प्रतीक इच्छुक शर्मा
सल्यान, जेठ १९ गते । सल्यानमा क्वारेनटाइको अभाव भएपछि भारतबाट आएका नागरिकहरू त्रिपालमुनि बस्न बाध्य भएका छन् । वनगाड कुपिण्डे नगरपालिमामा क्वारेन्टाइनको क्षमताभन्दा बढी नागरिक भारतबाट आएपछि खुल्ला चौरमा त्रिपालमुनि राखिएको छ ।
वनगाड कुपिण्डे नगरपालिकाका प्रमुख गोविन्दकुमार पुनले १८ वटा विद्यालयमा निर्माण गरिएको क्वारेनटाइनमा नागरिकहरू नअटेपछि बाध्य भएर खुल्ला चौरमा पालमा व्यवस्थापन गरिएको बताउनुभयो ।
उहाँका अनुसार ‘एकै पटक १२ सयभन्दा बढी नागरिक आएपछि व्यवस्थापन गर्न निकै समस्या भएको छ । नगरपालिकाभित्रका १८ विद्यालयमा १२ सय नागरिक बसिरहेका छन् ।
वनगाड कुपिण्डे नगरपालिका प्रमुख प्रशासकीय अधिकृत मोहन खड्काले दुई क्वारेनटाइनमा रहेका ३५ जनामा कोरोना पोजिटिभ देखिएपछि व्यवस्थापनमा थप चुनौती देखिएको बताउनुभयो । उहाँका अनुसार क्वारेन्टाइनमा एउटै कोठामा २० देखी २५ जनासम्म राखिएका छन् ।
सल्यानको वनगाड कुपिण्डे नगरपालिका पछिल्लो समय कोरोनाको इपिसेन्टर भएको छ । सङ्क्रमितको सङ्ख्या बढ्दै जान थालेपछि एक विद्यालयलाई आइसोलेसन बनाउने तयारी भइरहेको नगरपालिकाले जनाएको छ ।