धीरेन्द्रप्रसाद साह
राजविराज, जेठ १७ गते । सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नम्बर ३ गोविन्दपुरस्थित राप्रावि क्वारेन्टाइनमा बसेकाहरूले शनिबार भोक हडताल गरेका छन् । अस्तव्यस्त अभिभावकविहीन अवस्थामा क्वारेन्टाइनलाई छोडेकोे भन्दै उनीहरूले शनिबार बिहानको खाना छोडेर भोक हडतालमा बसेका हुन् ।
क्वारेन्टाइनमा बसेको १७ दिन बितिसक्दा पनि खाना दिन आउने मानिसबाहेक कोही पनि सोधखोज गर्न नआएका बताउँदै क्वारेन्टाइनमा बसेका छिन्नमस्ता गाउँपालिका - २, सखडाका चन्दनकुमार चौधरीले भन्नुभयो, 'क्वारेन्टाइनमा न समयमा खाना आउँछ न नास्ता, आए पनि सँधै एकैनासको दाल भात, तरकारी र नास्तामा मुरही चना मात्र आउँछ ।'
'क्वारेन्टाइनमा तीन दिनदेखि खानेपानी, साबुन, स्यानिटाइजर छैन', अर्का मो. हजरतले भन्नुभयो, 'क्वारेन्टाइनको कस्तो समस्या, आवश्यकता के छ भने आजसम्म सोधखोज गर्न कोही आउँदैन । यहाँसम्म कि स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कार्यालय सहयोगी पनि आउँदैन ।' ज्वरो जाँच्न स्वास्थ्यकर्मीलाई पटकपटक फोन गर्दा बल्लतल्ल आउने र टाढैबाट सोधेर फर्किने गरेको उहाँले बताउनुभयो ।
'एक बच्चा, एक महिला र पुरुष गरी २२ जना रहेको सो क्वारेन्टाइनमा व्यवस्थापनको लागि इन्चार्ज तोकिएको छ, तर उनीहरू पनि आउँदैनन्' उहाँले भन्नुभयो, ]समस्या कसलाई सुनाउने, कसरी समाधान हुने ? त्यसैले आज भोक हडतालमा बसेका छौँ ।'
सो सम्बन्धमा वडा नम्बर ३ का अध्यक्ष दीपेन्द्रप्रसाद यादवले क्वारेन्टाइन व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी गाउँपालिका अध्यक्ष सूर्यनारायण मण्डलले आफ्नो मातहतमा राखेको र उहाँ बिरामी परेकोले तत्काल आफूलाई व्यवस्थापनको जिम्मा दिएको बताउनुभयो ।
उक्त क्वारेन्टाइनको व्यवस्थापनमा कमीकमजोरी रहेको पाइएको स्वीकार गर्दै वडा अध्यक्ष यादवले भोक हडताल गरेको थाहा पाएलगतै क्वारेन्टाइन पुगेर स्वास्थ्यकर्मी, क्वारेन्टाइन इन्चार्ज, कार्यालय सहयोगीलाई जिम्मेवारी निर्वाह गर्न तथा समयमा खाना नास्तासहित आवश्यक सम्पूर्ण सामग्रीको व्यवस्थापन गर्न भनिसकेको बताउनुभयो ।