भवानी ऐर
कैलाली, जेठ १४ गते । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको आइसोलेसन कक्षमा भर्ना भएका एक व्यक्तिको मृत्यु भएको छ । जिल्लाको गौरीगङ्गा नगरपालिका–७ का ५० वर्षीय वृद्धको बुधबार बिहान ज्यान गएको हो ।
मृतक मङ्गलबार साँझ मात्रै सेती प्रादेशिक अस्पतालमा भर्ना भएको अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिनुभयो । मङ्गलबार नै भारतको महाराष्ट्रबाट आएका उनलाई स्वास्थ्य समस्या देखिएपछि अस्पतालको आइसाेलेसन वार्डमा भर्ना गरिएको थियो ।
मृतकको आरडिटी रिपोर्ट भने नेगेटिभ आएको तर, लक्षण कोरोना भाइरससँग मिल्दोजुल्दो भएकाले पिसिआरको लागि स्वाब सङ्कलन गरिएको श्रेष्ठले बताउनुभयो । ‘भारतबाट आएको त्यसैमाथि स्वास्थमा समस्या आएपछि अस्पताल भर्ना गरिएको हो ।’ अस्पतालका सूचना अधिकारी श्रेष्ठले भन्नुभयो, ‘उहाँलाई हिजो साँझ भर्ना गरियो, आज बिहानै निधन भयो ।’
क्वारेन्टाइन व्यवस्थापनमा जुटेका वडाअध्यक्षको मृत्यु
उता कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्वर ७ का वडाअध्यक्ष कल्लु रानाको गएराति मृत्यु भएको छ । वडा नम्बर ७ कै राष्ट्रिय माविमा क्वारेन्टाइन व्यवस्थापनमा जुटिरहनु भएका ५८ वर्षीय वडाअध्यक्ष राना एक्कासि बेहोस हुनुभएका थियो । उहाँको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय रैकवार बिचुवाका प्रहरी नायब निरीक्षक भीमसिंह धामीले मृत्युको कारण खुल्न नसकेको बताउँदै पोष्टमार्टमका लागि शव सेती प्रादेशिक अस्पतालमा पठाइएको बताउनुभयो । मृतक रानाको कोरोना परीक्षण हुने अस्पतालले जनाएको छ । अस्पतालका मेसु डाक्टर हेमराज पाण्डेयले सुरुमा शवको पोष्टमार्टम गरिने र त्यसपछि परीक्षणका लागि स्वाब संकलन गर्ने तयारी भैइरहेको बताउनुभयो ।