logo
२०८१ मंसिर १२ बुधवार



बाँकेको नरैनापुर नाकाबाट भित्रिएका ४५० जनालाई क्वारेन्टाइनमा राखियो

फिचर |
प्रदेश |


बाँकेको नरैनापुर नाकाबाट भित्रिएका ४५० जनालाई क्वारेन्टाइनमा राखियो
भारतबाट अवैध रुपमा छिरेपछि नरैनापुरमा क्वारेन्टाइनमा राखिएकाहरू । तस्बिरः सिराज खान, नेपालगञ्ज


सिराज खान । गोेविन्द शर्मा
नेपालगञ्ज, जेठ १ गते । लकडाउन गरी नेपाल–भारत सीमानालाई पूर्ण रुपमा सिल गरिएपनि सीमापारीबाट अवैध रुपमा भित्रिने क्रम नरोकिँदा बाँकेमा काेराेनाभाइरस सङ्क्रमणकाे जोखिम दिनदिनै बढ्दै गएको छ ।
भारतका विभिन्न सहरमा रहेका नेपालीरूलाई विशेष रेल मार्फत सीमापारीसम्म पुर्याएपछि अहिले सीमापारीबाट सयौँको सङ्ख्यामा नेपाली भित्रिरहेका छन् ।
यसरी जिल्लाको पूर्वीनाका नरैनापुर गाउँपालिका क्षेत्रबाट भित्रिएका ४४७ जना नेपाली नागरिकलाई क्वारेन्टाइनमा राखिएको नरैनापुर गाउँपालिकाका अध्यक्ष ईस्तियाक अहमद शाहले बताउनुभयो ।
उहाँले नरैनापुरका विभिन्न नाकाबाट भित्रिएका ४४७ जनालाई गाउँपालिका भित्रका विभिन्न ८ वटा क्वारेन्टाइनमा राखिएको बताउनुभयो । तीमध्ये ३७३ जना बुधवार मात्र नेपाल भित्रिएका थिए भने अन्य ७४ जना यसैसाता भित्रिएका थिए ।
भारतबाट भित्रिने क्रम बढेकोले अरु पनि कतै रहेको हुनसक्ने हुँदा उनीहरूकाे पनि खोजी भैरहेको उहाँले जनाउनुभयो । यसरी सीमा प्रवेश गरेर भित्रिएका सबै नरैनापुरबासी हुन् । भारतको मुम्बई लगायतका ठाउँमा उनीहरू रोजगारी गर्न पुगेका थिए । एकैपटक ठूलो सङ्ख्यामा भारतबाट फर्केर आएपछि क्वारेन्टाइनमा व्यवस्थापन गर्न समस्या भइरहेको अध्यक्ष शाहको गुनासो छ ।
उहाँले एकैपटक यति धेरै जनालाई क्वारेन्टाइनमा राख्नुपर्दा व्यवस्थापन गर्न समस्या भैरहेको बताउनुभयो । यसका लागि संघ र प्रदेश सरकारको सहयोग आवश्यक रहेको जनाउँदै उहाँले तत्काल बजेटको व्यवस्था गर्न माग पनि गर्नुभयो ।
भारतबाट आउनेहरू बढ्दै गएपछि गाउँपालिकाले विभिन्न वडामा रहेका सामुदायिक विद्यालय र मदरसामा क्वारेान्टाइन स्थापना गरेको छ ।
स्थानीय जयकिसान माध्यामिक विद्यालय, दीपेन्द्र प्राथमिक बिद्यालय, नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, आदर्श माध्यामिक विद्यालय, नेपाल राष्ट्रिय प्राथमिक विद्यालय लगायतमा क्वारेन्टाइन स्थापना गरिएको छ । क्वारेन्टाइनमा राखिएका व्यक्तिकाे पिसिआर विधिमार्फत स्वाब सङ्कलन पनि शुरु गरिएको अध्यक्ष शाहले बताउनुभयो ।
यसैबीच भारतीय सीमासँगै जोडिएको डुडुवा गाउँपालिका अन्तर्गतका नाकाबाट पनि ७० जना नेपाली प्रवेश गरेका छन् । उनीहरू सबैलाई क्वारेन्टाइनमा राखिएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभएको छ ।
दुई दिनको अवधिमा डुडुवा गाउँपालिकामा अवैध बाटोबाट ७० जना प्रवेश भएर आएको तथा उनीहरूलाई क्वारेन्टाइनमा लगेर राखिएको उहाँले बताउनुभयो ।
यस्तै खजुरा गाउँपालिकाअन्तर्गत वडा नम्बर १, राधापुरको अवैध नाकाबाट चारजना नेपाली पनि भित्रिएका छन् ।
खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले नाकाबाट प्रवेश भएर आएका चार जनालाई स्वास्थ्यकर्मीको निगरानीमा होम क्वारेन्टाइनमा बसाएको बताउनुभयो । उता, जिल्ला स्वास्थ्य कार्यालय, बाँकेले जिल्लामा हाल क्वारेन्टाइनको सङ्ख्या बढेर २५ पुगेको जनाएको छ ।
अहिले ती सबै क्वारेन्टाइनमा गरेर ७४८ जनालाई राखिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।
उहाँले बुधवार नरैनापुरबाट ४५, भेरी अस्पतालबाट ३४, मेडिकल कलेजबाट १ गरी ८० जनाको स्वाब सङ्कलन गरिएकोमा परिक्षण भैरहेको बताउनुभयो ।
उहाँका अनुसार हालसम्म बाँकेमा पीसीआरबाट १ हजार ८४ जनाको कोरोना परिक्षण गर्दा ९७६ जना नेगेटिभ र २५ जना पोजिटिभ देखिएको तथा ८३ वटा स्वाब परीक्षणको क्रममा रहेको बताउनुभयो ।
पत्रकारलाई मास्क, स्यानिटाइजर र सिम वितरण
नेपालगञ्ज उपमहानगरपालिकाले फ्रन्टलाइनमा रहेर रिपोर्टिङ गरिरहेका बाँकेका नेपागञ्जका पत्रकारहरूलाई मास्क, स्यानिटाइजर र सिम वितरण गरेको छ ।
नेपालगञ्जमा रहेर विभिन्न मिडियामा काम गर्ने ६५ जना पत्रकारलाई जनही पचास वटा मास्क, दुई बोतल स्यानिटाइजर र एनसेलको हिरो सिम वितरण गरिएको हो ।
पत्रकारहरूलाई नेपालगञ्ज उपमहानगरका मेयर धवल शमसेर राणा र उपपमेयर उमा थापामगरले ती स्वास्थ्य सामाग्री वितरण गर्नुभएको हो ।
यो महामारीको बेलामा पेशागत दायित्व पूरा गर्न सहज होस् भन्ने उदेश्यका साथ सो सामग्री वितरण गरिएको नेपालगञ्ज उपमहानगरका मेयर राणाले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?