जनार्जन खत्री
सर्लाही, जेठ ११ गते । सर्लाहीको गोडैता नगरपालिकाले भारतबाट लुकीछिपी आइरहेका व्यक्तिहरूलाई अब भने क्वारेन्टाइनमा व्यवस्थापन गरेर राख्न नसकिने जनाएको छ ।
भारतीय सीमावर्ती क्षेत्रमा पर्ने सो नगरपालिकाले आइतबार सूचना निकालेर नगरभित्रका सबै क्वारेन्टाइनमा क्षमताभन्दा बढी व्यक्तिहरू भर्ना भइसकेकाले अब थप व्यक्तिहरूलाई भर्ना गर्न नसक्ने जनाएको हो । गोडैता नगरपालिकाले विभिन्न छ वटा विद्यालयमा निर्माण गरेको क्वारेन्टाइनमा आइतबार अपरान्ह सम्ममा १७१ जनालाई राखिएको छ ।
अझै पनि भारतबाट थप मानिस आइरहेकाले उनीहरूको व्यवस्थापन गर्न नसक्ने अवस्था आएको नगरप्रमुख देवेन्द्र यादवले बताउनुभयो ।
'हरेक क्वारेन्टाइन भरिभराउ भइसकेको छ, भारतबाट अझै पनि थप मानिस आइरहेका छन्', नगरप्रमुख यादवले गोरखापत्रसँग भन्नुभयो, 'अब आउनेहरुलाई क्वारेन्टाइनमा व्यवस्थापन गरेर राख्न सक्ने अवस्था नै छैन ।'
नगरप्रमुख यादवले पर्याप्त सुरक्षाकर्मी नहुँदा भारतबाट अवैध रुपमा आइरहेकाहरूलाई रोक्न र क्वारेन्टाइनको सुरक्षा गर्न समस्या भइरहेको गुनासो गर्नुभयो । गोडैता नगरपालिकामा मात्रै अहिलेसम्म २५ जनामा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ । भारतको मुम्बईबाट आएका सबैजसोमा सङ्क्रमण देखिएको नगरप्रमुख यादवको भनाइ छ ।
सङ्क्रमित बढ्दै गएपछि क्वारेन्टाइनमा खाना पकाउने मान्छेसमेत नपाइएको नगरप्रमुख यादवले बताउनुभयो । 'खाना पकाउन राखेकाहरू क्वारेन्टाइनमा जान तथा लुकीछिपी सीमामा आइपुगेकाहरूलाई उद्धार गर्न र सङ्क्रमितलाई अस्पताल पु¥याउन एम्बुलेन्स नै पाईन छाडेको छ', नगरप्रमुख यादवले भन्नुभयो, 'नगरपालिकाको तर्फबाट भ्याएसम्मको गरेकै हो, अब हात उठाउने अवस्था आएको छ ।'
क्वारेन्टाइनमा बसिरहेकाहरूले विभिन्न सेवा सुविधा मागेर हैरान पारेका नगरप्रमुख यादवले गुनासो गर्नुभयो । 'क्वारेन्टाइनमा बस्नेहरू बासमतीको चामल (भात) खुवाउ, समोसा खुवाउ, दुई हजार रुपियाँ भत्ता देउ भन्छन्', नगरप्रमुख यादवले प्रश्न गर्दै भन्नुभयो, 'यी सबै कहाँबाट व्यवस्था गरौँ, कि त मेरो जग्गै बेच्नुप-र्यो, चिउरा दालमोठ खुवाउन स्थिति पनि छैन । अहिलेसम्म त जसोतसो भात, दाल, तरकारी, अचार खुवाएकै छौँ ।'