ललित बसेल
सुर्खेत, जेठ २३ गते । कर्णाली प्रदेशका सात जनाले कोरोनालाई जितेर शुक्रबार घर फर्किएका छन् । सुर्खेतस्थित प्रदेश अस्पतालमा उहाँहरूलाई सम्मान गरेर बिदाइ गरिएको हो । कोरोनालाई जित्नेहरूमा सुर्खेतका पाँच, दैलेखका एक र बोल्न नसक्ने महिला एक गरी सात जना रहनुभएको छ । कर्णालीका पहिलो सङ्क्रमित दैलेखका पुरुषलाई डिस्चार्ज गर्ने भनिए पनि उहाँको रिपोर्ट पुनः पोजिटिभ आएपछि डिस्चार्ज गरिएको छैन ।
कोरोनालाई जितेर घर फर्कन पाएको उहाँहरूले खुसी व्यक्त गर्नुभएको छ । सुर्खेतका काेराेनामुक्त पुरुषले कोरोना लागिहालेमा नआत्तिएर आत्मबल बलियो बनाउन सके कोरोनालाई पराजित गर्न सकिने बताउनुभयो । उहाँले शारीरिक व्यायाम, खानपानमा सचेत रहनुपर्ने पनि सुझाव दिनुभयो ।
कोरोनालाई जितेकोमा खुसी व्यक्त गर्दै उहाँले रोग लाग्नासाथ मरिन्छ भन्ने भावना हटाउनुपर्ने बताउनुभयो । ६७ जना सङ्क्रमित रहेको सुर्खेतस्थित कोरोना विशेष अस्पतालमा सात जना घर फर्किएपछि अब ६० जना सङ्क्रमित बाँकी हुनुहुन्छ । कोरोना विशेष अस्पतालका फोकल पर्सन डा. केएन पौडेलले सङ्क्रमितहरूको उपचारमा विशेष सजगता अपनाइएको जानकारी दिनुभयो । उहाँले यहाँका सङ्क्रमितहरूलाई आइसोलेसनमा राखेर उपचार गरिएको र आत्मबल बढाउने सुझाव पनि दिइएको बताउनुभयो । अस्पतालमा रहेका सङ्क्रमितहरूलाई लक्षण नदेखिएको हुँदा उपचारमा सहज भएको उहाँको भनाइ छ ।