logo
२०८१ मंसिर १२ बुधवार



आइसोलेसनबाट भागेका सङ्क्रमितलाई पुनः भर्ना लिइएन

फिचर |
प्रदेश |


आइसोलेसनबाट भागेका सङ्क्रमितलाई पुनः भर्ना लिइएन


जनार्जन खत्री
सर्लाही, जेठ १३ गते । सर्लाहीको हरिपूर्वाका कोरोना सङ्क्रमित पुरुषलाई जनकपुरमा पुनः भर्ना नगरिएपछि फर्काएर जिल्लामै ल्याइएको छ । आइतबार राति जनकपुरस्थित नर्सिङ कलेजको आइसोलेसनबाट भागेका हरिपूर्वा नगरपालिका–३, धनकौल पूर्वारीका ४५ वर्षीय मानसिक सन्तुलन ठीक नरहेका पुरुष पैदल हिँडेरै सोमबार मध्यान्ह घर आइपुग्नुभएको थियो । उहाँलाई घर आउनासाथ फकाईफुलाई गरी निकै मुस्किलले फेरि जनकपुर पठाइए पनि अस्पतालले दोहो-याएर भर्ना लिन नमानेको हरिपूर्वा नगरपालिकाका मेयर शियाराम रायले जानकारी दिनुभयो ।

सदरमुकाम मलङ्गवाबाट एम्बुलेन्स पठाई सङ्क्रमितलाई घरमा आएर परिवारका सदस्यसँग घुलमिल हुन नदिई सुरक्षाकर्मीको साथ लगाएर जनकपुर पठाइएको थियो । सङ्क्रमितलाई जनकपुरमा चार घण्टासम्म एम्बुलेन्समै राखेर भर्ना गरिदिन आग्रह गरे पनि अस्वीकार गरेपछि राति जिल्लामै फर्काएर ल्याइएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले बताउनुभयो । उहाँका अनुसार सङ्क्रमितलाई सदरमुकाम मलङ्गवा नगरपालिका–२, मा रहेको सन्त अल्पाईन राम नारायण यादव नर्सिङ कलेजमा ल्याएर राखिएको छ ।

नर्सिङ कलेजमा दुई दिनअघि ५० बेड क्षमताको आइसोलेसन वार्ड तयार पारिएको थियो । त्यहाँ गोडैता नगरपालिकाका १२ जना सङ्क्रमितलाई राखिएको छ । मानसिक सन्तुलन ठीक नरहेका हरिपूर्वाका सङ्क्रमितलाई अरु सङ्क्रमितबाट छुट्टै राखेर हेरचाह गर्ने व्यवस्था मिलाउन लागिएको प्रमुख जिल्ला अधिकारी जिसीले बताउनुभएको छ ।

सङ्क्रमित पुरुषले जनकपुरको आइसोलेसनमा रहँदा तोडफोड गर्नेलगायत अभद्र व्यवहार गरेकाले पुनः भर्ना लिन नमानेको स्रोतले बतायो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?