प्रदेश ५ ब्युरो
बुटवल, वैशाख १६ गते । तीव्र गतिमा कोरोना सङ्क्रमण फैलिइरहेको प्रदेश ५ मा कोरोनालाई जितेर घर फर्किनेको सङ्ख्या पनि उत्साहजनक वृद्धि भइरहेको छ । पछिल्लोपटक दाङमा आठ जना सङ्क्रमितह निको भएर घर फर्किनुभएको छ । कोरोना विशेष अस्पताल, बेलझुण्डीमा उपचाररत उहाँहरू निको भएकोमा मुख्यमन्त्री शंकर पोखरेलले सामाजिक सञ्जालमार्फत् बधाई दिनुभयो ।
यो प्रदेशमा अति संवेदनशील मानिएको बाँकेको नरैनापुरको जनजीवन पनि सामान्यतर्फ फर्किन थालेको छ । यहाँ नेपाली सेना र विशेष चिकित्सकहरूको टोलीसमेत क्रियाशील छ ।
सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य महाशाखा प्रमुख डा. उमाशंकर चौधरीका अनुसार प्रदेशमा अहिलेसम्म तीन सय ८३ जना सङ्क्रमित पत्ता लागेका छन् । तीमध्ये ४७ जना निको भएर घर फर्किसक्नुभएको छ ।
खुसी हुँदै घर
तुलसीपुर समाचारदाता गोकर्ण पौडेलका अनुसार कोराना विशेष अस्पताल, बेलझुण्डीमा उपचाररत आठ जना कोरोनाका बिरामी सञ्चाे भएर शुक्रबार घर फर्कनुभएको छ । कोरोना विशेष अस्पतालमा भर्ना भएको १४ दिनमा कोरोना भाइरसलाई जितेर आठ जना बिरामी घर फर्किनुभएको हो । शुक्रबार कोरोना विशेष अस्पताल बेलझुण्डीले आठ जना बिरामी सञ्चाे भएपछि घर पठाइएको अस्पतालका सदस्य सचिव डा. सर्वेश शर्माले जानकारी दिनुभयो । बाँके नरैनापुरका तीन जना, कपिलवस्तु कृष्णनगरका दुई जना, कपिलवस्तु शिवराज नगरपालिका वडा नम्बर ११ गान्धीनगर कपिलवस्तुका एक जना र दाङ गढवा गाउँपालिका वडा नम्बर ४ का एक जना गरी आठ जना कोरोना सङ्क्रमित बिरामी निको भएर खुसी हुँदै घर फर्कनुभएको हो । शुक्रबार अस्पतालले उहाँहरूलाई फूलका गुच्छा र खादा ओढाएर बिदाइ गरेको हो । अहिले कोरोना विशेष अस्पतालमा ३७ जना सङ्क्रमितको उपचार भइरहेको छ ।
नरैनापुरको जनजीवन सामान्यतर्फ
बाँके समाचारदाता गोविन्द शर्मा र नेपालगञ्ज समाचारदाता सिराज खानका अनुसार एक मृतकसहित ११४ जनामा कोरोना सङ्कट देखिएको बाँकेको नरैनापुर क्षेत्रको जनजीवन समान्यीकरण हुन थालेको छ । क्वारेन्टाइनमा बसिरहेकाहरू नेगेटिभ रिपोर्ट आएपछि घर पठाइएका कारण क्वारेन्टाइनमा बस्नेको सङ्ख्या घटेको छ । नरैनापुरमा रहेका १५ क्वारेन्टाइनमा ८१४ जना रहेकोमा घटेर शुक्रबार दिउँसोसम्म २५३ पुगेको छ ।
नरैनापुर गाउँपालिकाका अध्यक्ष ईस्तियाक अहमद शाहले सुरुवाती दिनमा अवस्था असहज भएपनि अहिले सामान्य भएको बताउनुभयो । क्वारेन्टाइनमा बस्नेहरूको सेवा सुविधामा ध्यान दिइएको छ, अध्यक्ष शाहले भन्नुभयो, 'एकसाथ धेरैजनामा सङ्क्रमण फैलिएको अवस्था भएपनि अहिले सबै सामान्य भएको छ ।'
जिल्ला प्रशासन कार्यालय, बाँकेले नरैनापुरमा निषेधित क्षेत्र लागु गर्दै नेपाली सेना परिचालन गरेको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङलगायत जिल्लाका सुरक्षा अधिकारीहरूले नरैनापुर क्षेत्रको स्थलगत अनूगमन गरी पछिल्लो अवस्थाबारे जानकारी लिनुभयो । कार्यालयमा प्रमुख जिल्ला अधिकारीको रुपमा हाजिर भएको भोलिपल्ट बिहीबार नरैनापुर पुग्नुभएका प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले अवस्था नियन्त्रणमा रहेको जानकारी दिनुभयो ।
लकडाउनको अनुगमन
बुटवल समाचारदाता छविलाल पाण्डेका अनुसार बुटवल उपमहानगरपालिकाले कोरोनाको बढ्दो जोखिमबिच जारी लकडाउनको अनुगमन गरेको छ । पछिल्लो समय लकडाउन उल्लङ्घन गर्ने क्रम बढिरहेको बेला बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीको नेतृत्वमा अनुगमन गरिएको हो ।
अनुगमनका क्रममा पश्चिम र उत्तर दक्षिण सडक सञ्जाल, अस्पताल र औषधी पसलहरू, वित्तीय सङ्घसंस्थाहरू, खाद्यान्न, दूध, तरकारीलगायत होलसेल पसलहरू, केन्द्र, प्रदेश र स्थानीय सरकारका कार्यालयलगायत अत्यावश्यक सेवाका पसलहरू खुला रहेको बताइएको छ ।
बिमा गर्ने निर्णय
रुपन्देही समाचारदाता भुुवन कार्कीका अनुसार पत्रकारहरूमा कोरोना (कोविड–१९) सङ्क्रमित हुने क्रम बढेपछि थारु पत्रकार सङ्घ, नेपालले एक लाख रुपियाँको कोरोना बिमा गर्ने निर्णय गरेको छ । थारु पत्रकार सङ्घ, नेपालको बिहीबार अनलाइन जुम बैठकमा थारु पत्रकार सङ्घ नेपालका केन्द्रीय कमिटीका सदस्यसहितको बैठकले पहिलो चरणमा एक लाख रुपैयाँ बराबरको कोरोना बिमा गर्ने निर्णय गरेको हो । बैठकले अनलाइन भर्चुअल पत्रकारिता तालिम आयोजना गर्ने, सङ्घको वार्षिक मुखपत्र ‘फुलरिया’ पत्रिका प्रकाशन गर्ने निर्णयसमेत गरेको थारु पत्रकार सङ्घ, रुपन्देहीका कमल थारुले जानकारी दिनुभयो ।
सम्पर्कमा रहेकोेहरू सुरक्षित
तम्घास समाचारदाता तिलाचन पाण्डेका अनुसार गुल्मीमा कोरोना सङ्क्रमित धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलको सम्पर्कमा आएका ४४ जनाको पिसिआर रिर्पोट नेगेटिभ आएको छ । सोमबार पोखरेललाई कोरोना सङ्क्रमण भएपश्चात मङ्गलबार उहाँको सम्पर्कमा आएका ४४ जनाको स्वाब सङ्कलन गरी परीक्षणका लागि प्रादेशिक प्रयोगशाला रुपन्देहीमा पठाइएको थियो । उनीहरू सबैको रिर्पोट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यलय, गुल्मीका प्रमुख भवानीप्रसाद शर्माले जानकारी दिनुभयो