logo
२०८० चैत्र १६ शुक्रवार



भारतबाट सातसय नेपाली भित्रिए, चौधसय भारतीय बाहिरिए

पढ्नै पर्ने |
प्रदेश |


भारतबाट सातसय नेपाली भित्रिए, चौधसय भारतीय बाहिरिए


सिराज खान
नेपालगञ्ज, जेठ २ गते । कोरोनाभाइरस विरुद्धको अभियानका क्रममा लकडाउन गरेर नेपाल भारत सिमाना सिल गरिएपछि धेरै नेपाली सीमापारि फसेको र धेरै भारतीय नागरिक सीमावारि फसेको हुँदा एक सहमति गरेर दुवै देशका नागरिकलाई आआफ्नो देश पठाइएको छ ।

बाँके प्रशासन र भारतको बहराईच जिल्ला प्रशासनबिच भएको सहमतिअनुसार दुवै देशका नागरिकलाई आआफ्नो देशमा पठाइएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले बताउनुभयो ।
उहाँका अनुसार नेपाल भारत सिमानाको जमुनाह नाकाबाट बुधबार राति ११ बजेसम्म गरेर ४७ जिल्लाका ६८७ नेपालीलाई नेपाल भित्र्याइएको छ भने नेपालबाट एक हजार ४८३ भारतीयलाई भारत पठाइएको छ ।

नेपाल ल्याइएकाहरूमा भारतका विभिन्न सहरमा काम गर्न गएकाहरू फर्किएर आउँदा सीमापारि क्यारेन्टाइनमा राखिएका लगायत रहेको र भारत पठाइएकाहरूमा केही क्वारेन्टाइनमा राखिएकालगायत अधिकांश नेपालगञ्जमा आफन्तको घरमा फसेकाहरू रहेको सहायक प्रमुख जिल्ला अधिकारी प्याकुरेलले बताउनुभयो । नेपाल भित्रिएकाहरूलाई बुधबार रातदेखि नै दशगजा क्षेत्रमा राखिएको छ । शुक्रबार बिहानैबाट उनीहरूको आरडीटी परीक्षण भैरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

याे पनि हेर्नुहाेस्...

सीमामा कर्णालीवासीको पीडा : ४५ दिनदेखि अलपत्र छौँ


आरडीटी परीक्षण गरेर बाँकेका नागरिकलाई आवश्यक परेमा क्वारेन्टाइनमा राख्ने नत्र सबैलाई घर पठाइने र बाहिरी जिल्लाका नागरिकलाई उनीहरूकै जिल्लामा पठाएर आवश्यकताअनुसारको व्यवस्थापन गरिने बाँकेका डिएसपी शिवबहादुर सिंहले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रवक्तासमेत रहनुभएका डिएसपी सिंहले अहिले तीव्र गतिमा आरडीटी परिक्षण भइरहेको बताउनुभयो । नेपालबाट भारत पठाइएका भारतीय नागरिकलाई पनि त्यहाँको प्रशासनले १४ दिन क्वारेन्टाइनमा राखेको जनाइएकाे छ ।

लकडाउन गरेर नाका बन्द गरिए पनि मुख्य नाकाबाहेकका भित्री नाकाहरूबाट भने मानिसहरू लुकीछिपी निरन्तर ओहोरदोहोर गरिरहेको गुनासाहरू आइरहेका छन् । भारतमा रेल सञ्चालनमा आएपछि विभिन्न प्रदेशमा रहेकाहरूलाई आआफ्नो गन्तव्यमा पठाउने काम सरकारले गरिरहेको छ ।

भारतको मुम्बई गान्धीनगर लगायतबाट बाँकेको नरैनापुर गाउँपालिकामा पाँ सय बढी र डुडुवा गाउँपालिकामा ६६ जना भित्रिएकोले उनीहरूलाई क्वारेन्टाइनमा राखिएको छ ।
क्वारेन्टाइनमा राखिएकाहरू घर फर्किसकेपछि यसअघि खाली भैसकेका बाँकेका विभिन्न क्वारेन्टाइनमा अहिले भारतबाट भित्रिएका नागरिकलाई राख्ने तयारी भैरहेकोे छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?