भक्तिविलास पोखरेल
भुल्के (गाईघाट), जेठ ८ गते । घरको आँगनभन्दा बाहिर निस्किन नपाएको राजन राउतले ३५ दिन भयो । कोरोना भाइरस रोग (कोभिड–१९) सङ्क्रमणका कारण स्थानीय प्रशासनले पुरै गाउँ सिल गरेपछि चारैतिर सुरक्षाकर्मी छन् । आफ्नै सुरक्षका लागि भए पनि बन्दाबन्दी अब कठिन हुुँदै गएको उहाँ बताउनुहुन्छ ।
उदयपुरको त्रियुगा नगरपालिका वडा नं ३ भुल्के गाउँका ५० वर्षीय राउतले भन्नुभयो, “यसरी कुँजिएर घरभित्रै बस्नु पनि निकै ठूलो सास्ती खेप्नु जस्तै भएको छ” । नेपालमा पहिलोपल्ट २४ जना कोरोना भाइरसबाट सङ्क्रमित पुष्टि भएको भुल्के गाउँको जनजीवन बिस्तारै खुकुलो हुने आशा पलाएको स्थानीयवासीको भनाइ छ । ‘‘अब परीक्षणको नतिजाको प्रतीक्षा छ’’ उहाँले भन्नुभयो ।
गत वैशाख ५ गते यहाँको नुरी मस्जिदमा बस्दैआएका १२ जना मुस्लिम धर्म प्रचारक (जमाती) मा कोरोनाभाइरस सङ्क्रण भएको पाइएपछि स्थानीय प्रशासनले पुरै गाउँ सिल ग¥यो । सङ्क्रमण फैलिन नदिन कडा सुरक्षा घेरामा स्थानीयवासीलाई आआफ्नै घरआँगनमा मात्र सीमित राखेको छ । बन्दाबन्दीको कडाइका साथ परिपालना गरिएको छ ।
स्थानीयवासी गत चैत ११ गतेबाट गरिएको बन्दाबन्दीबाट घरभित्रै उकुसमुकुस भएर बसिरहेका थिए । तर बन्दाबन्दीको प्रभावकारी परिपालना सुरुका दिनमा नदेखिएको स्थानीयवासीको भनाइ छ । एकाएक आफ्नै टोलमा ठूलो सङ्ख्यामा कोरोना पोजेटिभ देखिएपछि भने भुल्के त्रस्त भयो । कोरोनाबाट ज्यानै पो जान्छ कि भन्ने आशङ्का उत्पन्न भयो । स्थानीय चक्रपाणि पोखरेल भन्नुहुुन्छ, ‘‘अब बाचिँदैन कि जस्तो हुन थालेको थियो ।’’
विभिन्न अडकलबाजी गर्नेहरूले चिन्ता अझ बढेको भन्दै पोखरेल थप्नुहुुन्छ, ‘‘सामाजिक सञ्जालमा त भुल्के बम नै भयो । तर अब बिस्तारै कुरा बुझ्न थालियो । आफैँ सचेत हुनुपर्ने रहेछ भन्ने चेत आएको छ । अब त कोरोनाभन्दा खेतीपातीको चिन्ता लागेको छ ।’’
कतिपयले जात र धर्मलाई जोडेर गाउँमा कोरोना भित्र्यायो भन्ने प्रचार गरेका र त्यसबाट आफूहरू झनै चिन्तित बनेकोमा अहिले त्यस्तो स्थिति नरहेको तथा सामाजिक सद्भावलाई खलबलिन नदिन सबै पक्षको उचित सहयोग भएकोले भुल्केको सामाजिक जीवन क्रमशः सामान्य हुँदै गएको स्थानीय अनिश मियाँकाे भनाइ छ ।
तरकारी उत्पादन गर्दै आएका भुल्केका किसान ढोढाई मियाँले भन्नुभयो, “शूरुमा त हामीले उत्पादन गरेको तरकारी, दुध बिक्री हुन पाएन । किनबेच नै ठप्प भयो । नजिकमा देख्दा र फोन गर्दासमेत सङ्क्रमित क्षेत्रको भनेपछि कोही पनि बोल्न चाहँदैन थिए तर अहिले त्यो स्थिति छैन र हाम्राे जनजीवन सामान्य हुँदै गएको छ ।”
स्थानीय प्रशासनका अनुुसार सिङ्गो भुल्के क्षेत्रमा थप सङ्क्रमण फैलिन नदिन अहिले पनि चौबीसै घण्टा सुरक्षाकर्मी परिचालन गरिएको छ । स्थानीयको सहयोगले कोरोना सङ्क्रमण पनि सन्तोषजनक रूपमा नियन्त्रणमा पनि आइरहेको जिल्ला प्रशासन कार्यालयको दावी छ ।
‘सङ्क्रमण नियन्त्रणमा आइरहेको छ तर पनि अब केही दिनमा त्यस क्षेत्रका करिब पाँच सय जनामा तेश्रोपटकको पिसिआर परीक्षण गर्ने योजना छ ’, प्रमुुख जिल्ला अधिकारी दीपककुमार पहाडी भन्नुहुन्छ । परीक्षणको पनि नतिजा ‘नेगेटिभ’ आएमा मात्रै भुल्के गाउँलाई सिलबन्दी मुक्त गरिने छ ।
सङक्रमित क्षेत्र नेपाली सेनाको १८ नं बाहिनी अड्डानजिकै करिब पाँचसय मिटरको दूरीमा छ । आउजाउका हिसाबले नजिकको बस्ती रहेकोले त्यहाँको सैनिक अड्डासमेत उच्च जोखिममा रहेको कतिपयको भनाइ थियो । ‘अहिले त्यस्तो कुनै आशङ्का छैन र समग्र भुल्के क्षेत्र अब सुरक्षित बन्दैछ । जनजीवन पहिलेकै जस्तो सामान्य अवस्थामा फर्किरहेको छ,’ बाहिनीका बाहिनीपति कृष्णप्रसाद सापकोटाले बताउनुभयो ।
स्थानीयको भनाइमा प्रशासन, त्रियुगा नगरपालिका, राजनीतिक दल तथा विभिन्न सामाजिक संघसंस्थाहरूले भुल्केको यो कठिन अवस्थामा सहयोग गरेका छन् । राहत पनि दिइएको छ तर सबैमा पहुुँच भने पुुग्न सकेन । ‘कतिलाई थाकमाथि थाक भयो तर कतिले एकपटक पनि मुस्किलले पाए,’ स्थानीय यदु ढकालको भनाइ छ ।
त्रियुगा नगरपालिकाका प्रमुख बलदेव चौधरी भने सङ्क्रमित क्षेत्र भुल्केमा ३१५ घरपरिवार घरबाहिर निस्कने अवस्था छैन । ‘दैनिक उपभोग्य वस्तुको आधारभूत सेवाहरू घरघरमै उपलब्ध गराएका छौँ,’ उहाँ दावी गर्नुहुन्छ । नगरपालिकाका अनुसार त्रियुगाकाे भुल्के क्षेत्रमा २६४ परिवारकाे मिश्रित बसोबास छ भने ५१ परिवार मुस्लिम समुदायको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख मोहनप्रसाद सुवेदीका अनुसार अहिलेसम्म उदयपुर जिल्लामा एकहजार ५४१ जनाको पिसिआर र ६७५ जनाको आरडिटी परीक्षण गरिएको छ । त्यसमध्ये भुल्के क्षेत्रका मात्रै ५८२ जनाको दोश्रोपटकसम्म पिसिआर परीक्षण गरिदा ३२ जनामा मात्र कोरोना पोजेटिभ पाइएको हो ।
उहाँका अनुसार भुल्केमा कोरोना पोजेटिभ भएकाहरूमध्ये हालसम्म २४ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् । बाँकीको विराटनगरस्थित कोरोना अस्पतालमा उपचार भइरहेको छ र उनीहरू पनि जटिल स्वास्थ्य समस्या छैन ।
अब केही दिनभित्रै भुल्के क्षेत्रका मात्रै करिब पाँचसय जनाको स्वाब परीक्षण गरिनेछ । त्यसको रिपोर्ट नेगेटिभ आएमा गाउँमा लगाइएको सिलबन्दी हटाइने स्वास्थ्य प्रमुख सुवेदीले जानकारी दिनुभयो ।