logo
२०८१ असोज ८ मंगलवार

  अमेरिकामा तनाव जारी  



प्रदर्शन उग्र हुँदा ट्रम्पलाई बङ्करभित्र लगिएकाे थियाे

अन्तर्राष्ट्रिय |


प्रदर्शन उग्र हुँदा ट्रम्पलाई बङ्करभित्र लगिएकाे थियाे
तस्विर-द् न्युर्योक टाइम्स, व्हाइट हाउस अगाडि जमा भएका प्रदर्शनकारी


इश्वरचन्द्र झा
काठमाडौँ, जेठ १९ गते । सयौँको सङ्ख्यामा रहेका प्रदर्शनकारी ह्वाइट हाउसअगाडि प्रदर्शनमा उत्रिँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई शुक्रबार राति केही समयको लागि बङ्करमा लगिएको खुलेको छ । अमेरिकी सञ्चारमाध्यम सीएनएनले ह्वाइट हाउसका अधिकारी तथा कानून कार्यान्वयन गराउने स्रोतलाई उद्धृत गर्दै राष्ट्रपति ट्रम्पलाई बाहिरी प्रदर्शनबाट जोगाउन बङ्करमा लगिएको उल्लेख गरेको छ ।
अधिकारीहरूका अनुसार राष्ट्रपति ट्रम्पलाई ह्वाइट हाउसभित्रको बङ्करमा करिब एक घण्टा राखेपछि मात्रै माथि उक्लिन लगाइयो । स्रोतका अनुसार ट्रम्पसँगै प्रथम महिला मेलानिया ट्रम्प र छोरा बरोनलाई बङ्करमा लगिएको हो । गोप्य सेवा अधिकारीसँग प्रदर्शनकारीको अाम्नेसामुन्ने भएपछि राष्ट्रपति ट्रम्पलाई सुरक्षित राख्न कदम चालिएको ह्वाइट हाउस अधिकारीलाई उद्धृत गर्दै सीएनएनले उल्लेख गरेको छ । प्रदर्शनकारीले लखेटेपछि गोप्य सेवाको सुरक्षा घेरा साँघुरिएको थियो । तर चार घण्टापछि भिड पातलिँदै गएपछि सुरक्षा घेराकाे परिमिति बढाएकाे थियाे ।
उक्त समाचार पहिलो पटक द न्युयाेर्क टाइम्सले प्रकाशन गरेको हो ।
ह्वाइट हाउसमा प्रोटोकल हेर्ने अधिकारीहरूका अनुसार राष्ट्रपति ट्रम्पलाई सुरक्षित राख्नुपरे प्रथम महिला र परिवारलाई समेत उक्त सुविधा प्रदान गरिनेछ । उक्त प्रोटोकल बमोजिम नै राष्ट्रपति ट्रम्पसँगै मेलानिया र बरोनलाई पनि बङ्करभित्र राखिएको हो ।

आइतबार राति ह्वाइट हाउसले आफ्ना कर्मचारीलाई सोमबार कार्यालय आउँदा र ह्वाइट हाउस छोड्दा गोप्य सेवा प्रवेश केन्द्र अघिसम्म प्रवेश अनुमति पत्रलाई लुकाएर राख्न निर्देशन दिएको थियो । लगत्तै राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसअगाडि भइरहेको प्रदर्शन छल्न र नियन्त्रण गर्न गोप्य सेवाले चालेको कदमको प्रशंसा गर्नुभएको छ ।
अफ्रिकी मूलका अमेरिकी नागरिक जर्ज फ्लोयडको गत सोमबार मिनियापोलिसमा प्रहरी नियन्त्रणमा हत्या गरिएको थियो । उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि प्रदर्शन उग्र र देशव्यापी  बनेको छ ।
ह्वाइट हाउसअगाडि विरोध प्रदर्शन भइरहँदा ट्रम्पलाई बङ्करभित्र लगिएको थियो । प्रदर्शनकारीले पहिलो सुरक्षा घेरा तोडेमा ह्वाइट हाउसभित्र हतियारबाट सज्जित बल र कुकुर सतर्कतापूर्वक खडा गरिएको गोप्य सेवाले ट्रम्पलाई आश्वस्त तुल्याएको थियो ।
शुक्रबार राति दश बजेबाट ह्वाइट हाउसअगाडि सुरु भएको प्रदर्शन शनिबार बिहान करिब चार बजेसम्म चलेको थियो ।

(सीएनएनका लागि केट बेनेट्ट, केभिन लिप्टक, नोआ ब्रोडर र ब्रायन टडले तयार गरेकाे समाचारको अनुवादित अंश)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?