मनाउन सुरु गरेको छ । उक्त दिन सञ्चार तथा प्रविधि मन्त्रालयले पत्रकारिता क्षेत्रमा महìवपूर्ण योगदान पु¥याएका पत्रकारलाई नगद राशिसहित राष्ट्रिय पत्रकारिता पुरस्कारले सम्मान गर्ने गरेको छ । यसैगरी गोरखापत्र संस्थानले पनि छापा पत्रकारितामा उल्लेखनीय योगदान पु¥याउने एक पत्रकारलाई नगद राशिसहित गोरखापत्र राष्ट्रिय पत्रकारिता पुरस्कार अर्पण गर्दै आएको छ ।
नेपाली पत्रकारिताको इतिहास एक शताब्दी पार गरिसक्दा पनि आफ्नो मौलिक पत्रकारिता दिवस हुनसकेको थिएन । यही कारण विश्व प्रेस स्वतन्त्रता दिवसको दिन मनाउने गरिएको थियो । त्यसैले वैशाख २४ गतेलाई राष्ट्रिय पत्रकारिता दिवस गोरखापत्रका लागि मात्र नभएर सम्पूर्ण पत्रकार र पत्रकारिता क्षेत्रका लागि विशेष दिन र गौरवको दिन बनेको छ ।
यसैगरी नागरिकको समाचारमूलक तस्बिर वि. सं. १९८४ वैशाख १३ गते गोरखापत्रमा पहिलोपटक प्रकाशित भएको थियो । वीरगञ्ज निवासी १२ वर्षीया सूर्यकुमारी श्रेष्ठले चन्द्रकामधेनु चर्खाद्वारा धागो कातिरहेको तस्बिर नै समाचारमूलक पहिलो मानिएकाले वैशाख १३ गतेलाई फोटो पत्रकार सङ्घले फोटो पत्रकारिता दिवस मनाउँदै आएको छ । विश्वमा पत्रकारिताको इतिहास सुरु भएको करिब तीन सय वर्षपछि नेपालमा गोरखापत्रको प्रकाशन भएको भए पनि दक्षिण एसियाका छवटा पुराना अखवारमध्ये गोरखापत्र पर्न सकेकोे छ । यसरी गोरखापत्रको प्रकाशनले नेपाली पत्रकारिताको क्षेत्रमा मात्र नभएर दक्षिण एसियाका साथै अन्य इतिहास पनि निर्माण गर्दै गएको देखिन्छ ।
इतिहासदेखि कमाउँदै आएको विश्वास कायम राख्दै समयसापेक्ष रूपमा पाठकको मन जित्ने अखवार बन्न गोरखापत्रले आफैँसँग प्रतिस्पर्धा गर्ने गरेको छ । यही क्रममा समाचार, विचार र अन्य संयोजन प्रभावकारी बनाउने काम गरेको छ । अखवारको साजसज्जामा सुधार गरिएको छ । कागजको गुणस्तर वृद्धि गरिएको छ । समावेशी बनाउन जोड दिइएको छ । आवाजविहीनको आवाज बन्ने प्रयासमा लागिरहेको छ । समसामयिक घटना वा सन्दर्भलाई लिएर गोरखापत्र संवाद, स्थलगत अनुगमन, साक्षात्कार, बहस जस्ता स्तम्भ साप्ताहिक रूपमा प्रकाशन गरेर पाठकसँग निरन्तर नजिकिने प्रयास गरिरहेको छ ।
गोरखापत्रले नेपाली पत्रकारिताको इतिहास सुरु गरेको, सोही दिनमा राष्ट्रिय पत्रकारिता दिवस मनाइएको, गोरखापत्रमै समाचारमूलक तस्बिर छापिएको दिनलाई फोटो पत्रकारिता दिवस मानिएको ऐतिहासिक गौरव कायम राख्दै सत्य र विश्वसनीय पत्रका रूपमा गोरखापत्र समाजमा स्थापित भएकोमा कसैको दुईमत छैन । त्यसैले गोरखापत्रलाई वर्तमानको दृष्टिले मात्रै मूल्याङ्कन गर्नु सर्वथा अन्याय हुने कसैले बिर्सनुहँुदैन ।
गोरखापत्र सधैँ राज्य र जनताको हितका लागि प्रकाशित हुने भएकाले अन्य प्रकाशन गृहले जस्तो नाफा र घाटाको हिसाबकिताब गर्दैन । यही कारण व्यावसायिक बन्ने नाममा आजसम्म कसैसँग प्रतिस्पर्धा गर्नुपरेको छैन । पत्रकारिताको धर्ममा विचलित हुनुपरेको छैन । पाठकको विश्वासमा घात भएको छैन । राज्य र पाठकप्रतिको जिम्मेवारीले गर्दा गोरखापत्र सधैँ विश्वासको पत्र बनेको छ । यो नै गोरखापत्रको परिचय र प्रतिष्ठा हो ।