जनार्जन खत्री
सर्लाही, जेठ ३ गते । सर्लाहीमा दोस्रो कोरोना सङ्क्रमित फेला परेको हरिपूर्वा नगरपालिका क्षेत्रमा अहिले पनि खुल्लमखुल्ला मानिसहरू हिँडडुल गरिरहेका छन् । जनप्रतिनिधि र सुरक्षाकर्मीले अत्यावश्यक काम पर्दाबाहेक घरबाहिर ननिस्कन आग्रह गरेपनि स्थानीय बासिन्दाले अटेर गरेर जथाभावी हिँडडुल गर्न छाडेका छैनन् । यसले थप मानिसमा सङ्क्रमण फैलने जोखिम बढेको भन्दै स्थानीय अगुवाहरुले चिन्ता व्यक्त गरेका छन् ।
सङ्क्रमित भेटिँदा सूरुमा केही समय स्थानीय बासिन्दा सचेत भएजस्तो देखिए पनि अहिले भने चौक, चौतारो तथा बजारमा मानिसको भिडभाड देखिएको छ भने मनपरी रुपमा मोटरसाइकल चलाउने क्रम जारी रहेको स्थानीय युवा मुकेश झाले जानकारी दिनुभयो । पहिलेदेखि नै लकडाउनको पालना नभएको हरिपूर्वा क्षेत्रमा कोरोना सङ्क्रमित भेटिएपछि पनि जनमानसमा खासै प्रभाव परेकाे देखिँदैन ।
हरिपूर्वा नगरपालिकाका मेयर शियाराम रायले अशिक्षित समुदायको धेरै बसोबास रहेको नगरपालिकामा लकडाउन कार्यान्वयन गराउन चूनौती भइरहेको स्वीकार गर्नुभएको छ । उहाँले सम्भव भएसम्म सबै माध्यमबाट स्थानीयलाई सचेत गराउने काम गरिरहेको बताउनुभयो ।
ईश्वरपुर नगरपालिकादेखि दक्षिण र भारतसँग सीमा जोडिएको पर्सा गाउँपालिकादेखि उत्तरतर्फ पर्ने हरिपूर्वा नगरपालिकाको वडा नं. ३, धनकौल पूर्वारीका ४५ वर्षीय एक मानसिक रोगका पुरुषमा गत मङ्गलवार कोरोना पुष्टि भएको थियो । उहाँको अहिले जनकपुरस्थित प्रादेशिक अस्पतालमा उपचार चलिरहेको छ ।
पुरुषमा सङ्क्रमण पुष्टि भएपछि उहाँका परिवारका सदस्य, सम्पर्कमा आएका व्यक्ति, केही छरछिमेकीसहित क्वारेन्टाइनमा रहेका ३० जनाको थ्रोट स्वाब अर्थात खकारको नमूना लिएर पीसीआर विधिबाट परीक्षणका लागि जनकपुर पठाइएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले बताउनु भएको छ ।
सर्लाहीमा अहिलेसम्म पूर्व धनकौलमा मानसिक सन्तुलन ठीक नरहेका एक पुरुष र पश्चिम धनकौलमा १४ वर्षीय बालकमा कोरोना पुष्टी भएको छ । पुरुषको जनकपुरमा र बालकको वीरगञ्जमा उपचार भइरहेको छ ।