logo
२०८१ असोज ८ मंगलवार



दुई लाख बढी सङ्क्रमित हुने भारत सातौँ राष्ट्र, अमेरिकामा एकै दिन एक हजारको मृत्यु

फिचर |
अन्तर्राष्ट्रिय |


दुई लाख बढी सङ्क्रमित हुने भारत सातौँ राष्ट्र, अमेरिकामा एकै दिन एक हजारको मृत्यु
तस्विर-रोयटर्स, सर्बियाली सेनाले तयार गरेको आइसालेशन वार्डसहितको सुविधासम्पन्न अस्पताल


गोरखापत्र अनलाइन
काठमाडौँ, जेठ २१ गते।। भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित हुने दुई लाख नाघेको छ । पछिल्लो चौबिस घण्टामा आठ हजार ९०९ जना सङ्क्रमित थपिएसँगै भारतमा कोभिड–१९ बाट सङ्क्रमित हुनेको सङ्ख्या दुई लाख सात हजार ६१५ पुगेको छ ।
अमेरिकाको बाल्टीमोरस्थित जोन हप्कीन्स विश्वविद्यालयका अनुसार संयुक्त राज्य अमेरिका, ब्राजिल, रसिया, बेलायत, स्पेन, इटालीपछि दुई लाख बढी सङ्क्रमित हुने भारत सातौँ राष्ट्र बनेको छ । अमेरिकामा १८ लाख ३१ हजार ८२१, ब्राजिलमा पाँच लाख ५५ हजार ३८३, रुसमा चार लाख २३ हजार १८६ र बेलायतमा दुई लाख ७९ हजार सङ्क्रमितको पुष्टि भएको विश्वविद्यालयले जनाएको छ । स्पेनमा दुई लाख ३९ हजार ९३२ र इटालीमा दुई लाख ३३ हजार ५१५ जना सङ्क्रमित छन् ।

स्पेन, फ्रान्स र इटालीमा सङ्क्रमणदर स्थिर देखिएको छ । रुस, ब्राजिल र भारतमा सङ्क्रमित थपिने दर उच्च भएको छ । ब्राजिलमा पछिल्लो चौबिस घण्टामा २८ हजारभन्दा बढी सङ्क्रमित थपिएका छन् । भारतमा सबैभन्दा बढी सङ्क्रमित महाराष्ट्र राज्यमा दर्ता गरिएको छ ।

दुई लाख सङ्क्रमितमध्ये भारतको महाराष्ट्र राज्यमा मात्रै ७२ हजारभन्दा बढी छन् । राजधानी दिल्लीमा २२ हजार १३२ जना सङ्क्रमित छन् । नयाँ दिल्लीमा सङ्क्रमित हुनेको सङ्ख्या तीव्र रुपमा वृद्धि भइरहँदा राज्यका मुख्यमन्त्री अरविन्द केजरीवालले एक साताका लागि राज्यको सीमा सिल गर्ने घोषणा गर्नुभएको छ ।

भारतमा कोरोना सङ्क्रमणबाट पाँच हजार ८१५ जनाको मृत्यु भएको छ । सबैभन्दा बढी महाराष्ट्रमा दुई हजार ४६५ जनाको मृत्यु दर्ता गरिएको छ । मध्यप्रदेशमा ३६४ जनाको मृत्यु भएको हो ।
भारतमा सङ्क्रमण तीव्ररुपमा वृद्धि भइरहँदा निको हुने दरमा सुधार देखिएको छ । हालसम्म एक लाख ३०३ जना कोरोनाभाइरसबाट मुक्त भई घर फर्केका छन् ।

उता, कोरोनाभाइरस सङ्क्रमणको केन्द्र बनेको संयुक्त राज्य अमेरिकामा पछिल्लो एक सातामा सबैभन्दा बढी मृत्यु दर्ता गरिएको छ । कोरोनाभाइरसबाट कुनै समय दैनिक मृत्यु हुनेको सङ्ख्या तीन हजारसम्म पुगेको अमेरिकामा पछिल्लो चौबिस घण्टामा एक हजार ८१ जनाको मृत्यु भएको छ ।

अमेरिकामा कोरोनाभाइरस सङ्क्रमणबाट एक लाख छ हजार १८० जनाको मृत्यु भएको हो । विश्वभरि कोरोना सङ्क्रमणबाट करीब तीन लाख ८० हजार २५१ जनाको मृत्यु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?