logo
२०८१ मंसिर १३ बिहीवार



कर्णालीमा कोरोना सङ्क्रमित पाँच सयनजिक

फिचर |
प्रदेश |


कर्णालीमा कोरोना सङ्क्रमित पाँच सयनजिक



ललित बसेल
सुर्खेत, जेठ २३ गते । कर्णालीमा कोरोना सङ्क्रमण तेहेरो अङ्कमा बढिरहेको छ । शुक्रबार गरिएको पीसीआर परीक्षणमा एक सयजना नयाँ कोरोना सङ्क्रमितहरू फेला परेपछि कर्णालीमा कुल ४८९ जना पुगेको छ । बिहीबारदेखि यहाँ तेहेरो अङ्कमा कोरोना बढेको छ । हिजो मात्रै ११४ जना नयाँ फेला परेको थियो ।

जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ९७ जना र सुर्खेतस्थित प्रदेश अस्पताल पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा तीन गरी १०० जना नयाँ कोरोना सङक्रमित पुष्टि भएको हो । तीमध्ये दैलेखमा मात्रै ९१ जना थपिएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार दैलेखपछि जुम्लामा तीन, हुम्ला, सुर्खेत र जाजरकोटमा एक/एक थपिएका छन् भने गोरखा, रामेछाप र दोलखाका एक/एक जनाको पनि कोरोना पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार कर्णालीमा गरिएको परीक्षणमा फेला परेका कुल ४८९ जनामध्ये कर्णाली प्रदेशका आठ जिल्लाका ४७४ जना र बाँकी १५ जना अन्य प्रदेशका छ जिल्लाका रहेका छन् । सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले दैलेखमा दुल्लु नगरपालिकामा २७ जना, महाबु गाउँपालिकामा ६४ जनामा कोरोना पुष्टि भएको जानकारी दिनुभयो । यस्तै, जुम्लाको चन्दननाथ नगरपालिकामा तीन जना, हुम्ला चङ्खेली गाउँपालिकाका एक जना, सुर्खेतको पञ्चपुरी नगरपालिकाका एक जना र जाजरकोटको भेरी नगरपालिकाका एक जनामा कोरोना पुष्टि भएको उहाँको भनाइ छ ।

सबैभन्दा धेरै दैलेखमा
योसँगै दैलेखमा कुल ३०८ जना पुगेका छन् । यस्तै सुर्खेतमा ६२, सल्यानमा ५३, जुम्लामा २२, कालीकोटमा २५ र मुगुमा दुई जनामा सङ्क्रमित छन् ।

मृत्यु हुनेको सङ्ख्या दुई
यसैगरी बिहीबार मृत्यु भएका सुर्खेत पञ्चपुरी नगरपालिका - १ का २० वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या कर्णालीमा दुई पुगेको छ । यसअघि दैलेख दुल्लुका पुरुषको पनि मृत्यु भएको थियो ।

हुम्ला र जाजरकोटमा पनि सङ्क्रमण
शुक्रबारको परीक्षणमा हुम्ला र जाजरकोटका व्यक्तिहरूमा पनि कोरोना पुष्टि भएपछि त्यो जिल्ला पनि सङ्क्रणमा परेको छ । यीसहित कर्णालीका आठ जिल्लामा कोरोना सङ्क्रमण देखिएको छ । कर्णालीमा १० जिल्लामध्ये अहिलेसम्म डोल्पा र रुकुम पश्चिममा मात्र सङ्क्रमण देखिएको छैन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?