गोरखापत्र अनलाइन
काठमाडौ, वैशाख २७ गते । राष्ट्रपति विद्यादेवी भण्डारी तथा चीनका राष्ट्रपतिबीच केही दिनअघि भएको संवादअनुसार चीन सरकारले अनुदानमा दिएको स्वास्थ्य सामाग्री बोकेको जहाज नेपाल आइपुगेको छ । चीन सरकारको सहयोग मार्फत एक जहाज स्वास्थ्य सामाग्री शनिबार काठमाडौँ आइपुगेको र अर्काे जहाज आइतबार आइपुग्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । चीन सरकारको सहयोगमा स्वास्थ्य सामाग्री नेपाल आएसँगै अब कोरोनाको परीक्षणमा सामग्रीको अभाव नहुने र परीक्षणको दायरा समेत बढ्ने स्वास्थ्य मन्त्रालयको दावी छ । त्यस्तै नेपाल सेनाले खरिद गरेको स्वास्थ्य सामाग्री लिन नेपाल एयरलाइन्सको वाइडबडी चीन जाँदैछ ।
शनिबार र आइतबार ४० हजार थान पीसीआर किट, ८ लाख थान सर्जिकल मास्क, ८ लाख थान डिस्पोजेबल मास्क र एन ९५ मास्क २० हजार थान र चस्मा १० हजार थान आउने स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । उहाँले प्रभावित क्षेत्रमा पीसीआर परीक्षण बढाउने र एक घर एक परीक्षणको कुरा सही नभएको बताउनुभएको छ । एकपटक परीक्षण गरेर सधैँलाई नहुने भएकाले शंकास्पद र ट्रेसिङमा आएकाको परीक्षण गरिने उहाँले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभएको छ ।
नेपालबाट अन्तराष्ट्रिय उडान भर्ने हिमालय एयरलाइन्सले चीनको छोङछिङबाट अत्यावश्यक स्वास्थ्य सामग्री ल्याएको हो । हिमालयको एयरबस ३२०–२१४ कलसाइन नाइन एएलडब्लु कार्गो जहाज शनिबार नेपालमा अवतरण गरेको हो ।
जहाजबाट छ हजार ८९२ केजी स्वास्थ्य सामग्री ल्याइएको विमानस्थलले जनाएको छ । आजै नेपाल वायुसेवा निगम नेपाल एयरलाइन्सको वाइडबडी जहाजले ग्वान्जाओमा चार्टर्ड उडान गर्दैछ । ग्वान्जाओबाट स्वास्थ्य सामग्री ल्याउनका लागि नेपाल एयरलाइन्स त्यसतर्फ जान लागेको हो । सो जहाज नेपाली सेनाले चाटर्ड गरेको बताइएको छ ।
त्यसैगरी हिमालय एयरलाइन्सको न्यारोबडी जहाज पनि आजै छोङछिङ उड्नेछ । यी दुवै जहाज कार्गो चार्टर्ड उडान हुन् । शनिबार आएको स्वास्थ्य सामाग्री नेपाल सरकारलाई चीन सरकारले अनुदानमा उपलब्ध गराएको हो ।