logo
२०८१ मंसिर १२ बुधवार



एकातिर लकडाउनको पीडा, अर्कोतिर हात्ती आतङ्क

फिचर |
समाज |


एकातिर लकडाउनको पीडा, अर्कोतिर हात्ती आतङ्क



जयकृष्ण यादव
इनरुवा, जेठ १२ गते । दुई महिनादेखि कोरोनाको कहर र लकडाउनको पीडा छ, त्यसमाथि हजुर हाम्रो राति जङ्गली हात्तीको आतङ्क छ, घरबाहिर ननिस्केको दुई महिना भयो, राति सुत्न नपाएको पनि महिना लाग्न आटेको छ । यो गुनासो सुनसरीको कोसी गाउँपालिका - ५ का स्थानीय किसान असगर अलिको हो । अलिले आफ्नो घर नजिकैको बारीमा ४ बिघा मकै खेती गर्नुभएको छ । त्यसमा पनि रोग कीरासँगै दैनिक कोसी टप्पुबाट निस्कने जङ्गली हात्तीले नष्ट गर्ने, खाने, कुल्चिदिने, घर भत्काई दिने पीडा दिएकाले राति सुत्न नपाएको सोमबार बिहान गोरखापत्रसँग गुनासो पोख्नुभयो ।

उहाँले भन्नुभयो, एकातिर लकडाउनको पीडा अर्कोतिर जङ्गली हात्तीको आतङ्कले बर्बाद गरिदिएको छ, ज्यान जोगाउन मुस्किल भएको छ ।

अलिले हात्तीका कारण केही स्थानीय त घरबारविहीन बन्न पुगेका बताउनुभयो । कोसी गाउँपालिकाका ८ वटै वडाहरूमा हात्ती आतङ्क बढेको अर्का स्थानीय बलबहादुर राईले बताउनुभयो ।
राईका अनुसार हात्तीले आफ्नो दुईवटा घर भत्काउनुका साथै घरमा रहेको चामल, गहुँसहित खाद्यन्नसमेत नष्ट गरिदिएको छ । हात्तीको आक्रमणबाट पछिल्लो एक महिनामा मात्र सुनसरीको कोसी गाउँपालिकाको करोडौँको तरबारी र अन्नबाली तथा स्थानीयको घर भत्काइसकेको छ ।

कोसी टप्पु वन्यजन्तु आरक्षबाट गाउँ पसेका हात्तीको हुलले दुई साताअघि कोशी गाउँपालिका – ४ जुद्धगञ्जका अमजाद अलि लगायतको भान्छाघर पूर्ण रूपमा भत्काइदिएको थियो ।
उहाँको घरभित्रको सबै अन्नपातसमेत हात्तीले खाइदिएपछि उहाँको परिवारको बिजोग भएको थियो । जङ्गली हात्ती मानवबस्तीमा पसेको जानकारी पाए पनि सम्बन्धित निकायले तत्काल उद्धार टोली, नियन्त्रण टोली नपठाउँदा स्थानीयको धनजनको क्षति बढी हुने गरेको पीडितहरूको आरोप छ ।

उता, सुनसरीको कोसीटप्पु वन्यजन्तु आरक्षबाट निस्केको जङ्गली हात्तीले आक्रमण गर्दा कयौँ मानिसको ज्यान गएको र केही घाइते भएको समाचार सेलाउन नपाउँदै लकडाउनको बेला हात्ती आतङ्क बढेको हो ।

आठ महिनाअघि स्थानीय आन्दोलित भएकाले आरक्षको हात्तीसारको हात्तीका कारणले जङ्गली हात्ती आतङ्क बढेको भन्दै एक महिनासम्म अन्यत्र सारेको थियो ।तर पछिल्लो पटक पर्यटन वर्षका लागि आरक्षकै हात्तीसारमा ल्याएकाले सुनसरीको कोशी गाउँपालिका वडा नम्बर ४ पश्चिम कुशाहामा हात्ती आतङ्क बढेको स्थानीयको अरोप छ । आरक्षको हात्तीसारमा रहेका सबै हात्ती पोथी भएकाले भाले जङ्गली हात्ती आएको भन्दै स्थानीयको आक्रोश र आरोप बढेपछि आरक्षले केही समयका लागि आरक्षकै सप्तरी तर्फको फत्तेपुरमा सारेको र हाल हात्तीसारमा सुनसरीतिर नै हात्ती राखेको छ ।

आरक्षले हात्ती आतङ्क नियन्त्रणमा सकृय रहेको र कहिलेकाही बाहिर निस्कने हात्तीलाई धपाउने काम भएको आरक्षका प्रमुख संरक्षण अधिकृत रामदेव चौधरीले जानकारी दिनुभयो । चौधरीका अनुसार आरक्षमा समस्या रहेको र केही स्थानीय पीडित भएकोमा क्षतिपूर्ति र उपचारको व्यवस्था समेत नियम अनुसार गरिएको छ ।

स्थानीयहरूले जङ्गली जनावर आतङ्क रोक्नुपर्ने, गस्ती बढाउनुपर्ने, आरक्षबाट पीडितहरूलाई तत्काल राहत र क्षतिपूर्ति दिनुपर्ने माग गर्दै आएका छन् ।

जङ्गली हात्तीलाई पूर्ण नियन्त्रण गर्नुपर्ने दबावका लागि पटकपटक घेराउ र चक्काजाम गरेकोमा समस्या समाधान नभएको कोसी गाउँपालिका अध्यक्ष ऐयुव अन्सारीले बताउनुभयो । सुनसरीको कोसी गाउँपालिका - ५, श्रीपुर कुम्याहीमा फेरि पनि आइतबार राती कोसी टप्पु वन्यजन्तु आरक्षबाट निस्केका जङ्गली हात्तीको आतङ्कले मकै किसानलाई समस्या भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?