logo
२०८१ मंसिर १३ बिहीवार



सैनामैनामा तयार भए सय शय्या, नवलपरासीमा बन्दै दुई सय शय्या

फिचर |
प्रदेश |


सैनामैनामा तयार भए सय शय्या, नवलपरासीमा बन्दै दुई सय शय्या
 नवलपरासीमा बनिरहेका आइसोलेसन बेडहरू । तस्बिरः गोपी ज्ञवाली


प्रदेश ५ ब्यूरो
बुटवल, जेठ १८ गते । काेराेना भाइरस सङ्क्रमितको सङ्ख्या थपिदै जाँदा प्रदेश ५ मा उपचारका संरचना र संयन्त्रहरू पनि थपिँदै गएका छन् । प्रदेश सरकारको रणनीति अनुसार स्थानीय तहहरूमा क्वारेन्टाइन,आइसोलेसनलगायत स्वास्थ्य तथा उपचार संयन्त्रहरू विस्तार भइरहेका छन् ।
बुटवलमा कोरोना विशेष अस्पताल रहेको रुपन्देहीको सैनामैनामा पछिल्लो पटक एक सय शय्याका अस्थायी अस्पताल सञ्चालनमा आएको छ । सङ्क्रमणको जोखिममा रहेको नवलपरासीमा पनि दुई सय आइसोलेसन शय्या निर्माण भइरहेका छन् ।
सैनामैनामा सय शय्या
बुटवल समाचारदाताका अनुसार रुपन्देहीको सैनामैना नगरपालिकामा कोरोना भाइरस (कोभिड– १९) विरुद्ध कोरोना अस्थायी आइसोलेसन अस्पताल सञ्चालनमा आएको छ ।
सैनामैना नगरपालिका वडा नं १ स्थित पदमपाणी योग तथा प्राकृतिक चिकित्सालयमा कोरोना विशेष अस्थायी आइसाेलेसन अस्पताल निर्माण गरी सञ्चालनमा ल्याइएको नगर प्रमुख चित्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

अस्पतालमा बिरामीको लक्षण अनुसार विज्ञ चिकित्सकसँग अनलाइन परामर्श लिन सकिने नगरप्रमुख कार्कीले बताउनुभयाे । हरेक जना बिरामीलाई अलगअलग राख्ने गरी अस्पतालमा एक सय शय्या तयार रहेको बताउँदै आवश्यकता अनुसार शय्या थप्ने व्यवस्था पनि मिलाइएको जानकारी दिनुभयो ।
अस्पतालमा डा. प्रकाश खरेल र नेपाली सेनाका चिकित्सक डा. रक्षा गुरागाईँको नेतृत्वमा एक हेल्थ असिस्टेण्ट र दुई नर्स गरी छ जनाको टोली खटाइएको सैनामैनाका स्वास्थ्य संयोजक हेमराज पन्थले जानकारी गराउनुभयो ।
बन्दैछन् दुई सय शय्याकाे आइसोलेसन कक्ष
परासी समाचारदाताका अनुसार कोरोना सङ्क्रमितको सङ्ख्या लगातार बढ्दै गएपछि पश्चिम नवलपरासीमा दुई सय बेड क्षमताकाे आइसोलेसन कक्ष निर्माण गरिने भएको छ ।
पछिल्लो दुई हप्तादेखि पश्चिम नवलपरासीमा भारतबाट प्रवासी नेपालीहरूको आउने क्रम बढेसँगै जिल्लामा क्वारेन्टाइनमा बस्नेको सङ्ख्या पनि बढेर गएको छ । सङ्क्रमितको सङ्ख्यासमेत बढ्ने अनुमानसहित जिल्लाका विभिन्न स्थानीय तहहरूमा आइसोलेसन कक्षको निर्माण थालिएको जिल्ला स्वास्थ्य कार्यालय, नवलपरासीका प्रमुख गौरव ढकालले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?