माला कर्ण
सप्तरी, वैशाख २६ गते । सप्तरीको कोशी ब्यारेज स्थित क्वारेन्टाइनबाट १९ जना भारतीय नागरिक फरार भएका छन् । हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्वर १ कोसी ब्यारेजको कोसी निम्न माध्यमिक विद्यालयस्थित रहेको क्वारेन्टाइनबाट उनीहरु भएका हुन।
चौबीसै घण्टा प्रहरीको कडा निगरानी रहेको क्वारेन्टाइनबाट उनीहरु फरार हुँदा प्रहरी प्रशासन बेखबर बनेको छ। त्यहाँ सशस्त्र प्रहरी र नेपाल प्रहरीले संयुक्त क्वारेन्टाइनमा सुरक्षा दिँदै आएको स्थानीय बासीको भनाइ छ । नेपालको विभिन्न भागबाट घर जादै गरको अवस्थमा उनीहरुलाई दुई सातादेखि क्वारेन्टाइनमा राखिएको थियो । उनीहरुलाई खान बस्ने व्यवस्था हनुमाननगर कंकालिनी नगरपालिका कार्यालयले गर्दै आइरहेको थियो ।
गएराति कोठामा रहेका १९ जना एकैचोटि फरार भएको बिहीबार बिहानमात्र थाहा पाए । फरार भएका सबैका समानहरु कोठामै छन् । क्वारेन्टाइबाट फरार भएकाहरु कहाँ गएको भने घटना शंकास्पद रहेको स्थानीयहरुको भनाइ रहेको छ ।
फरार भएका १९ जना सप्तरीको कुनै गाउँमा नै लुकेको हुनसक्ने स्थानीहरू शंका गर्छन् । उनीहरुको समानय ज्वरो नाप्ने काम माात्र भएको स्वास्थ्यकर्मीले बताएका छन् । उनीहरुको कोरोना परीक्षण गरिएको थिएन । यसले गर्दा सप्तरीमा कोरोनाको जोखिम बढ्न गएको स्थानीयले बताएका छन् ।
हनुमाननगर कंकालिनी नगरपालिकाका नगरप्रमुख शैलेशकुमार साहले आफूले क्वारेन्टाइनमा खानाको प्रबन्ध र स्वास्थ्यसम्बन्धी विषय मात्र हेर्ने गरेकाले यसबारे सुरक्षाकर्मीहरुले नै भन्न सक्ने बताउनुभयो ।
सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक तिलक भारतीले बिहीबार बिहान गन्दा ७२ जनामध्ये ५३ जना मात्र पुगेपछि मात्र १९ जना नरहेको थाहा भएको बताउनुभयो । उक्त क्वारेन्टाइनस्थलको सुरक्षा गरिरहेका इलाका प्रहरी कार्यालय भारदहका प्रहरी नायव निरीक्षक सागिर राइनसित सम्पर्क हुन सकेन । स्रोतका अनुसार प्रमुख राइनसहित पाँच प्रहरी शुक्रबार जिल्ला प्रहरी कार्यालय तानिएका छन् ।
यता सप्तरीका प्रमुख जिल्ला अधिकारी सुनिल खनालले समेत यसबारे कुनै प्रतिक्रिया जनाउन चाहनुभएन । आफ्नो कार्यालयको प्रवक्तासँग प्रतिक्रिया लिन प्रजिअ खनालले संचारकर्मीहरूलाई सुझाव दिनुभयो । यद्यपी जिल्ला प्रशासन कार्यालयका प्रवक्ता आनन्द ठाकुरले यसबारे आफूलाई खासै जानकारी नरहेको भन्दै सप्तरीका प्रहरी प्रमुखसँग प्रतिक्रिया लिन बताउनुभयो।
सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्ण प्रसाईसँग यसबरे सोध्दा उहाँले पनि खुलेर कुरा गर्न चाहनुभएन।