शेरबहादुर सार्की
बाजुरा जेठ २३ गते । भारतबाट आएका स्थानीयमा -यापीड टेष्ट गर्दा बाजुरामा पुनः ३० जनामा पोजेटिभ देखिएको छ ।
गत जेठ ८ गते भारतबाट आएका बुढीगङ्गा नगरपालिका - १, खप्तड छेडेदह गाउँपालिका - १ त्रिवेणीका नगरपालिकाका - २ बडिमालिका नगरपालिकाका २६ जनामा -यापीड टेष्ट गर्ने क्रममा पोजिटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय, बाजुराले जनाएको छ ।
-यापीड टेष्ट गरिएका ३० जनामा तीन जनाको हिजो स्वाब सङ्कलन गरिएको र बाँकी २७ जनाको स्वाब सङ्कलन गरी पीसीआर परीक्षणका लागि आज धनगढी पठाइने जिल्ला स्वास्थ्य कार्यालय बाजुराका वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले बताउनुभयो ।
'-यापीड टेष्ट भएका सबै जनालाई अहिले क्वारेन्टाइनकै आइसोलेसनमा राखिएको छन्' जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले भन्नुभयो, 'जिल्लामा किट आइपुगेकाले हिजोबाट परीक्षण सुरु गरिएको हो ।'
यसअघि १८७ जनाको स्वाब सङ्कल गरी पीसीआर विधिबाट परीक्षणका लागि धनगढी पठाइसकेको र रिपोर्ट भने आउन बाँकी रहेको स्वास्थ्य अधिकृत पन्तले बताउनुभयो ।