कृष्ण तिवारी
रौतहट, जेठ १९ गते । रौतहटमा थप १८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै रौतहटमा सङ्क्रमित हुनेको सङ्ख्या २३३ पुगेको छ ।
धुलिखेल अस्पतालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा रौतहटको परोहा नगरपालिका र दुर्गा भगवती गाउँपालिकाका व्यक्तिमा सोमबार सङ्क्रमण पुष्टि भएको हो ।
परोहा नगरपालिकाका १४ र दुर्गा भगवती गाउँपालिकाका ४ जनामा सङ्क्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिनुभएको छ ।
सङ्क्रमण पुष्टि भएका सबै जना हालै भारतबाट फर्किएका नेपालीहरू रहेको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताउनुभयो ।
सङ्क्रमण पुष्टि भएका सबै जना सम्बन्धित नगरपालिकाको क्वारेन्टाइनमा रहेका छन् ।
यसअघि शुक्रबार ५६ जनामा सङ्क्रमण पुष्टि भएको थियो भने आइतबार २९ जनामा सङ्क्रमण पुष्टि भएको थियो । जिल्लामा अहिलेसम्म ९८६ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने स्वाब सङ्कलन गरिएका १४ सय ९१ जनाको रिपोर्ट आउँन अझै बाँकी रहेको जिल्ला प्रशासन कार्यालय, गौरका नायब सुब्बा रामनरेश साहले बताउनुभएको छ ।
जिल्लाका विभिन्न स्थानीय तहले हालसम्म निर्माण गरेको नाै हजार ३५२ बेडको क्वारेन्टाइनमा ३२४ महिला र सात हजार ७३५ पुरुष गरी जम्मा ८ हजार ५९ जना बसिरहेका छन् । जिल्लाको क्वारेन्टाइनबाट नेगेटिभ रिपोर्ट आएका एक हजार १८७ जनालाई घर फिर्ता गरिसकिएको छ ।
सङ्क्रमितको सङ्ख्या बढेसँगै उपचार गर्ने आइसोलेसन कक्षहरूको अभाव हुन थालेको छ ।
भारतबाट फर्कनेहरूको सङ्ख्या नरोकिएकोले रौतहटका स्थानीय तहहरू यतिखेर धमाधम क्वारेन्टाइनको सङ्ख्या बढाउन थालेको छ ।