logo
२०८१ मंसिर १३ बिहीवार



प्रदेश २ मा ५७ जना नयाँ सङ्क्रमित थपिए, २० हजार बढी क्वारेन्टाइनमा

फिचर |
प्रदेश |


प्रदेश २ मा ५७ जना नयाँ सङ्क्रमित थपिए, २० हजार बढी क्वारेन्टाइनमा


गोरखापत्र अनलाइन
काठमाडौँ, जेठ १७ गते । प्रदेश २ मा ५७ जना कोरोनाभाइरसका नयाँ सङ्क्रमित थपिएका छन् । पीसीआर परीक्षणबाट पछिल्लो चौबिस घण्टामा ५७ जना नयाँ सङ्क्रमित थपिएसँगै प्रदेश २ मा कुल सङ्क्रमितको सङ्ख्या ५५४ पुगेको छ ।
प्रदेश २ ले दैनिक रुपमा गर्ने पत्रकार सम्मेलनमा सामाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले शनिबारसम्म प्रदेशभरि १२ हजार ५६६ जनाको स्वाब सङ्कलन गरिएको जानकारी दिनुभयो । उहाँले ५५४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो । नौ हजार ९०९ जनाको स्वास्थ्य परीक्षण प्रतिवेदनमा कोरोनाको सङ्क्रमण नदेखिएको सचिव घिमिरेले बताउनुभयो । दुई हजार १०३ जनाको स्वास्थ्य प्रतिवेदन आउन बाँकी रहेको छ । शनिबार मात्रै ९४० जनाको स्वाब सङ्कलन गरिएको छ । मन्त्रालयका अनुसार सप्तरीमा नौ जना, सिरहामा ११, धनुषामा सात, महोत्तरीमा चार, सर्लाहीमा १७, रौतहटमा छ, बारामा एक र पर्सामा दुई जना नयाँ सङ्क्रमित थपिएका छन् । 
मन्त्रालयले दिएको जानकारी बमोजिम प्रदेश २ को रौतहटमा सबैभन्दा बढी सङ्क्रमित छन्। रौतहटमा १४१ जनामा सङ्क्रमणको पुष्टि भएको हो । सबैजनालाई रौतहटको गौर, देवाही गोनाही र गरुडासहितका स्थानमा रहेको आइसोलेसन वार्डसहितको अस्पतालमा भर्ना गरिएको छ ।
सप्तरीमा २४ जना, सिरहामा १४ जना, धनुषामा २९ जना, महोत्तरीमा १९ जना, सर्लाहीमा २३ जना, रौतहटमा १४१, बारामा ५० र पर्साको १० जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले जनाएको छ । सबैजनालाई आइसोलेसनमा राखिएको सचिव घिमिरेले जानकारी दिनुभएको छ । प्रदेश २ मा हालसम्म ९८ जना निको भई घर फर्केका छन् ।
प्रदेश २ मा ३७१ वटा क्वारेन्टाइन निर्माण गरिएको छ । २५ हजार ३२२ शय्या क्षमताको क्वारेन्टाइनमा २० हजार ९३३ जना अलग्गिएका छन् । मन्त्रालयका अनुसार ७४७ जना आशङ्कित आइसोलेसनमा छन् । १२ हजार ५६६ जना होम क्वारेन्टाइनमा छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?