दीपक ज्ञवाली
बुटवल,वैशाख २६ गते । कपिलवस्तुमा बिहीबार कारोना संक्रमण पुष्टि भएका दुइ युवालाई थप उपचारका लागि शुक्रबार बिहान बुटवल ल्याइएको छ । उहाँहरूको उपचार अब बुटवलस्थित कोरोना बिशेष अस्थायी अस्पतालमा हुंनेछ । शुरुमा उहाँहरूलाई मनो परामर्श दिईने अस्पतालले जनाएको छ ।
मायादेवी गाउँपालिकाका वार्ड नम्बर २ का १६ र २२ का ती युवा एकै परिवारका हुनुहुन्छ । मुम्वइमा रोजगारीका लागि गएका उहांहरु वैशाख २३ गते राति साढे ११ बजे चाकर चौराहस्थित सीमाबाट लुकेर नेपाल प्रवेश गरेको पुष्टि भएको छ । उहाँहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
सामान्य ज्वरोसँगै र टाउको दुखेपछि ती युवालाई प्राथमिक उपचार गरिएको थियो । २४ गते उहाँहरुसहित ६५ जनाको स्वाब संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएको थियो । तीमध्ये विहीबार दुई जनामा कोरोना पोजिटिभ देखिएको थियो ।
कपिलबस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलका अनुसार अहिले जिल्लामा प्रशाशन, स्वास्थ्यकर्मी सहितलेकन्ट्याक्ट ट्रेसिङको काम पनि भइरहेको छ ।
(नोटःप्रशासनले उपलब्ध गराएको प्रारम्भिक सूचनामा संक्रमित युवा दश दिनअघि नेपाल भित्रिएको जानाएको सोही आधारमा यस अघि समाचार दिइएकोमा अहिले प्रशासनले वैशाख २३ गते भित्रिएको पुष्टि गरेकोले सँच्याइएको छ ः आदरणीय पाठकमा पर्न गएको असुविधकालागि क्षमापार्थी छौं ः सम्पादक)