logo
२०८१ मंसिर १२ बुधवार



बाज्रिलमा भयावह बन्दै कोरोनाबाट हुने आदिवासीको मृत्यु

फिचर |
पढ्नै पर्ने |


बाज्रिलमा भयावह बन्दै कोरोनाबाट हुने आदिवासीको मृत्यु


इश्वरचन्द्र झा

काठमाडौँ, जेठ १३ गते । ब्राजिलका आदिवासीको कोरोनाभाइरसको सङ्क्रमणले भयावह रुपमा मृत्यु भएको छ । अस्पताल र आधारभूत आवश्यकताबाट वञ्चित ब्राजिलका आदिवासीमा महामारीको बेला थोरै मात्रै सघाउने हात देखा परेका छन् जुन अपर्याप्त छन् ।

कोरोनाभाइरसको सङ्क्रमणबाट ब्राजिलमा भएको कुल मृत्युको तुलनामा दोब्बर आदिवासीको मृत्यु भएको छ । ब्राजिली आदिवासीबारे अध्ययन गर्दै आएको एक संस्थाका अनुसार ब्राजिलमा कुल आदिवासीको सङ्ख्या नौ लाख रहेको छ । ब्राजिलको आधिकारिक तथ्याङ्कबमोजिम ९८० जना आदिवासी सङ्क्रमित छन् । १२५ जनाको मृत्यु भएको छ । राष्ट्रिय मृत्युदर ६.४ प्रतिशत हुँदा आदिवासीमा मृत्युदर १२.६ प्रतिशत दर्ता गरिएको छ ।

तर ब्राजिली स्वास्थ्य मन्त्रालयको आदिवासीको स्वास्थ्य हेर्ने विशेष सचिवालयले ६९५ जना आदिवासी मात्रै सङ्क्रमित रहेको बताएको छ, ३४ जनाको मृत्यु भएको छ । सचिवालयले परम्परागत् गाउँमा बस्ने र स्वास्थ्य चौकीमा दर्ता भएकाको सङ्ख्या मात्रै अनुगमन गर्दैआएको छ । जबकि अधिकांश शहरोन्मुख बस्ती छन् ।

गत अप्रिल महिनामा अमेजोनस्थित एक दुर्गम गाउँमा मृत्यु भएको १५ वर्षीय बालक ब्राजिली आदिवासीमा कोरोना सङ्क्रमणले मृत्यु भएको पहिलो घटना थियो । ब्राजिली आदिवासी टुक्सा समुदाय बस्ने ठाउँबाट करिब साढे चार घण्टा गाडीमा यात्रा गरेपछि मात्रै आईसीयू सुविधासहितको अस्पताल पुग्न सकिने आदिवासीको अध्ययन गर्दै आएको संस्थाका कार्यकारी संयोजक दिनामन टुक्साको दाबी छ । टुक्सा समुदायमा बस्ने आदिवासीको सङ्ख्या एक हजार ४०० छ । 

महामारीको समयमा हामीसँग कुनै अर्को उपाय छैन भन्दै उहाँ थप्नुहुन्छ, “हामी सबैजना आइसोलेसनमा छौँ, कसैलाई बाहिर जाने अनुमति छैन, बाहिरका कोहीलाई आउन दिएको छैन ।”
टुक्सा समुदायमा सङ्क्रमण फेला परेको छैन । यद्यपि कहिलेसम्म आइसोलेट भएर बस्ने सम्बन्धमा संस्थाका कार्यकारी संयोजक पनि अन्योलमा हुनुहुन्छ । अमेजन क्षेत्रका करिब ६० जना आदिवासी कोरोनाभाइरसबाट सङ्क्रमित छन् । उक्त क्षेत्रबाट हेलिकप्टर वा डुङ्गामा मात्रै अस्पतालसम्म पुग्ने सुविधा छन् ।

इन्फोअमेजोनियाको एक अध्ययनले आदिवासी बस्ने गाउँबाट औसतमा ३१५ किलोमिटरको दूरीमा आईसीयू सुविधासहितको अस्पताल उपलब्ध छन् । र दश प्रतिशत जनसङ्ख्यामा अस्पतालको औसत दूरी ७०० देखि एक हजार ७९ किलोमिटरसम्म पर्छ ।

आदिवासीको प्रतिनिधित्व गर्नुभएकी पहिलो सांसद जोइनिया वपिचनाले सङ्क्रमितलाई बस्तीबाट एक्लै टाढा पठाउन बाहेक विकल्प नरहेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “कदाचित अस्पताल पुगेमा आईसीयू शय्या, भेन्टिलेटरसहित अन्य सुविधाका लागि स्पर्धा गर्नुपर्ने हुन्छ, किनभने अस्पतालमा पनि पर्याप्त हुन्न ।”

उत्तरी र उत्तरपूर्वी राज्यहरू ब्राजिलमा कोरोनाभाइरसको सङ्क्रमणबाट सबैभन्दा बढी प्रभावित छन् । मृत्यु भएका अधिकांश आदिवासी अमेजोना क्षेत्रका छन् । जहाँ सबैभन्दा बढी सङ्क्रमण दर दर्ता गरिएको छ । अधिकारीहरूले उक्त क्षेत्रको स्वास्थ्य प्रणाली लड्न लागेको चेतावनी मार्च महिनामा दिएका थिए ।

आदिवासीको अधिकारका लागि वकालत गर्ने अधिकारकर्मीले अवैध खानी सञ्चालन तथा उत्खनन र आदिवासीको भूमिलाई आवासीय क्षेत्रमा परिणत गर्ने कार्य बढेको बताउँछन् । पछिल्लो वर्ष विकास गर्न रुचाउने जायर बोल्सानेरो ब्राजिली राष्ट्रपतिमा निर्वाचित भए यता उक्त कार्य अझै फस्टाएको अधिकारकर्मीलाई उद्धृत गर्दै सीएनएनले उल्लेख गरेको छ ।

ब्राजिली अन्तरिक अनुसन्धान प्रतिष्ठानको तथ्याङ्कबमोजिम यसै वर्षको अप्रिल महिनामा ब्राजिली ‘रैनफोरेस्ट’मा वन विनाश ६४ प्रतिशतले वृद्धि भएको छ । गत महिना मात्रै रैनफोरेस्टको ४०५.६ वर्ग किलोमिटर क्षेत्रको रुखबिरुवा नष्ट गरियो ।

ब्राजिलको अमेजोन क्षेत्रमा बस्ने आदिवासीमा रैनफोरेस्टको बाहिरबाट आउने प्रतिरक्षा वृद्धि गर्ने औषधिसम्म पहुँच छैन । फोटोग्राफर सेबास्टियो सालगाडोका अनुसार आदिवासी बस्ने क्षेत्रभित्र कोरोना सङ्क्रमणले पहुँच बनाए आत्मघाती हुने बताउनुहुन्छ ।

यद्यपि ब्राजिली कँग्रेसले गत साता मात्रै आदिवासीको स्वास्थ्य हेरचाहका लागि एक विधेयक तयार गरेको छ । जसअनुसार स्वास्थ्य उपकरणसहित फिल्ड अस्पताल, खानेपानी र खाद्य आपूर्ति गरिनेछ । तर अझै उक्त विधेयक सिनेटबाट पारित हुन सकेको छैन । राष्ट्रपति बोल्सानेरोबाट हरियो सङ्केत पाउन सकेको छैन ।


(सीएनएनका लागि शास्टा डार्लिगंटन, जोस ब्रिटो र फ्लोरा कार्नरले तयार गर्नुभएको रिपोर्टको अनुवादित अंश)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?