दिवाकर पोख्रेल
देउखुरी, जेठ २१ गते । दाङको बङ्गलाचुली गाउँपालिकाका एक वडा अध्यक्षमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सो वडाको झेल्नेटा र मुर्कुटी बजार क्षेत्र सिल गरिएको छ । बङ्गलाचुली गाउँपालिकाले मङ्गलबार राति १२ बजेबाट लागू हुनेगरी वडाको झेल्नेटा र मुर्कुटी क्षेत्रलाई अनिश्चितकालको लागि सिल गरिएको हो ।
सुधा माध्यमिक विद्यालय झेल्टेनामा रहेको क्वारेन्टाइन व्यवस्थापनमा खटिनुभएका व्यक्तिसहित पाँच जनाको पीसीआर जाँच गर्दा उहाँमा कोरोना पोजिटिभ देखिएपछि उच्च जोखिम क्षेत्रमा अर्को सूचना नआएसम्मको लागि सिल गरिएको छ । सूचनामा अति आवश्यक कामबाहेक घरबाट बाहिर ननिस्कन हुन अनुरोध गरिएको छ ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणमा ५४ वर्षीय वडाध्यक्षमा कोरोना पोजेटिभ देखिएको थियो । भारतबाट आउने वडावासीहरूको उद्धारमा खटिएका उहाँमा कोरोना पुष्टि भएपछि अति जोखिम क्षेत्रमा सिल गरिएको हो ।
यसैबिच कोरोना सङक्रमितको सङ्ख्या बढ्न थालेपछि बिरामीलाई उपचार गर्नको लागि पालिकास्तरमा आइसोलेसन निर्माण गरी उपचार गर्ने व्यवस्था मिलाउन थालिएको छ । अहिले दाङको बेलझुन्डीमा रहेको कोरोना अस्पतालमा दाङसहित अन्य जिल्लाका गरी ५२ जनाको उपचार भइरहेको छ ।
दाङका कोरोना फोकल पर्सन कमल चन्दका अनुसार बेलझुण्डी अस्पतालमा उपचार गर्ने ठाउँको अभाव रहेका कारण थप बिरामी भर्ना गर्ने अवस्था छैन । 'अहिले सबै भरिएको छ, नयाँ सङक्रमितलाई पालिका स्तरमा आइसोलेसन बनाएर व्यवस्थापन गर्न भनेका छौँ', चन्दले भन्नुभयो ।
पालिकाले पनि आइसोलेसन वार्ड बनाउन थालेका छन् । राप्ती गाउँपालिकामा आज सङक्रमित देखिएकोलाई सोही पालिकामा उपचार गर्न मिल्ने गरी आइसाेलेसन निर्माण गरिएको राप्ती गाउँपालिका स्वास्थ्यशाखा प्रमुख नारायण रावतले जानकारी दिनुभयो ।
दाङमा कोरोना अस्पतालमा बेड अभाव भएपछि मङ्गलबार सङ्क्रमण पुष्टि भएका आठ जनामध्ये दुई जनालाई उपचारको लागि नेपालगञ्ज लगिएको छ । बाँकी छ जनालाई आइसोलेसनमा भर्ना गर्न सकिएको छैन । राप्ती गाउँपालिकाको क्वारेन्टाइनमा रहेका दुई जना कोरोना सङ्क्रमितलाई अबेर मात्रै नेपालगञ्ज लगिएको हो । बङ्गलाचुली गाउँपालिकाका छ जना सङ्क्रमितलाई झुलीडाँडा क्वारेन्टाइनमा राखिएको स्वास्थ्य शाखा संयोजक भगत केसीले जानकारी दिनुभयो । दाङमा कोरोना विशेष अस्पताल छ । अहिलेसम्म दाङमा ५१ जना सङ्क्रमित पुगेका छन् ।