logo
२०८१ मंसिर १३ बिहीवार



औद्योगिक कोरिडोरमा अत्यावश्यकबाहेक सबै उद्योग ठप्प

फिचर |


औद्योगिक कोरिडोरमा अत्यावश्यकबाहेक सबै उद्योग ठप्प


शिवशङ्कर मिश्र
बारा, जेठ २२ गते । सरकारले सामाजिक दूरी अपनाएर उद्योग, कलकारखाना सञ्चालन गर्न आग्रह गरे पनि पथलैया वीरगञ्ज औद्योगिक कोरिडोर क्षेत्रका अति आवश्यक उद्योगहरूबाहेक अन्य उद्योगहरू ठप्प रहेका छन् ।
विगत लामो समयदेखि जारी लकडाउनका कारण बारा, पर्सामा रहेका चामल, पिठो, तेल, दाना, दाल र औषधि उत्पादन गर्ने तीन दर्जन उद्योगबाहेक अन्य उद्योगहरू ठप्प रहेका छन् । वीरगञ्ज पथलैया औद्योगिक करिडोर तथा बारा, पर्सामा करिब १२ सयको हाराहारीमा बहुराष्ट्रिय कम्पनीदेखि ठूला, मझौला र साना उद्योगहरू रहेका छन् ।

नोबल–१९ कोरोना रोकथाम तथा नियन्त्रण समन्वय उच्च स्तरीय समितिले उद्योग कलकारखाना चलाउन जारी गरेको १३ बुँदे मापदण्डअन्तर्गत उद्योगमा तयारी अवस्थामा एम्बुलेन्स राख्नुपर्ने जस्ता बुँदाहरू राखिएको हुँदा साना तथा मझौला उद्योगहरूले एम्बुलेन्स राख्न सक्ने अवस्था नरहेको हुँदा उद्योग सञ्चालन गर्न कठिनाइ भएको उद्योग वाणिज्य सङ्घ, बाराका अध्यक्ष विनोद साहले बताउनुभयो ।

त्यसैगरी, उद्योग सञ्चालनका लागि मजदुरहरूलाई कम्पनीभित्रै राख्न निर्देशन दिएको र यो निर्देशनसमेत पालना गर्न गाह्रो भएको व्यवसायीहरू बताउँछन् । नेपाल चामल दाल सङ्घका केन्द्रीय अध्यक्ष सुबोध गुप्ताले उद्योग सञ्चालन गर्ने वातावरण मिलाउन सरकार लाग्नुपर्नेमा जोड दिनुभयो । जबसम्म उद्योग सञ्चालनका सहायक कुरालाई व्यवस्थापन गर्न सकिँदैन, तबसम्म उद्योग सञ्चालन हुन नसक्ने उहाँले बताउनुभयो ।

उद्योग सञ्चालनका लागि मजदुरहरू बिना रोकतोक उद्योगसम्म आउने वातावरण बन्नुपर्ने कुरामा जोड दिँदै अध्यक्ष गुप्ताले व्यवसायीहरूले पनि उद्योगमा कोरोना सङ्क्रमण भित्रिन नदिन स्वास्थ्यसम्बन्धी आवश्यक सम्पूर्ण रणनीति अपनाए मात्र उद्योग सञ्चालन हुनसक्ने बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?