logo
२०८१ मंसिर १२ बुधवार



सङ्क्रमित बढ्दै गएपछि प्रदेश ५ मा अन्य अस्पताल खाली गरिँदै

फिचर |
पढ्नै पर्ने |


सङ्क्रमित बढ्दै गएपछि प्रदेश ५ मा अन्य अस्पताल खाली गरिँदै


दीपक ज्ञवाली
बुटवल,जेठ १ गते । दिनदिनै कोरोना सङ्क्रमितहरू बढ्दै गएपछि प्रदेश ५ मा उपचार र व्यवस्थापनका वैकल्पिक उपायको खोजी हुन थालेको छ । भएका अस्पतालहरूको क्षमता विस्तार गर्ने, थप अस्पताल बनाउने र अन्य अस्पतालहरूलाई खाली गराउने जस्ता उपाय अपनाउन थालिएको छ ।

प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालका अनुसार बुटवलमा रहेको कोरोना विशेष अस्पताललाई क्षमता विस्तार गरेर दुई सय बेड बनाउने प्रकृया शुरु भएको छ । बाँकेको कोरोना अस्पतालमा पनि बेड बढाइँदैछ भने अहिलेसम्म आशङ्का गरिएका बिरामी मात्र राखिएको दाङ, बेलझुण्डीको कोरोना विशेष अस्पतालमा पनि अब उपचार थालिनेछ । उहाँका भनाइमा अब दाङ र त्यसपश्चिमका सङ्क्रमितलाई बाँके र दाङका अस्पताल र दाङपूर्वका जिल्लाका सङ्क्रमितलाई रुपन्देहीमा उपचारको व्यस्थापन हुँदैछ ।

अस्पतालहरूको क्षमताभन्दा धेरै बिरामी थपिने सङ्केत भएपछि प्रदेश सरकारले अन्य प्रकृतिका अस्पतालहरूमा पनि कोरोनाको उपचार गराउने व्यवस्था थालिएकाे छ । त्यसका लागि भैरहवाको भीम अस्पतालमा रहेका अन्य प्रकृतिका बिरामीलाई भैरहवाकै मेडिकल कलेजमा सारिएको छ । अब भीम अस्पतालमा पनि कोरोना सङ्क्रमितको उपचार हुनेछ ।
प्रदेशको कोरोना विपद्  व्यवस्थापन केन्द्रले आवश्यकताअनुसार नेपालगञ्जका नेपाली सेना र प्रहरीका अस्पताललाई पनि कोरोना उपचारमा प्रयोग गर्न सकिने यसअघि नै निर्णय गरेको थियो ।

बुटवलको कोरोना विशेष अस्पतालमा ३६ जनाको उपचार भइरहेको छ । बाँके र बर्दियाका २६ जनालाई नेपालगन्जमा उपचार गरिएको छ । रुपन्देही, कपिलवस्तु तथा नवलपरासी पश्चिमका ६८ जनालाई रुपन्देहीमा व्यवस्थापन गरिँदै छ । भैरहवाको भीम अस्पतालमा २३ जनालाई व्यवस्थापन गरिँदै छ ।
अहिलेसम्म प्रदेशमा ९४ जनामा सङ्क्रमण पुष्टि भैसकेको छ । स्वाब सङ्कलन गरिएका ४ हजार १ सय २० मध्ये ६ सय ४९ जनाको परीक्षण नतिजा आउन बाँकी छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?