अर्जुन काफ्ले
स्याङ्जा, जेठ २३ गते । बीस वर्षदेखि बाँझो रहेको जग्गामा सामूहिक आलुखेती शुरु गरिएको छ । स्याङ्जाको आँधीखोला गाउँपालिकाले शत प्रतिशत अनुदानमा बीउ, मल, औषधि, प्राविधिक सहयोग दिएपछि किसानहरू बाँझो जग्गालाई हराभरा बनाउन जुटेका हुन् ।
कुनै बेला आँधीखोला गाउँपालिकाको भक्किम्ले आलुले चिनाएको पहिचानलाई पुनः आलु खेतीमार्फत स्थानीयले पुरानै विरासत फर्काउने प्रयास गरेको गाउँपालिका अध्यक्ष सुधीरकुमार पौडेलले बताउनुभयो ।
बीस वर्षअघि परम्परागत रुपमा आलु खेती गरिने ठाउँमा युवाहरू वैदेशिक रोजगारीका लागि पलायन भएपछि त्यहाँका स्थानीयले आलु खेती गर्न छाडेका थिए र जग्गा बाँझो भएको थियो । गाउँपालिकाको शत प्रतिशत अनुदानमा अहिले भक्किम्ले, दत्तेलोटे, त्रिवेणीलगायतका स्थानीयकाे ५४ घर परिवार दत्तेलोटेमा सामूहिक खेतीमा जुटेको स्थानीय कृषक नारायण पौडेलले बताउनुभयो ।
पहिलो चरणमा बाँझो रहेको २५० रोपनी खेती गरेको तथा बाँझो जग्गामा आलु खेती गर्न पालिकाले चार हजार पाँच सय केजी आलुको बीउ कृषकलाई उपलब्ध गराएको पौडेलले जानकारी दिनुभयो । माटो परीक्षण गरेर माटो सुहाउने भएपछि पालिकाले आलुको बीउ, आवश्यक सीप, प्राविधिक सहयोग दिएपछि आफूहरू आलु खेतीमा जुटेको पौडेलको भनाइ छ ।
कृषि उपजको बजारीकरण र ढुवानीको लागि पालिकाले व्यवस्था गरिदिने भएपछि किसानको बाँझो जग्गामा आलु ढकमम्क भएको कृषक मणिरत्न पौडेलले बताउनुभयो । सामूहिक रुपमा आलु खेती सुरु भएसँगै आफूहरूका खुसीका दिन फिरेको बताउँदै पौडेलले रोजगारीको लागि गाँउदेखि बजार झर्नेको सङ्ख्यामा वृद्धि भएसँगै गाउँ नै खाली हुने अवस्थाको अन्त्य गर्न यस्ता कार्यक्रमले सहयोग पुग्ने बताउनुभयाे ।
आलु खेतीले गाउँको विरासत पुनः फर्कने र रोजगारीका लागि बजार पसेका युवाहरू पनि गाउँ फर्कने कृषक पौडेलले आशा राख्नुभएकाे छ । यहाँका एक जना कृषकले २५ केजीदेखि तीन सय केजीसम्म बर्खे आलु दुई रोपनीदेखि २५ रोपनीसम्म जग्गामा आलु रोपेका छन् ।
बेमाैसममा रोपेको आलु मिठो र राम्रो हुने तथा मुनाफा आर्जनको हिसाबले पनि राम्रो रहेको उपाध्यक्ष शर्मिला पौडेलले बताउनुभयो । उहाँले हरेक वर्ष उत्पादनको क्षेत्र बढाई जिल्लाकै आलु खेतीको नमूना गाउँ बनाउने गाउँपालिकाको सोच रहेको बताउनुभयो ।