राँझा, वैशाख ३१ गते । सीमावर्ती भारतीय क्वारेन्टाइनमा रहेका कोरोना सङ्क्रमित एक युवक फरार भएपछि बाँकेको नरैनापुर गाउँपालिकामा उच्च सतर्कता अपनाइएको छ । भारतको श्रावस्ती जिल्लास्थित सिरसिया क्वारेन्टाइनमा रहेका नरैनापुर ३ बहाउपुर्वा गाउँका युवक क्वारेन्टाइनबाट सोमबार फरार भएपछि नेपाल भित्रिएर गाउँमा आएको हुनसक्ने आशङ्काले स्थानीयवासीलाई सजग बनाई खोजतलास थालिएको नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले बताउनुभयो ।
पन्ध्र दिनदेखि भारतको श्रावस्तीस्थित सिरसिया क्वारेन्टाइनमा रहँदैआएका नरैनापुर–३ बहाउपूर्वा गाउँका तीन युवामा परीक्षणका क्रममा लखनउस्थित प्रयोगशालाले कोरोना भाइरस पुष्टि गरेको नरैनापुर ३ का वडाध्यक्ष राजकुमार मौर्यको भनाइ छ । उहाँका अनुसार सङ्क्रमित तीनमध्ये एक युवक सोमबार बिहानदेखि क्वारेन्टाइनबाट फरार भएपछि नेपाल–भारत अवैध नाकाबाट प्रवेश गरी लुकिछिपी गाउँ फर्किने आशङ्का बढेकाले वडामा सजगता अपनाइएको छ ।
उन्नाइस, २४ र ३५ वर्षीय नेपाली युवा एक हप्ताअघि पनि क्वारेन्टाइनबाट भागेर घरमा आइबसेको पाइएपछि भारतकै क्वारेन्टाइनमा बस्न पठाइएको थियो । नेपाल–भारत मुख्य नाका जमुनाहमा आवतजावत ठप्प पारिएपछि नरैनापुर क्षेत्रमा भारतबाट लुकिछिपी नेपाल प्रवेश गर्ने क्रम बढ्दो छ ।