केशवराज पौडेल
काठमाडौँ, जेठ २४ गते । काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिकाको क्वारेन्टाइनमा १४ दिन बस्दाको समय बितेको विनोद तामाङ (नाम परिवर्तन)ले पत्तै पाउनुभएन ।
मण्डन देउपुर नगरपालिकाले महादेव प्राथमिक विद्यालयमा सञ्चालन गरेको क्वारेनटाइनमा बस्दा पनि आफ्नै घरमा बसेजस्तो भएको उहाँ सुनाउनुहुन्छ । ‘१४ दिनसम्म घरमै बसेजस्तो महसुस गरेँ’ क्वारेन्टाइनबाट फर्किएपछि तामाङले भन्नुभयो । दुई हप्तामा नगरपालिकाले आरडीटी परीक्षण गरेपछि घर फर्कँदा ढुक्क हुनुभएका उहाँले स्थानीय सरकारको यो कामलाई सराहना गर्न कन्जुस्याइँ गर्नुभएन ।
निशुल्क वाइफाइ, टेलिभिजन, व्यायाम गर्ने प्रशस्त ठाउँ भएको मण्डनदेउपुर नगरपालिकाले सञ्चालन गरेको क्वारेन्टाइनमा २९ जना विदेश तथा कोरोना प्रभावित जिल्लाबाट आउनुभएका व्यक्तिहरू बसेर फर्किएका छन् । अहिले पनि आठ जना क्वारेन्टाइनमै रहेको मण्डनदेउपुर स्वास्थ्य शाखामा कार्यरत दीपक घिमिरेले जानकारी दिनुभयो । दुबई, साउदी अरब र भारतबाट आएका स्थानीय नागरिकलाई अनिवार्य क्वारेन्टाइनमा बस्न अनुरोध गरिएकोमा सबैले क्वारेन्टाइनमा बसेर घर फर्केका घिमिरेले जानकारी दिनुभयो ।
सरसफाइ र स्वास्थ्य सुरक्षाको व्यवस्था
‘हामीले शौचालयमा साबुन, टावेल, कोठामा टिभी, वाइफाईको व्यवस्था गरेका छाैँ’ घिमिरेले बताउनुभयो । उहाँले क्वारेन्टाइन स्थलमै एम्बुलेन्स तयारी अवस्थामा राखिएको र घेराभित्र क्वारेन्टाइन स्थल बनाइएको बताउनुभयो ।
क्वारेन्टाइनमा नुहाउन, लुगा धुन पानीको राम्रो व्यवस्था गरिएको र पोषणलाई मिलाएर खानेकुरा खुवाएको भन्दै क्वारेन्टाइनमा बसेर फर्किएकाहरू निक्कै खुसी भएका छन् । चौध दिन क्वारेन्टाइनमा बस्नुभएका मण्डन दुई जनाले स्थानीय सरकारले आफूहरूलाई सरकार भएको अनुभूति गराएको बताउनुभयो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रणराज न्यौपानेका अनुसार क्वारेन्टाइनको बसाइ आफूसँगै घर परिवार र समुदायको सुरक्षाको लागि आवश्यक रहेको सचेतना फैलाएका कारण विदेशबाट र सङ्क्रमित क्षेत्रबाट आउनेहरू सिधै सम्पर्कमा आउने गरेका छन् ।
उहाँले भन्नुभयो, ‘क्वारेनटाइनमा बस्नेको नाम गोप्य राख्ने र उहाँहरूलाई क्वारेनटाइनको बसाइ सजिलैसँग बितोस् भनी नगरपालिकाले प्रयास गरिरहेको छ ।’
थप क्वारेन्टाइन बनाइँदै
सङ्घ सरकारले विदेशमा भएका नेपाली फर्काउन थालेसँगै नगरपालिकाले फर्कने थप नागरिकलाई सेवा विस्तार गर्न मण्डनदेउपुरकै वडा नं ६ सिपाघाटमा रहेको सामुदायिक अस्पतालको बेडहरूलाई क्वारेन्टाइन बनाउने तयारी गरेको छ । वडा नं ७ मा रहेको कालीदेवी प्राथमिक विद्यालयमा थप क्वारेन्टाइनको व्यवस्थापनमा नगरपालिका लागेको छ ।
नगरप्रमुख टोकबहादुर वाइबाले गोल्मेश्वरी प्रावि, चण्डेनी आधारभुत विद्यालय, वागदेवी मावि र बालुवा माविमा आवश्यकता अनुसार थप क्वारेन्टाइन बनाउन कार्यपालिकाको बैठकले निर्णय गरेको बताउनुभयो ।
उहाँले प्रत्येक वडाबाट वैदेशिक रोजगारीबाट फर्कनेको लगत सङ्कलन गरेको र नगरकोट क्षेत्रका होटलहरूमा समेत क्वारेन्टाइन बनाउन छलफल भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘नगरकोटमा हाम्रो नगरपालिकाभित्र सात सय कोठा छन्, त्यसमा विदेशबाट आएका नागरिक राख्ने बिषयमा छलफल भइसकेको छ ।’
‘अहिले तत्कालै दुई सय जना नागरिक आउने सम्भावना भएकाले सोही अनुसार गृहकार्य सुरु गरेको छाैँ ।’ मेयर वाइवाले भन्नुभयो ।
अहिलेसम्म क्वारेन्टाइनमा बस्ने तथा विभिन्न जिल्लाबाट आउनुभएको १४२ जनाको आरडीटी र तीन जनाको पीसीआर परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको र आफ्नो नगर कोरोनाबााट मुक्त रहेको मेयर वाइबाले बताउनुभयो ।
क्वारेन्टाइन बस्नेको बीमा
नगरपालिकाले सञ्चालन गरेको क्वारेन्टाइनमा बस्नेको पाँच लाख रुपियाँको बिमासमेत गरिएको नगरका प्रवक्ता डिल्ली आचार्यले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘स्वास्थ्यकर्मी र सुरक्षाकर्मीबाट नियमित रुपमा सुरक्षाको प्रबन्ध गरिएको छ ।’ सकभर बत्ती जान नदिने र गएमा वैकल्पिक उर्जाको व्यवस्थापन गरिएको आचार्यले सुनाउनुभयो ।
क्वारेन्टाइनभित्र मन्दिरसमेत रहेकाले सकेसम्म समय कटाउन सबैलाई सहज होस् भनी प्रयास गरिएको उहाँले बताउनुभयो ।