शिवशङ्कर मिश्र ।
बारा, जेठ १२ गते । बारा जिल्लामा थप एकै दिनमा २३ जनामा कोरोना पुष्टि भएपछि स्थानीयमा त्रास उत्पन्न भएको छ ।
महागढीमाई नगरपालिकामा २१ र आदर्श काेतवाल गाउँपालिकामा दुईजना गरी २३ जनामा कोरोना सङ्क्रमित भेटिएको पुष्टि भएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिनुभयो ।
महागढीमाई नगरपालिकाको क्वारेन्टाइनमा रहेका २१ जनाको कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र, हेटौँडा र आदर्शकाे कोतवाल गाउँपालिकाको क्वारेन्टाइनमा रहेका दुई जनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु काठमाडाैँबाट स्वाब परीक्षणको रिपाेर्ट पोजिटिभ आएको प्रमुख जिल्ला अधिकारी पण्डितले बताउनुभयो ।
उनीहरू सबै भारतका विभिन्न स्थानमा रोजगारी गर्न गएका थिए । लकडाउनमा काम नपाएर उनीहरू जेठ ८ गते नेपाल फिर्ता आएका थिए । तीस जना आएकाहरूलाई महागढीमाई नगरपालिकाको बबुयाइनमा रहेको कोरेन्टाइनमा राखिएको थियो भने नौ जनालाई बारागढी गाउँपालिकाको कोरेन्टाइनमा राखिएको थियो ।
यसरी भारतबाट स्वदेश फिर्ता आएका ३९ जनाको स्वाब परीक्षण गर्दा २३ मा कोरोना भाइरसको सङ्क्रमण देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय, बाराले जनाएको छ । यसरी सङ्क्रमितहरूलाई छुट्रटै राखेर उनीहरूको सम्पर्कमा आएकाहरूको कन्टयाक्ट ट्रेसिङकाे काम शुरु गरिएको बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।