logo
२०८१ मंसिर १२ बुधवार



उदाहरणीय काम: क्वारेन्टाइनमा बसेकालाई मनोपरामर्श कक्षा सञ्चालन

फिचर |


उदाहरणीय काम: क्वारेन्टाइनमा बसेकालाई मनोपरामर्श कक्षा सञ्चालन


मुरारी अधिकारी

धादिङ, वैशाख ३० गते । क्वारेन्टाइनमा बसेकाहरूलाई घर फर्किदा कुनै मानसिक चिन्ता नपरोस् भन्ने उद्धेश्यले पालिकाले मनोपरामर्श कक्षा सुरु गरेको छ । धादिङ जिल्लाको उत्तरवर्ती खनियाँबास गाउँपालिकाको क्वारेन्टाइनमा रहेका १ सय ८० जनामध्ये १ सय ५४ जना घर फर्किएका छन् । घर फर्किनुअघि उनीहरुलाई मनोपरामर्श कक्षामा समावेश गराइएको थियो ।

महिना दिनसम्म लकडाउन र त्यसपछि गाउँकै क्वारेन्टाइनमा रहनु परेकाले स्थानीयलाई कुनै मनोसामाजिक समस्या नहोस् भनेर गाउँपालिकाले मनोसामाजिक परामर्श कार्यक्रम चलाएको हो । यसैगरि क्वारेन्टाइनमा रहेकालाई आरडिटी परीक्षण गरि निरोगिताको प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।

गाउँपालिकाले काठमाडौं र पोखरामा रोजगारी र अध्ययनको लागि पुगेका र लकडाउन लम्बिएपछि समस्यामा परेका आफ्ना नागरिकहरुलाई गाउँ फिर्ता गरि दुई सातासम्म क्वारेन्टाइनमा राखेको थियो । किट अभावको कारण प्रत्येक व्यक्तिलाई आरडिटी परीक्षण गर्न नसकिएपनि प्रत्येक समूहमा एकदुई जना छनोट गरीआरडिटी परीक्षण गरिएको उपाध्यक्ष योमाया तामाङले जानाकारी दिनुभयो । परीक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ देखिएपछि घर फर्काइएको थियो । काठमाडौंमा महिना दिनसम्म लकडाउनमा थुनिएर समस्यामा परेकाहरुले गाउँ फर्किएर क्वारेन्टिनमा बस्दै स्वास्थ्य प्रमाणपत्र लिएर घर फर्किन पाएकोमा खुसी व्यक्त गरेका छन् ।

खनियाँबास गाउँपालिकाले शहरको बन्दाबन्दीमा पीडा भोगेका आफ्ना नागरिकलाई गाउँसम्म त ल्यायो नै, उनीहरूलाई सुरक्षित क्वारेन्टिनमा राख्ने व्यवस्था समेत मिलायो । यसो गर्दा शहरबाट गाउँ फर्किने र गाउँमै रहेकाहरुको बीच रहेको कोरोना भाइरसको त्रासलाई न्युनीकरण गर्ने प्रयास गर्यो । शहरबाट फिर्ता भइ क्वारेन्टाइनमा रहेकाहरूले दुइ सातासम्म शारीरिक व्यायम गर्ने, साथीहरुसँग पालैसँग नाच्नेगाउने र कविता सुन्नेसुनाउने गरेर रमाइलोसँग समय बिताएको क्वारेन्टाइनबाट बाहिर आएपछि स्थानीय बुद्धिमाया गुरुङले अनुभव सुनाउनुभयो ।

उक्त गाउँपालिकाले नौ वटा क्वारेन्टाइन निर्माण गरी जिल्लामै पहिलो पटक शहरबाट फिर्ता ल्याइएका आफ्नो नागरिकालाई अनिवार्यमा क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाएको थियो । काठमाडौंबाट गाउँ फिर्ता ल्याइएकाहरुलाई घर फिर्ता पठाइए पनि पोखराबाट गाउँ ल्याइएका २६ जना क्वारेन्टिनमै रहेका छन् । आरडिटी परिक्षण, मनोपरामर्श कक्षको मात्र होइन क्वारेन्टिनमा स्थानीयलाई राख्दाको सबै खर्च गाउँपालिकाले नै व्यहोरेको छ । विपदमा स्थानीय बासिन्दालाई सहयोग गर्न पाएकोमा आफूहरूलाई खुशी लागेको खनियाँबास गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङले बताउनुभयो ।

धादिङजिल्लाभर पाँच सय १२ जना क्षमताको क्वारेन्टिन निर्माण गरिएको छ । अहिले नीलकण्ठ नगरपालिकाको क्वारेन्टिनमा चारजना सहित धादिङमा क्वारेन्टाइनमा बस्नेको संख्या ३० मात्र रहेका छन् । यसैगरी धादिङमा अहिलेसम्म सात सय आठ जनाको आरडिटी परिक्षण गरिसकिएको स्वास्थ्य कार्यालय धादिङका विपद् सम्पर्क व्यक्ति दीपक अछामीले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?