सिराज खान/गोविन्द शर्मा
नेपालगञ्ज, जेठ २३ गते । बाँके जिल्लामै सबैभन्दा बढी कोरोना भाइरसका सङ्क्रमित फेला परेको नरैनापुर गाउँपालिकाका सङ्क्रमितहरू कोरोनालाई जितेर एकपछि अर्को गरी घर फर्किन थालेका छन् ।
गाउँपालिकामा ११८ जनामा सङ्क्रमण भेटिएसँगै एक जना युवकको मृत्युसमेत भएपछि गाउँपालिका कोरोना हटस्पट बनेको थियो । तर, क्रमशः क्वारेन्टाइन व्यवस्थित हुँदै गएपछि सङ्क्रमित थपिने क्रम राकिएको छ भने अर्कोतिर सङ्क्रमित भएकाहरू पनि निको भएर घर फर्किरहेका छन् ।
शुक्रबार मात्रै नरैनापुर -२ का १२ जना पुरुषले कोरोनालाई जितेर घर फर्किएको स्वास्थ्य कार्यालय, बाँकेका कोराना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।
उहाँले नेपालगञ्जस्थित लायन्स डेन्टल आइसोलेसन अस्पतालमा रहेका नरैनापुरका २३ जना सङ्क्रमितमध्ये १२ जनाको रिपोर्ट दुई पटक नगेटिभ आएपछि उनीहरूलार्ई घर फर्काइएको बताउनुभयो ।
नेपालगञ्ज उपमहानगरका मेयर धवल शमसेर राणा र उपमेयर उमा थापा मगरले उहाँहरूलाई खादा ओढाएर पुष्पगुच्छा दिएर बधाई दिँदै बिदाइ गर्नुभयो ।
यसअघि नरैनापुरकै तीन जना युवाहरू दाङको बेलझुण्डीस्थित कोरोना अस्पतालबाट निको भएर घर फर्किएका थिए । स्वास्थ्य कार्यालय बाँकेका अनुसार अहिलेसम्म नरैनापुरका १५ जना निको भएर घर फर्किसकेका छन् ।
कोरोना जितेर घर फर्किएका १२ जनाको नरैनापुर - २ मा भव्य स्वागत गरिएको गाउँपालिकाका अध्यक्ष ईश्तियाक अहमद शाहले बताउनुभयो । उहाँले कोरोना जितेर फर्किनेहरू बढ्दै गएपछि केही दिनपहिलेसम्म त्रासमा रहेका स्थानीय बासिन्दामा खुसीयाली छाएको बताउनुभयो ।
उच्च मनोबलका साथ धैर्य गरेर बसेमा कोरोनालाई सहज रुपमा परास्त गर्न सकिने रहेछ भन्ने प्रमाणित भएको प्रतिक्रिया शुक्रबार घर फर्किएका नरैनापुर - २ का एक जना युवाले दिएका छन् ।
उनले आइसोलेसनको बसाइ समग्र रुपमा सन्तोषजनक रहेको जनाउँदै केही कुरामा अझै पनि सुधारको आवश्यकता रहेको बताएका छन् ।
शुक्रबार घर फर्किएका यी १२ जनासँगै बाँकेमा कोरोनालाई जित्नेहरू ४१ जना पुगेको स्वास्थ्य कार्यालयका फोकल पर्सन श्रेष्ठले बताउनुभयो । नेपालगञ्ज उपमहानगरको वडा नम्बर ८ का २४ र वडा नम्बर ७ का एक गरेर २५ जना सबै निको भएर यसअघि नै घर फर्किसकेका छन् ।
एउटै वडाका ४० जना सङ्क्रमित भेटिए
बाँकेमा एकातिर कोरोना जित्नेहरू बढिरहेका छन् भने सङ्क्रमितहरू थपिने क्रम पनि जारी नै रहेको छ ।
जिल्लाको जानकी गाउँपालिकाको वडा नम्बर १ मा मात्रै बिहीबार ४० जना सङ्क्रमित भेटिएका छन् । ती सबै भारतको मुम्बई र गुजरातबाट आएको र उनीहरूलाई वडा नम्बर १ कै क्वारेन्टाइनमा राखिएको स्वास्थ्य कार्यालयले जनााएको छ ।
ती सबैलाई जानकी गाउँपालिकाकै विद्यालयमा तयार पारिएका तीन वटा आइसोलेसन सेन्टरमा राखिएको बाँकेका कोरोना फोकल पर्सन श्रेष्ठले बताउनुभयो । ती सबैको स्वास्थ्य अवस्था सामान्य रहेको पनि उहाँले बताउनुभयो । जिल्लामा नरैनापुरपछि सबैभन्दा बढी सङ्क्रमित जानकी गाउँपालिकामा भेटिएका छन् ।